१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
प्रदीप गिरि
२o८१ बैशाख १७ सोमबार o९:o६:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बिपी कोइरालाको सन्दर्भमा विकास विमर्श

Read Time : > 5 मिनेट
प्रदीप गिरि
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:o६:oo

युरोपमा विकसित विकासको मोडेल तेस्रो विश्व, एसिया र अफ्रिकाका लागि उपयुक्त छैन भन्ने गान्धीका विचारबाट बिपी पनि प्रेरित थिए


कांग्रेस पृष्ठभूमि भएको लेखक वा टिप्पणीकर्ताले कुनै पनि विषयमा कलम चलाउँदा विश्वेश्वरप्रसाद कोइरालाको प्रसंग ल्याउनैपर्छ भन्ने छैन । तर, कोइरालाले राष्ट्रियता, समाजवाद, लोकतन्त्र, सेना, धर्म आदि सबै विषयमाथि कालातीत विमर्श गर्नुभएको छ । जीवनको अन्तिम चरणमा उहाँको चिन्तनमा अभूतपूर्व तेजस्विता र मौलिकता प्रकट भएका छन् । तिनताक अन्य कुनै कुराभन्दा पनि विकासको अवधारणामाथि उहाँले अत्यन्त आग्रहपूर्वक बोलेको, लेखेको भेटिन्छ । विद्वान् गणेशराज शर्माले कोइरालाका महत्‍वपूर्ण रचनाहरूलाई संकलनको रूप दिएर नेपाली समाजलाई ठूलो गुण लगाउनुभएको छ । शर्माको प्रतिबद्धताले गर्दा प्रथम जनआन्दोलनपछि ‘राजा राष्ट्रियता र राजनीति’ शीर्षकमा एउटा अर्को संकलन पुस्तकाकार रूपमा प्रकाशित भयो ।

बिपीको विचारधाराको सुस्पष्ट र सांगोपांगो पक्ष एकै ठाउँमा राम्रो गरी यो संकलनमा प्रस्तुत छ । खासगरी, शीर्षकले भनेजस्तै राष्ट्रियताबारे बिपी के सोच्नुहुन्थ्यो भन्नेबारे यहाँ गतिलो प्रस्तुति छ । संकलनको सबैभन्दा महत्‍वपूर्ण लेखचाहिँ विकास र समाजवादसँग सम्बन्धित छ । ती लेख आजभन्दा ४० वर्ष पहिले लेखिएका हुन् । यी ४० वर्षमा विश्वमा कल्पनातीत परिवर्तन भएका छन् । त्यसैले कुनै पनि विकास विमर्शमा ती लेखलाई मात्र अगाडि सार्दा कुनै पनि चनाखो युवकले मलाई ठाडै भन्न सक्छन्– ४० वर्षमा दुनियाँ कति बदलिसक्यो, तपाईं भने रूढिवादी कांग्रेसी ४० वर्षअघिको तपाईंका नेताको उदाहरण दिएर हामीलाई अल्मल्याउन सक्नुहुन्न ।

हुन पनि कांग्रेसले लामो समयदेखि यस्तै पुरानै उदाहरण दिएर, सात सालका गौरवगाथाहरू सुनाएर विमान हाइज्याकिङको वृत्तान्त बताएर पार्टी धानेको छ । अब त्यसरी चल्दैन । अहिले नेपालमा देखिएका २०–२५ वर्षका तन्नेरीहरूले यो कुरो बुझ्दै ल्याएका छन् । हुन पनि विगत ४० वर्षमा दुनियाँले कल्पनातीत रूपमा कोल्टे फेरेको छ । त्यसले दुनियाँमा कुन–कुन क्षेत्रमा परिवर्तन ल्याएको छ भन्ने महत्‍वपूर्ण छ । कोइरालाको देहान्तपछि दुनियाँमा सबैले देखेबुझेका कतिपय तथ्यहरू महत्‍वपूर्ण छन् ।

