निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असोज ११ मंगलबार
  • Tuesday, 27 September, 2022
दीपक अधिकारी काठमाडौं
२०७९ भदौ १८ शनिबार १५:५२:००
Read Time : > 6 मिनेट

सिफारिस

फिचर प्रिन्ट संस्करण

प्रदीप गिरि भन्थे - जीवनको अध्ययन ‘म’बाट सुरु हुन्छ

प्रदीपको पुस्तक–प्रेम :

Read Time : > 6 मिनेट
दीपक अधिकारी, काठमाडौं
२०७९ भदौ १८ शनिबार १५:५२:००

समाज आफैँमा बहुलताको बिम्ब हो । भलै, यथास्थितिवादीहरू एउटै रहनसहन, परम्परा, संस्कृति, धर्म, अँगाल्ने मानिसहरूको समूहलाई समाजका रूपमा अथ्र्याउँछन् । खासखास कालखण्डमा समाजमा यस्ता पात्र देखा पर्छन्, जसलाई चिनाउन विशेषणहरू पनि कम पर्छन् । प्रदीप गिरि एक त्यस्तै पात्र हुन् । उनको जीवनका बहुआयाम छन् । तीमध्ये ‘पुस्तक प्रेम’ एक प्रमुख आयाम हो ।
 

भौतिक रूपमा उनी साढे सात दशक हाम्रो बीचमा रहे । उनको सिंगो जीवनकाल पुस्तककै वरिपरि घुमिरह्यो । होसपूर्वक जिएका अन्तिम क्षण पनि कुनै न कुनै रूपमा ‘कदाचित्’ (उनले सर्वाधिक प्रयोग गर्ने शब्द) पुस्तककै सान्निध्यमै बित्यो । जीवनका प्रारम्भिक अवस्थामै पुस्तक अध्ययनसँग जोडिएका उनी कहिल्यै दूर भएनन् । पुस्तकसँग उनको मुख्य साइनो र लगाव मुख्यतः चार चरण (स्थान)मा देखिन्छ । सिरहाको बस्तीपुर (जन्मथलो), काठमाडौंको नेपाल–भारत पुस्तकालय, बनारसस्थित काशी विश्वविद्यालय र राजनीतिक बन्दीका रूपमा बिताएका नख्खु र केन्द्रीय कारागार । पुस्तक अध्ययनसँग जोडिएका उनका सबै सन्दर्भ जोसुकैका लागि प्रेरणादायी छन् । 
 

अध्ययनका चार चरण
गिरि जन्मिएको परिवार आर्थिक रूपले सम्पन्न मात्र थिएन, शैक्षिक रूपले शिक्षित र राजनीतिक रूपले सचेत पनि थियो । उनका पिताजी मित्रलाल गिरि लामो समयसम्म कांग्रेस सप्तरीका सभापति थिए । उनी एकपटक केन्द्रीय सदस्यसमेत भए । काका रुद्रप्रसाद गिरि कांग्रेसका संस्थापक नेता थिए, २००७ सालको क्रान्तिकालमा महोत्तरीका कमान्डर पनि । ००७ को राजनीतिक परिवर्तनपछि उनी गभर्नर पनि बने । गिरि परिवार राणाविरुद्ध लडेको थियो । २००७ सालपछि पनि प्रजातन्त्र अधुरै रह्यो भनेर संघर्ष गरिरहेको थियो । यो तहको राजनीतिक सचेत भएको परिवारभित्र अध्ययनको संस्कृति थियो । गाउँमा उनीहरूले नै सञ्चालन गरेको पुस्तकालय थियो । 
 

