१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
ढोरपाटनमा सिकारपछि तस्बिर खिचाउँदै सिकारी : तश्विर सौजन्य -आरके अदिप्त गिरी
२o८१ बैशाख २१ शुक्रबार १o:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ढोरपाटन सिकार आरक्षमा पाँच झारल र सात नाउरको सिकार हुने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:o७:oo

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलो यामको सिकार समय सुरु भएको छ । सिकारका लागि विदेशका व्यावसायिक सिकारी आरक्षमा आउन थालेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकारयामका लागि पाँच झारल र सात नाउरकोे सिकारका लागि अनुमति दिएको छ । कात्तिकको पहिलो सातादेखि मंसिरसम्म सञ्चालन हुने सिकारयामका लागि सिकारी आउन थालेपछि आरक्षले आवश्यक बन्दोबस्त र मार्ग निर्देशनका लागि आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बधित ब्लकमा खटाएको छ । 

सिकारका लागि अनुमति नै लिएर विभिन्न देशबाट साहसी पर्यटकहरूले तोकिएको समय र क्षेत्रमा निश्चित वन्यजन्तुको सिकार गर्न पाउँछन् । बोलपत्र आह्वानका क्रममा भएको प्रतिस्पर्धामार्फत यस वर्ष चारवटा कम्पनीले सिकार खेल्न सिकारी पठाउने अनुमति पाएको ढोरपाटन सिकार आरक्ष कार्यालय बाग्लुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए ।  

विभागले गरेको टेन्डर प्रक्रियाबाट कम्पनीहरूले सम्झौता गरी सातजना सिकारी सिकारका लागि आरक्षमा पठाउन लागेको छ । यस वर्ष एउटा नाउरको सबैभन्दा बढी एक लाख ९५ हजार र झारलको ८० देखि ९५ हजार रुपैयाँ राजस्व विभागमा सिकार कम्पनीले बुझाएको संरक्षण अधिकृत कँडेलले जानकारी दिए । 

कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन कम्पनीले दुई नाउर र एक झारल, हिमालयन सफारिजले दुई नाउर र दुई झारल, हिमालयन वाइल्ड लाइफ फिटर कम्पनीले एक नाउर, एक झारल र ट्याक एन्ड ट्रेल्स कम्पनीले दुई नाउर र एक झारल सिकार गर्ने अनुमति पाएका छन् । जसका लागि  फ्रेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारी सिकारका लागि आउने कार्यालयले जनाएको छ । कोभिडका कारण अघिल्ला वर्षजस्तो यस वर्ष धेरै सिकारीको चाहना नहुँदा नाउर र झारलको मूल्य कम भएको कँडेलले बताए ।

पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा सिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । पेसेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकाेप्टरमार्फत सिकार खेल्न आरक्षमा पुग्ने गरेका छन् । मौसममा खराबी नआएमा मंगलबार नै सिकारीहरू आरक्षमा आउने कार्यक्रम रहेको कँडेलले बताए । गत वर्षको दुई सिजनमा १८ नाउर र नौ झारलको सिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा सिकार खेल्ने गरिएको थियो ।

सिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । विश्वभरका साहसिक सिकारीका लागि प्रख्यात मानिएको यस आरक्षमा सिकार गर्नका लागि अमेरिका, रसिया, स्पेनलगायतका विकसित मुलुकका सिकारी आउने गर्दछन् । ढोरपाटन क्षेत्रमा पाइने नाउर तथा झारलको सिकार गर्नु विश्वकै साहसिक काम हुने भएकाले ट्रफी जित्नका लागि सिकारी आउने गरेको आरक्ष कार्यालयले जनाएको छ । सरकारले ०४२ सालमा सिकार आरक्ष स्थापना गरेपछि बर्सेनि सिकारका लागि अनुमति प्रदान गरिँदै आइएको छ ।

पश्चिम नेपालका तीन जिल्ला रुकुम, बाग्लुङ र म्याग्दीको १,३२५ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन सिकार आरक्षमा ३२ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको पहिलो रोजाइमा पर्ने गरेको छ ।


 

ad
ad