मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक २३ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २३ मंगलबार o७:१८:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

बालबालिकालाई लगाउन ६० लाख डोज  फाइजर खोप खरिदको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २३ मंगलबार o७:१८:oo

कम्पनीले सरकारबाटै माग्यो अग्रिम बैंक भुक्तानीको ग्यारेन्टी, बाधा अड्काउ फुकाउने प्रस्ताव मन्त्रिपरिषदमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजरको ६० लाख डोज खोप खरिदका लागि आवश्यक बाधा अड्काउ फुकाउने प्रस्ताव सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ । खोप खरिदका लागि यसअघि नै सहमति भए पनि सम्बन्धित कम्पनीले सरकारबाट अग्रिम बैंक भुक्तानीको ग्यारेन्टी मागेपछि मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको हो ।

प्रस्तावअनुसार सरकारले स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागलाई खोप खरिदका लागि सबै अधिकार प्रत्यायोजन गर्नेछ । नेपाल सरकार र कोभ्याक्स सुविधाको ‘कस्ट सेयरिङ’मा खरिद गर्न लागिएको खोपको जमानी विश्व बैंक बस्ने भएको छ । 

विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लालका अनुसार तीन महिनापछि सन् २०२२ फेब्रुअरीमा उक्त खोप आउनेछ । उक्त खोप १८ वर्षमुनिका ३४ लाख बालबालिकालाई लगाउने सरकारको योजना छ । फाइजर पनि एक महिनाको फरकमा दुई डोज लगाउनुपर्छ ।

स्रोतका अनुसार फाइजर खोप प्रतिडोज ६ डलरमा खरिद गर्न लागिएको हो । यो हिसाबले ६० लाख डोज ल्याउँदा आठ अर्ब ४९ करोड ६० लाख रुपैयाँ पर्छ । सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि छुट्याएको २६ अर्ब रुपैयाँ सीधै स्वास्थ्य सेवा विभागमा पठाउने निर्णयसहितको प्रस्ताव पनि अर्थ मन्त्रालयमा पठाएको छ । 

यसअघि ८ कात्तिकमा अमेरिकाले अनुदानस्वरूप एक लाख ६ सय २० डोज फाइजर उपलब्ध गराएको थियो । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मार्फत खोप आएको थियो । उक्त खोप २८ कात्तिकदेखि १२ वर्ष उमेरमाथिका दीर्घरोगीलाई मात्र लगाउने निर्णय भइसकेको छ । 

फाइजर खोपको ‘सेल्फ लाइफ’ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन तापक्रम (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस)मा भण्डारण गर्नुपर्छ । त्यस्तै, माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म र माइनस दुईदेखि माइनस आठ डिग्री सेल्सियसमा १४ दिनसम्म भण्डारण गर्न सकिने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् । तर, एकपटक बढी तापक्रममा राखिसकेपछि पुनः थप माइनसमा भण्डारण गर्न मिल्दैन ।