०६४ को संविधानसभा निर्वाचनभन्दा केही महिनाअघि यस पंक्तिकारले गरेको रेडियो अन्तर्वार्तामा उनले त्यसवेला गाउँको जाँगरको अवस्थाबारे विस्तृतमा बताएका थिए । सेन्टर फर प्रोफेसनल जर्नालिजम स्टडिज (सिपिजेएस)ले तयार पार्ने रेडियो म्यागेजिनका लागि सो अन्तर्वार्ता गरिएको थियो । उनले भनेका थिए, ‘मैले विद्यालय शिक्षा पूरा गर्दानगर्दै गाउँमा रहेको पुस्तकालयका प्रायः सबै पुस्तक पढिसकेको थिएँ । मेरो जीवनका ती प्रारम्भिक पढाइले मलाई पुस्तकसँग प्रेम बसायो, अध्ययनको रुचि बढायो । त्यसपछि म खोजीखोजी पुस्तक पढ्न थालेँ ।’ 


उनले यो सन्दर्भलाई २०७१ सालमा ‘रिडर्स झापा’ले काँकडभिट्टामा आयोजना गरेको कलासाहित्य उत्सवमा अझै विस्तारमा उल्लेख गरेका थिए । ‘गतिशीलताका लागि निरन्तर अध्ययन’ विषयमा प्रवचन दिएका गिरिले आफ्नो बाल्यकाल यसरी सम्झिएका थिए, ‘पुस्तकका रूपमा मेरो पहिलो दर्शन स्वस्थानी पुस्तकसँग भयो । ६, ७ वर्षको उमेरमा मलाई कहिले माघ महिना आउला र स्वस्थानीको कथा सुन्न पाउँला भन्ने लाग्थ्यो । उमेर बढ्दै जाँदा भानुभक्तको ‘रामायण’सँग परिचित भएँ । ‘मुनामदन’ पनि पढेँ । १२, १३ वर्षको उमेरमा पहिलो उपन्यासका रूपमा डायमन्डशमशेरको ‘वसन्ती’ पढे । ‘वसन्ती’ पढेपछि पढाइको क्रमले गति लियो ।’ 
 

उच्च शिक्षा अध्ययनको प्रारम्भमा पुस्तक अध्ययनको भोक झाँगिँदै गयो । पुस्तक पढ्ने आदत भनौँ वा पुस्तक प्रेम यति बढ्यो कि, उनी क्याम्पस जान भनेर घरबाट हिँड्थे, तर हरेक दिन पुस्तकालयमा गएर समय बिताउँथे । ‘एसएलसीपछि परिवारले मलाई पढ्न काठमाडौं पठायो । तत्कालीन पब्लिक साइन्स (अहिलेको अमृत साइन्स) क्याम्पसमा भर्ना भएँ । म दिनहुँ ठाँटिएर कलेज जान भनेर निस्कन्थेँ । एक वा दुई दिन मात्र क्लासमा गएँ । जुद्धशमशेरको सालिकछेउको केही अघि वसन्तपुरमा नेपाल–भारतमैत्री पुस्तकालय थियो । बाँकी समय त्यही पुस्तकालयमा बिताएँ । मेरा अभिभावकलाई म कलेज जान्नँ, सधैँ त्यही पुस्तकालय जान्छु भन्ने पत्ता लगाउन १० महिना लाग्यो । त्यतिन्जेल मैले त्यहाँ रहेका अधिकांश पुस्तक पढिसकेको थिएँ । त्यसपछि परिवारले मलाई बनारस पठाइदियो । बनारस गएपछि मलाई बाधा केही थिएन । काशी विश्वविद्यालयमा आर्टस्मा भर्ना भएँ । त्यहाँ झन् निर्वाध रूपले इच्छाएका पुस्तक पढ्न पाएँ । धेरै साहित्य पढिसकेको हुनाले राम्रा नम्बर ल्याएर सहजै पास हुनथालेँ,’ उनले आफ्नो आदत यसरी वर्णन गरेका छन् ।
 