एक, सोभियत युनियनको विघटन र शीतयुद्धको अन्त्य । दुई, भूमण्डलीकरण बजार व्यवस्थाको प्रभुत्व । तीन, यिनताका नै सूचना क्रान्ति र कर्पोरेट प्रणालीले सञ्चित गरेको शक्ति । चार, यताका वर्षहरूमा उग्रतापूर्वक आउँदै गरेको आर्टिफिसियल इन्टेलिजेन्स र बायोटेक्नोलोजीको सम्भाव्य परिणति । नेपालका हकमा विकासको कुरा गर्दा उपरोक्त तथ्यलाई हेक्का राख्न आवश्यक छ । नेपालका निमित्त विकासका नमुनाको कुरा गर्दा माथिका तथ्यले हामीलाई घचघच्याउँदै छन् । यिनले हामीले चिताएको बाटोबाट विचलित गर्नेछन् भन्ने कुरा मन–मस्तिष्कमा राखिरहनुपर्नेछ ।

थप कुरा, आज सिंगो विश्वमा सरकार र राज्यभन्दा पनि बहुराष्ट्रिय कम्पनीहरू बलिया भइसकेका छन् । तिनको शक्तिशाली सर्वनाशी शक्तिलाई आमनागरिकले कहीँ–कतै आत्मसात् गर्न सकेका छैनन् । बरु पहिलोपटक एमसिसीका नाममा नेपालमा अमेरिकी शक्तिको प्रवेशलाई लिएर किञ्चित खलबली मच्चिएको छ । तर, त्यो खलबल पनि प्रहसनात्मक शैलीमा देखिँदै छ । नेपाल यस समय एकसुरो ढंगले एमसिसी चाहिन्छ–चाहिन्छ भन्ने र एमसिसी चाहिँदैन–चाहिँदैन भन्ने द्वन्द्वपरक नाराबाट भ्रमित छ ।

आज बिपीका उत्तराधिकारीलाई प्रधानमन्त्री, पार्टी सभापति, उहाँका नातागोता, उहाँसँग जिन्दगी बिताएका व्यक्ति बिपीले यसो पो भन्नुभएको थियो भनेर चकित हुने अवस्था छ । तर, कदाचित् यो कुरो बिपीका लागि मात्र होइन, संसारका सबै द्रष्टाको नियति त्यस्तै रहेको छ । माओत्सेतुङले चीनको कस्तो कल्पना गरेका थिए ? त्यो परिकल्पनासँग आज सी जिनपिङको कुनै सम्बन्ध छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको मान्यता मान्छन् भन्ने कुरै उठेन । गान्धीलाई त उनका मनोनीत उत्तराधिकारी नेहरूले नै मुखभरिको जवाफ दिइसकेका थिए । त्यो सब किन हुन्छ ? अनि बिपी कोइरालाको उत्तराधिकारको मात्र के कुरा ?

परम्पराप्रति इन्साफ गर्दा अर्को कुरा भने थप्नैपर्छ । आफ्ना प्रारम्भिक जीवनमा कोइरालाको विकास अवधारणा बिल्कुलै पश्चिममुखी थियो । उहाँको अग्रज मित्र जयप्रकाश नारायणले लामो समयसम्म विकासको वैकल्पिक नमुनाका कुरा गर्दा बिपीले उहाँको उपहास गर्नुभएको थियो । वैकल्पिक विकासको वास्तविक सुरुवात गान्धीजीले गर्नुभएको थियो । पश्चिमा युरोपमा विकसित विकासको मोडेल तेस्रो विश्व, एसिया र अफ्रिकाका लागि कदापि उपयुक्त छैन भनेर गान्धीले बीसौँं शताब्दीको प्रारम्भमा नै लेख्नुभएको थियो । बिपीका विचार उनै गान्धी र जयप्रकाशबाट प्रेरित थिए । तर, ती विचार हावामा उम्रिएका थिएनन् । ती विचारका ठोस भौतिक सामाजिक धरातल थिए । त्यो धरातल आज पनि उस्तै छ । आफूभन्दा ठूलो अर्थतन्त्रलाई शोषण नगरी, पछौटे नबनाई, अझ भन्ने हो भने दोस्रो दर्जाका रैती नबनाई पुँजीवाद बच्न सक्दैन । आज विदेशबाट आएको अनुदानले नेपाल, भारत, बर्मा, श्रीलंका वा पाकिस्तानलाई विकसित बनाउँछ भन्नु विश्व अर्थनीतिको गलत समझ हो ।

