१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १३:३८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

चितवनमा पौडी प्रतियोगिता : कम उमेर समूहको उत्कृष्ट प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

चितवनको भरतपुर– १३ मा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली)मा आइतबार पौडी खेल्ने र मेडल लिनेहरू धेरै थिए। त्यही भिडमा एक जोडी खुसीका साथ यताउता गरिरहेको देखिन्थ्यो। १७ वर्षका छोरा  गौरव र चार वर्षकी छोरी ओसिनलाई प्रतियोगितामा सहभागी गराउन बुबा ओम लामा र आमा शान्ता लामा काठमाडौंबाट चितवन आएका थिए। छोराको प्रस्तुतिबाट त उनीहरू सन्तुष्ट थिए नै, चार वर्षकी छोरीले पनि २५ मिटरको प्रतिस्पर्धा एक मिनेट ३५ सेकेन्डमा पूरा गरेर सबैलाई दंग परिन्।

दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको प्रतिनिधित्व गर्दै पौडीको उमेर समूहमा सहभागी भएका गौरवले धेरै राष्ट्रिय प्रतियोगिता खेलेको भए पनि उनकी बहिनीको यो पहिलो प्रतियोगिता थियो। गौरवले बहिनीको खेल आफूलाई पनि मन परेको बताए। उनले भने, ‘मैले पौडी उमेर पुगेपछि मात्र सिकेँ। बहिनीलाई सानैबाट सिकाउने लक्ष्य थियो। आज उसको मिहिनेत देख्दा खुसी लाग्यो।’ गौरवले १२ वर्षको उमेरदेखि पानीसँग खेल्न थालेको भए पनि बहिनीलाई तीन वर्षदेखि नै पौडी सिक्न प्रेरित गरेका थिए। लामादम्पती आफ्नो सन्तानले पौडीबाट नै राष्ट्रको नाम राखेको हेर्न चाहन्छन्।

कोभिड– १९ का कारण पौडी प्रशिक्षण र प्रतियोगिता लामो समय बन्द भयो। त्यसकारण पनि लामा परिवारजस्तै चितवनमा पहिलोपटक आयोजना भएको विद्यालयस्तरीय उमेर समूह राष्ट्रिय पौडी प्रतियोगितामा खेलाडी र दर्शकको चासो देखिन्थ्यो। प्रतियोगितामा तीन वर्ष आठ महिनाका काठमाडौंका मेहन श्रेष्ठ कान्छा खेलाडीको रूपमा पुरस्कृत भएका थिए भने चार वर्षीया ओसिन लामा कान्छी खेलाडीको रूपमा पुरष्कृत भइन्।

शनिबार र आइतबार भएको प्रतियोगितामा चितवनसहित काठमाडौं, नेपालगन्जबाट ३६ विधाका लागि २७ पौडीबाजहरू सहभागी भएका रिट्रिटका प्रवर्द्धक राजेश आचार्यले बताए। प्रतियोगितामा ब्रेस्टस्ट्रोकतर्फ १८, बटरफ्लाईतर्फ आठ र फ्री स्टाइलतर्फ १० खेलहरू भएका थिए।

प्रतियोगितामा प्राविधिक रूपमा नेपाल पौडी संघले सहयोग गरेको थियो। लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली)का सञ्चालक देभेन लोहनी नेपालको पौडी च्याम्पियन चितवनबाट निकाल्ने उद्देश्यसहित आफूहरूले काम गरेको बताउँछन्। ‘चितवनमा स्पोर्ट पर्यटनको विकाससँगै पौडी खेलाडी पनि उत्पादन गर्नु हाम्रो लक्ष्य हो,’ उनले भने, ‘हामीले प्रतियोगिताबाहेकको समयमा पनि प्रशिक्षकसहित पौडी प्रशिक्षणको व्यवस्था गरेका छौँ। आर्थिक रूपमा कमजोर भए पनि खेलतर्फ मोह भएकालाई निःशुल्क प्रशिक्षणको व्यवस्था गर्छौँ।’

राष्ट्रिय खेलाडी उत्पादनकै लागि दुई करोड खर्च गरी २५ मिटर लम्बाइ, १६ मिटर चौडाइमा फैलिएको अन्तर्राष्ट्रिय मापदण्डको ६ लेनको तीनदेखि पाँच फिटसम्मको गहिरो पुल बनाएको उनले बताए। यसअघि यहाँ ६ दिनसम्म राष्ट्रिय तथा जुनियर राष्ट्रिय टोलीका १२ खेलाडीले पौडी तालिम लिएका थिए।

गौरभ र परिधिलाई तीन–तीन स्वर्ण, दुवै उत्कृष्ट खेलाडी घोषित
प्रतियोगितामा गौरभ लामा र परिधि भण्डारी समान तीन–तीन स्वर्ण पदक जितेका छन्। उनीहरू प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए। काठमाडौंकी अश्रेस्ता राई, काठमाडौंकै प्रारम्भ भण्डारी र नेपालगन्जका अमित रावलले पनि समान तीन–तीन स्वर्ण जिते। यस्तै प्रतियोगितामा नेपालगन्जकै विशेष सिंह र सुवाङ बोहराले पनि दुई–दुई  स्वर्ण जिते। काठमाडौंका रचित बुढाथोकी दुई स्वर्ण जित्दा जतेन श्रेष्ठ, यजु महर्जन, जोर्डन श्रेष्ठ र ओसिन लामाले एक–एक स्वर्ण जिते।