जेलजीवन र पुस्तक 
गिरि सिंगो जीवनकालमा दुईपटक जेल परे । २०२४ सालमा पहिलोपटक जेल परेका उनले ललितपुरस्थित नख्खु कारागारमा २२ महिना बिताए । नख्खुका ती २२ महिना उनले जीवनका सर्वाधिक सार्थक मानेका छन् । रिडर्स झापाकै कार्यक्रममा उनले ती दिन सम्झँदै भनेका थिए, ‘नख्खु जेलमा २२ महिना रहँदा मैले पूरै समय पढेर बिताएँ । त्यहाँ किसुनजी पनि हुनुहुन्थ्यो । त्यहाँ रहँदा प्रत्येक दिन रमाइलो लाग्यो । किनभने, पुस्तक मेरो साथी थियो, म पुस्तकको साथी थिएँ । त्यहाँ रहँदा मैले माक्र्स, लेनिन, एंगेल्स पढेँ । दर्शनशास्त्रका थुप्रै पुस्तक पढेँ ।’ त्यहाँ बिताएको २२ महिनामा उनले समाजवादका क्षेत्रमा निकै फराकिलो दृष्टिकोण बनाए । 
 

अहिलेका वरिष्ठ पत्रकार किशोर नेपाल र गिरि एकैदिन पक्राउ परेका थिए । नेपाल किशोरावस्थामा थिए । भर्खरै विद्यालय शिक्षा सकाएका नेपाल अत्यन्त तीक्ष्ण थिए, राजनीतिप्रति गहिरो जिज्ञासा थियो । समाज बदल्ने हुटहुटी थियो । त्यसैले काठमाडौंमा रहेका उनले भारतका त्यसवेलाका चर्चित समाजवादी नेता डा. राममनोहर लोहियालाई नेपालको तत्कालीन राजनीतिक अवस्थाबारे ‘राजनीतिकपत्र’ लेखे । 

करिब साढे सात दशकको जीवनकालमा उनी कहिल्यै निराश देखिँदैनन् । जीवनलाई कहिल्यै बोझका रूपमा लिएको पाइँदैन । बरु, हरेक क्षण तरुण र ताजा प्रदीप बन्नुको प्रमुख कारण उनमा रहेको पुस्तकप्रतिको लगाव, अर्थात् पुस्तक– प्रेम नै हो ।

लोहिया भारतको नयाँ दिल्लीबाट निस्कने ‘जन साप्ताहिक’का सम्पादक थिए ।  नेपाल सम्झन्छन्, ‘चिठ्ठी पुग्नुअघिल्लो दिन उहाँको निधन भएछ । त्यो चिठ्ठी समाजवादी पार्टीका साथीहरूले प्रदीप गिरिलाई दिएछन् । काठमाडौं आएपछि उहाँले मलाई खोज्नुभयो । उहाँसँग मेरो पहिलो भेट भयो । केही दिनपछि ‘जन साप्ताहिक’को कार्यालयबाट मेरो नाममा चिठ्ठी आयो । पत्रिकाका ओमप्रकाशजीले लेख्नुभएको रहेछ । मैले पाउनुअघि नै चिठ्ठी प्रहरीले खोलेछ, मलाई पक्रियो । त्यही चिठीको आधारमा प्रदीप दाइ पनि समातिनुभयो ।’ 
 

नेपालले त्यसवेला भद्रगोल जेलमा गिरिसँग १३ दिन बिताए । त्यसपछि गिरिलाई नख्खु कारागार सारियो । ७, ८ महिनापछि नेपाल थुनामुक्त भए । त्यसपछि गिरिलाई पुस्तक पुर्‍याउन नख्खु कारागार गइरहे । त्यसवेला राजनीतिक बन्दीलाई हरेक आइतबार र बिहीबार भेट्न पाइन्थ्यो । नेपालले अमेरिकन, ब्रिटिश लाइब्रेरीको मेम्बरसीप लिएका थिए । गिरि उनलाई पुस्तकहरूको सूची दिन्थे, नेपाल पुर्‍याइदिन्थे । यो क्रम गिरि थुनामुक्त नहुँदासम्म चलिरह्यो । नेपालका अनुसार प्रदीप गिरिको पढाइ निकै गहिरो थियो । आफूलाई मन परेको पुस्तक पूरै कण्ठाग्र सुनाउन सक्ने विलक्षण प्रतीभा थियो । रात–रातभर पढ्थे । स्मरणशक्ति त्यतिकै तेज थियो । पढाइको कुनै सीमा थिएन । 
 