नेपाल, भारत, बर्मा, श्रीलंका वा पाकिस्तानलाई पछौटे राखेर मात्रै बलिया पुँजीवादी देश झन् सम्पन्न बन्न सक्छन् । नेपाल, बर्मा, पाकिस्तानजस्ता देशले हामीले पाएको अनुदान, हामीले पाएको पैसा खासमा हाम्रो विकासका निमित्त सद्भावनासाथ दिइएको सोच्नु गल्ती हो । नेपाललाई पिछडिएको स्थितिमा नराख्दासम्म सम्पन्न देश झन् सम्पन्न हुन सक्दैन । त्यसैले एसिया र अफ्रिकाका देशलाई दरिद्र राखिराख्नु विकसित देशहरूको ‘बाध्यता’ हो ।

एमसिसीका नाममा नेपालमा अमेरिकी शक्तिको प्रवेशलाई लिएर प्रहसनात्मक शैलीमा किञ्चित खलबली मच्चिएको छ । यतिखेर नेपाल एकसुरो ढंगले एमसिसी चाहिन्छ–चाहिन्छ भन्ने र एमसिसी चाहिँदैन–चाहिँदैन भन्ने द्वन्द्वपरक नाराबाट भ्रमित छ ।

यो उनीहरूले चाहेरै गरेको कुरा होइन । हामी यसो गर्दै छौँ भन्ने अमेरिका वा चीनका प्रभु वर्गलाई थाहा नहोला । विलासितापूर्ण सानो टप्पुको निर्वाहका निमित्त विशाल चरन चाहिन्छ । उदाहरणार्थ छिमेकी भारतमा हेरौँ– दिल्ली, बम्बई, कलकत्ता, चेन्नई झिलिमिली छ । कतिपय क्षेत्र विकसित हुँदै छ । तर, भारतको विशाल गाउँका भूभागहरू शोषित हुँदै छन् । गाउँ तुलनात्मक रूपले अझै उस्तै छन् । गाउँमा सडक र बिजुली पुग्यो होला, तर गाउँलेको जीवनस्तर तात्विक रूपमा बदलिएको छैन । शिक्षा र स्वास्थ्य क्षेत्रमा गाउँको बिजोग छ । ४० वर्षअघि बिपीले यो देख्नुभएको थियो ।

विकासको छलफल गर्दा बिपीले लेख्नुभएको छ–

‘अचेल अमेरिकामा पनि यो समस्या उठिरहेको छ । अर्को मोडेल खोज्नुपर्‍यो, यो पुरानो मोडेल काम लाग्दो भएन भन्ने आवाज उठिरहेको छ । नेपालमा म त्यही भनिरहेको छु । म भन्छु– अर्को मोडेल छ । त्यो मोडेल गान्धीले दिएका छन् । म त्यस मोडेललाई नेपालमा आफ्नै तरिकाबाट गान्धी वा जयप्रकाशको परिकल्पनाअनुरूप प्रयोग गर्न चाहन्छु ।’ गान्धीले अनुभवका आधारमा बडो मौलिक किसिमले माक्र्सको भन्दा मौलिक विचार दिएका छन् । मलाई लाग्छ, यो विश्वमा कोही ठूलो मौलिक चिन्तक भयो भने गान्धी नै भए । गान्धी के भन्छन् भने अहिले विश्वलाई एकसाथ दुईवटा कुरा चाहिएको छ । ‘अहिले मानिसलाई आर्थिक रूपमा सम्पन्न पनि हुनुपरेको छ, उसलाई राजनीतिक रूपमा स्वतन्त्र पनि हुनुपरेको छ ।’
प्रश्न उठ्छ, ‘नेपालमा गान्धीको त्यही मोडेल लागू गर्नुपर्‍यो भने के गर्ने ?’ मानौँ, नेपालमा चार हजारजति गाउँ पञ्चायत छन् । यसलाई हेर्दा नेपालका अधिकांश जनता त गाउँमा बस्दारहेछन्, सहरी जनता कम रहेछन् भन्ने देखिन्छ । तसर्थ, नेपालको सन्दर्भमा जनताको विकास भनेको गाउँको विकास हुने भयो । गाउँका जनतालाई चार–पाँच कुरामा स्वावलम्बी बनाएको खण्डमा गाउँको विकास हुन सक्छ । यहाँ त विकासको पहिचान सहरमा कति बिजुली आयो भन्नेबाट हुने गर्छ । तर, त्यसले मलाई त्यति प्रभावित गर्दैन । गाउँमा बिजुली पुग्न सक्यो भने पो त्यसको महत्‍व हुन्छ । यहाँ सहरमा हामीले गर्न सक्ने सोख गाउँका मानिसले पनि गर्न पाए भने पो त्यसको कुनै अर्थ हुन्छ । (राजा, राष्ट्रियता र राजनीति, पृष्ठ ९९–१००)