ती दिन सम्झँदै नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले भारतका समाजवादी नेता डा. राममनोहर लोहियालाई ‘राजनीतिकपत्र’ नलेखेको भए, डा. लोहियाका सहयोगीहरूले त्यो पत्र प्रदीप दाइलाई नसुम्पिएको भए र प्रदीप दाइ काठमाडौं आएर मेरो खोजी नगरेको भए म पत्रकारका रूपमा स्थापित हुने थिइनँ होला । लेखन र पठनमा उहाँले प्रोत्साहित गरिरहनुभयो । प्रजातान्त्रिक समाजवादप्रतिको मेरो आसक्तिलाई तिखार्नुभयो ।’ 
 

गिरि ०४२ सालमा दोस्रोपटक जेल परे । नेपाली कांग्रेसले सत्याग्रहको आह्वान गरेपछि करिब सात सय सत्याग्रही पक्राउ परेका थिए । अधिकांशलाई सुन्धारामा रहेको केन्द्रीय कारागारमा राखिएको थियो । प्रदीप गिरिलाई पनि त्यहीँ पुर्‍याइयो । दमननाथ ढुंगाना, माथवरसिंह बस्नेत, विजयकुमार गच्छदार, देवीप्रसाद ओझा, राजेन्द्र दाहाललगायत पनि राजनीतिक बन्दी थिए । त्यहीवेला १६ वर्षको कलिलो उमेरमा जेल परेका अर्का सत्याग्रही थिए, ध्रुवप्रसाद पौडेल । सत्याग्रहको आह्वानपछि खुलामञ्चमा भाषण गर्दागर्दै उनी पक्राउ परेका थिए । अहिले कांग्रेस राजनीतिमै सक्रिय पौडेलको स्मरणमा कारागारभित्र गिरिको अधिकांश समय लेखपढमा बित्थ्यो ।
 

 ‘राति नौ बजेपछि सबैजना सुत्न जानुपथ्र्यो । राति १० बजेतिर उठेर उहाँ पढ्न बस्नुहुन्थ्यो,’ पौडेल सम्झन्छन्, ‘कैयौँपटक बिहान ४/५ बजे पनि उहाँलाई पढिरहेको देख्थेँ । उहाँ रातभर पढ्नुहुन्थ्यो । बिहानीपख सुत्नुहुन्थ्यो ।’केन्द्रीय कार्यालयमा रहेको पुस्तकालयमा १३, १४ हजार किताब थिए । बिपी कोइराला जेल परेका वेला पुस्तकालयमा थुप्रै पुस्तक थपिएका थिए । त्यहाँ सबैखाले पुस्तकहरू थिए । पौडेलका अनुसार गिरि त्यहाँ रहेका पुस्तक चुनेर पढ्थे । पुस्तकहरू बाहिरबाट पनि मगाउँथे । गिरि आफू मात्र पढ्दैनथे, सबै कैदीबन्दीलाई निरन्तर पढ्न प्रोत्साहित गर्थे । ‘निरन्तर पढे मात्रै राजनीतिक चेतना बढ्छ भन्नु हुन्थ्यो,’ पौडेलले सम्झिए । 

लेखक : दीपक अधिकारी

पुस्तकालय मोह
पुस्तक पढ्ने बानीले राजनीतिक चेतना बढ्छ र, युवाहरू परिवर्तनको पक्षमा लाग्छन् भन्ने धारणा गिरिको थियो । यो कामको थालनी गर्ने अठोटसहित गिरि ०२३ सालमा बनारसबाट जनकपुर आए । जनकपुरमा उनको भेट आनन्दप्रसाद ढुगानासँग भयो । ढुंगाना सम्झन्छन्, ‘जनकपुर जाने र युवाहरूलाई जागृत गराउने सोच बनेपछि उहाँ सूर्यप्रसाद कोइराला (पछि पञ्चायती व्यवस्थाले गोली हानेर हत्या गर्‍यो ।)को सल्लाहमा मलाई भेट्न जनकपुर आउनुभयो । त्यसवेला कांग्रेस बनेर वा भनेर नेपालमा बस्न पाइँदैनथ्यो । कि जेल जानुपथ्र्यो कि हिन्दुस्तान पस्नुपथ्र्यो । हामीबीच छलफल चल्यो । युवालाई प्रजातन्त्रको पक्षमा कसरी उभ्याउन सकिन्छ ? भनेर सोधेँ । उहाँले भन्नुभयो, ‘एउटा पुस्तकालय खोलौँ ।
 

युवाहरूलाई पुस्तक पढ्न प्रेरित गरौँ । छलफल चलाऔँ । त्यसले राजनीतिक चेतना बढाउँछ । त्यसपछि युवा स्वतः परिवर्तनको पक्षमा उभिन्छन् ।’ मैले त्यही गरेँ । केही युवा जम्मा गरेर उहाँकै उपस्थितिमा पुस्तकालय सुरु ग¥यौँ । उहाँले केही पुस्तक उपलब्ध गराउनुभयो । त्यसले जागरण फैलाउन धेरै मद्दत गर्‍यो ।’ 
 

गिरिले पछि सिरहा लहान बस्तीपुरमा रहेको आश्रममा पुस्तकालय खोले । अहिले त्यहाँ दश हजारभन्दा बढी पुस्तक छन् । सामान्य साक्षर पनि हुन नसकेका दलित र मुसहर बस्तीका ४० केटाकेटीलाई आश्रमले पढ्ने व्यवस्था मिलाएको छ । विद्यालयको शुल्क आश्रमले तिर्ने गरेको छ, खाना र खाजासहित अध्ययनको व्यवस्था गरेको छ । माध्यामिक तह र विश्वविद्यालय तहमा अध्ययन गर्नेहरूलाई पनि निःशुल्क पढ्ने व्यवस्था गरेको छ । मधेसको दलित बस्तीमा न्याय र समानताको दियो बाल्दै हिँडेका गिरिले पुस्तकलाई नै जागरको इन्धन ठानेको बुझ्न कठिन पर्दैन । 
 

उनले पुस्तक पढेनन् मात्र, लेखे पनि । लेनिन (जीवनी), नारी, मार्क्सवाद  र अर्थशास्त्र उनका केही चुकिएका रचना हुन् । त्यसका अलावा पत्रपत्रिकामा उनले लेखेका सयौँ लेख, दिएका अन्तर्वार्ता र प्रवचन आफैँमा सिंगो पुस्तकजत्तिकै प्रभावकारी छन् । उनले अध्ययनले आफूलाई जीवनका कैयौँ कठिन समयमा सम्बल दिएको बताउने गरेका थिए । उनी भन्थे, ‘मलाई जीवनमा अन्य कुनै कुराभन्दा कविता र पुस्तकले सहारा दिएका छन् । मलाई मात्र सहारा होइन, म जसको सान्निध्यमा बसेँ, बिपी, किसुनजी, गणेशमानजी, उहाँहरू अत्यन्त उदास र निराश भएका वेला पनि मैले केही कविता सुनाएर प्रसन्न बनाएको छु ।’
 