तेस्रो विश्वका लागि र खासगरी नेपालका लागि विकासको वैकल्पिक बाटो खोज्ने प्रत्येक किशोर र तन्नेरीले कोइरालाको सो आह्वानको स्वरूप र सारलाई आफ्नो नवचिन्तनको प्रस्थानबिन्दु बनाउनुपर्छ, तर प्रस्थानबिन्दु मात्र । कोइरालाको देहान्तपछि विश्वमा आएको परिवर्तनलाई दृष्टिगत गरी उनीहरूले आफ्नो नवचिन्तनको आधार खडा गर्न सक्छन् । माथिका उद्धरण कथित संकलनमा प्रजातान्त्रिक समाजवादका नामले संकलित छ । तर, लेखलाई परिवर्तनका हिमायती प्रत्येक किशोर र तन्नेरीले आत्मसात् गर्नु आवश्यक छ ।
यसै लेखमा बिपी अगाडि भन्नुहुन्छ–

‘म समाजवादीहरूलाई गाउँसँग सम्बन्धित चार–पाँच कुरा हासिल गर्न आह्वान गर्छु । अचेल त्यसतर्फ मानिसको ध्यान जान थालेको छ, विदेशीहरू पनि यहाँ त्यस्तै सहायता दिन खोज्दै छन् । एउटा मानिसले आफ्नो भोजनका निम्ति बाहिर निर्भर हुनु नपरोस् । त्यसका लागि सबैभन्दा पहिले नेपालबाहिर निर्भर हुनु नपरोस् र दोस्रो, आफ्नो गाउँ क्षेत्रको सिमानाभन्दा बाहिर पनि निर्भर हुनु नपरोस् । त्यहीँका खेत र पाखाहरूबाट अन्न उब्जाउन सकियोस् र त्यस सिमानाभित्रका मानिसलाई अन्नको अभाव नहोस् । अन्न भन्नासाथ मेरो तात्पर्य जमिनबाट उब्जने सबै प्रकारका खाद्य पदार्थ हुन् । यो एउटा कार्यक्रम लागू हुनेबित्तिकै लहरो तान्दा पहरो गर्जेजस्तो हुन्छ । तर, मुखले भनेर मात्र पनि त्यो पूरा हुँदैन.........।’  (ऐ.ऐ.)

केही दिनअघि सुदूरपश्चिमका विनोद देउवा नामक एक तेजस्वी युवकको उमेर र जिज्ञासा हेर्दा मैले बिपी कोइरालालाई विस्तारमा उद्धृत गरेँ । कथित लेखको चर्चा गर्दै छु । तर, बिपीका लेखन र भाषणका आधारमा मात्र नयाँ नेपाल बन्न सक्छ भन्ने मलाई भ्रम छैन । विगत ४० वर्षमा दुनियाँ अभूतपूर्व रूपले बदलिएको छ । कुरो यत्ति हो, मानिस र उसको स्वभाव भने बदलिएको छैन । त्यसैले ४० वर्षअघिको बिपी कोइराला मात्र होइन, २५ सय वर्षअघिका गौतम बुद्ध पनि सार्थक छन् । झन्डै अढाई सय वर्षअघिका माक्र्स पनि सार्थक छन् । अझ गान्धी, जयप्रकाश र बिपी कोइरालाको त कुरै भएन । तर, फेरि कसैको कृतित्व र व्यक्तित्वलाई अकाट्य देववाणीका रूपमा लिनु हुँदैन । अतीतका मनिषीहरूले लक्ष्यको संकेत गरेका छन् । गोरेटो चिनाएका छन् । हिँड्ने त हामीले नै हो । 

ad
ad