पुस्तककै सान्निध्यले तरुण र ताजा 
गिरिसँग करिब पाँच दशक संगत गरेका राजनीतिक विश्लेषक अनारसिंह कार्की अध्ययनमा विलक्षण प्रतिभा भएका व्यक्तिका रूपमा उनलाई सम्झन्छन् । गिरिको अध्ययनको कुनै सीमा थिएन । उनी हरेक क्षेत्रको जानकारी राख्थे । कार्कीका अनुसार एकपटक एक साँझ आयोजना गरिएको जमघटमा चिकित्सकहरूबीच गिरिले मेडिकल साइन्सका अहिलेसम्मका उपलब्धि र यसका प्रविधिबारे एक घन्टा धाराप्रवाह विचार राखेका थिए । ‘साँझको समय थियो, मित्र कुवेर शर्माजीले आयोजना गर्नुभएको त्यो जमघटमा प्रदीपजी, म, अन्य केही चिकित्सक र अरू विभिन्न क्षेत्रका व्यक्तित्व थिए । मेडिकल साइन्सका विषयमा साथीहरूबीच तर्क–वितर्क सुरु भयो । त्यो चर्किंदै गएपछि प्रदीपजी मेडिकल साइन्सका उपलब्धि र यसका प्रविधिहरू कसरी आइरहेका छन् भन्नेबारे बोल्न थाल्नुभयो । एक घन्टाभन्दा बढी भइसक्दा पनि ‘पिन ड्रप साइलेन्स’ थियो । मन्त्रमुग्ध भएर सबै सुनिरहे । उहाँ मेडिकल साइन्सकोे विद्यार्थी हुनुहुन्थेन । तर, त्यो विधामा समेत गहन जानकारी राख्नुहुन्थ्यो ।’
 

गिरिसँग लामो संगत गरेका वरिष्ठ पत्रकार हरिहर विरही उनलाई सबैखाले ज्ञानको प्यासीको उपनाम दिन्छन् । ‘साहित्यमा पनि त्यतिकै गम्भीर रुची थियो । वैदिककालीन साहित्यदेखि रामायण, महाभारतकालीन रचना, बालकृष्ण सम, भानुभक्तका रचनाहरू उहाँलाई कण्ठस्थ थिए । रवीन्द्रनाथ टैगोर, मिर्जा गालिवका सिर्जनासँग पनि उहाँ उत्तिकै सम्मोहित हुनुहुन्थ्यो,’ बिरही भन्छन् । बनारसमै पनि बिरहीले गिरिसँग लामो समय बिताए ।  
 

गिरि भन्थे, ‘जीवनको अध्ययन ‘म’बाट सुरु हुन्छ । जुन दिन तपाईंले आफूलाई परिवारबाट भिन्न रूपमा सोच्न थाल्नुहुन्छ । जुन दिन गुरुले, माताले र पिताले दिएको शिक्षाभन्दा सत्य केही अर्कै छ भन्ने प्रयोग गर्न मन लाग्छ । अर्को अर्थमा भन्दा, तपाईं उड्न चाहनुहुन्छ भने आफ्ना खुट्टामा आफैँ उभिनुपर्छ, आफ्ना प्वाँखले आफैँ उड्नुपर्छ । यसक्रममा सौभाग्यवश मैले पुस्तक पाएको थिएँ, साहित्यको संसर्गमा थिएँ ।’
 

उनमा नेपाली, हिन्दी, अंग्रेजी, बंगाली भाषामा बलियो पकड थियो । त्यसको मुख्यकारण उनमा रहेको अध्ययनको अनन्त भोक नै हो । गिरिको सिंगो जीवनलाई सरसर्ती हेर्दा अध्ययनमा उनको कुनै सीमा देखिँदैन, न रुचिको छेकवार । उनले नपढेको विधा भेट्न मुस्किल पर्छ । दर्शनशास्त्र, अर्थशास्त्र, धर्मशास्त्र, कला–साहित्य, सिनेमाजस्ता सिर्जनाका विधामा उनको विशेष दखल देखिन्छ । करिब साढे सात दशकको जीवनकालमा उनी कहिल्यै निराश देखिँदैनन् । जीवनलाई कहिल्यै बोझका रूपमा लिएको पाइँदैन । बरु, हरेक क्षण तरुण र ताजा प्रदीप बन्नुको प्रमुख कारण उनमा रहेको पुस्तकप्रतिको लगाव, अर्थात् पुस्तक प्रेम नै हो ।

सिफारिस