मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७८ कार्तिक २ मंगलबार १०:०४:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बोक्सी आरोपमा मलमूत्र खुवाइएकी सुकमरिया देवीको बयान : बर्बर यातनापछि पानीका लागि तड्पिएँ, छोरोले दिन खोज्दा उसलाई पनि धम्क्याए

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२०७८ कार्तिक २ मंगलबार १०:०४:००
  • छिमेकी दुई–तीन महिलाले ‘बोक्सीलाई मलमूत्र खुवाउनुपर्छ, अझ मंगलबार नै खुवाए बढी प्रभाव पर्छ, अहिले घाम झुल्किनसकेकाले मंगलबार नै छ’ भनेर सिकन्दर र उसको परिवारलाई उक्साए । त्यसपछि मेरो हातखुट्टा बाँधे । अनि बियरको बोतल र प्लास्टिकको गिलासमा दिसा घोलेर खुवाए ।
  • ‘यसलाई एकपटक मात्रै दिसा खुवाएर पुग्दैन, फेरि खुवाऊ’ भनेर उनीहरूले सिकन्दरलाई थप उक्साए । मलाई फेरि दिसा खुवाइयो । त्यसपछि उसको परिवारसहित मिलेर मेरो कपाल चारपाटे बनाए, अनुहारमा मोसो र चुना दले । अनि सडक किनारको बिजुलीको पोलमा बाँधे । 
  • बर्बर यातनाले म टुटिसकेकी थिएँ । पानीका लागि तड्पिएँ । मेरो छोरो पानी दिन आउँदा उसलाई पनि ‘पानी दिइस् भने ठीक हुन्न’ भनेर धम्क्याए । तर, मेरो पीडा सहन नसकेर छोराले मुखमा पानी राखिदियो ।
  • केही स्थानीय भलाद्मी भनिनेहरूले ‘यो घटनालाई यहीँ बिर्सिदेऊ’ भनेर मसँग आग्रह गरे । अहिले पनि गाउँका केही मानिस घरमै आएर पक्राउ परेकालाई छुटाइदिन आग्रह गरिरहेका छन् । 
  • प्रहरी कार्यालयभित्र मैले पैसा तिर्नुपरेन, तर बाहिर जाहेरी लेख्नेले दश हजार चाहिन्छ भन्यो । बल्लबल्ल गाउँघरमा सापटी खोजेर जुटाएको चार हजार जाहेरी लेखिदिने वकिललाई दिएर प्रहरीमा दर्ता गराएँ । 
  • यही विषयमा छलफल गर्न भोलि (मंगलबार) गाउँमा पञ्चायती बसाइँदै छ । मलाई पनि त्यहीँ बोलाएको छ । केही भलाद्मी भनिनेहरूले पञ्चायतीमा नै पक्राउ गरिएकालाई छुटाइदिन आग्रह गर्ने कुरा सुनेकी छु । तर, ममाथि त्यत्रो अपराध गर्नेहरूलाई कसरी छुटाऊँ ? मलाई न्याय चाहिएको छ । सरकारले, प्रहरीले, पञ्चायती सबैले मलाई न्याय दिनुपर्‍यो ।

सुकमरिया देवीलाई बोक्सी आरोपमा दुव्र्यवहार गर्ने सिकन्दर महतो, पत्नी पुरनीदेवी, आमा प्रमिलादेवी र भाइ अनिल प्रहरी हिरासतमा छन् 

मेरो श्रीमान् शम्भु महतो मजदुरी गर्नुहुन्छ । काम पाइए म पनि मजदुरी गर्छु । त्यसकै भरमा दुई छोरा र एक छोरीसहित परिवारको गुजारा गरिरहेका छौँ । परिवार गरिब छ, घरमा शौचालय छैन । त्यसैले बिहान उज्यालो नहुँदै शौच गर्न निस्कनुपर्छ । बुधबार अष्टमीको दिन पनि बिहान करिब तीन–साढे तीन बजेतिर म घरबाट निस्केकी थिएँ । छिमेकमा रगेश्वर महतोको घर छ । म उसको घरअगाडि बाटोमा पुग्दा रगेश्वरको छोरा सिकन्दरसहित परिवारका सदस्य आँगनमा थिए । सिकन्दरले एकाएक मलाई गाली गर्दै रोक्यो । ‘मेरो छोरीलाई टुनामुना गरिस्, तँ बोक्सी होस्’ भन्दै उसले मलाई दुर्व्यवहार गर्न सुरु गर्‍यो । मैले टुनामुना गरेका कारण उसकी १३ वर्षीया छोरी रोएको उसको भनाइ थियो । 

सिकन्दरले बोक्सी भन्दै केहीबेर कपाल लुछ्दै कुटपिट गर्‍यो । त्यसपछि आँगनमा रहेका उसकी आमा, श्रीमती, भाइलगायत पनि आए । उनीहरूले पनि बोक्सी भन्दै कुटपिट गर्न थाले । केहीबेर यो क्रम चलिरह्यो । म चिच्याउँदै गुहार मागिरहेकी थिएँ । त्यतिन्जेलसम्म दुई–चारजना छिमेकी महिला पनि जम्मा भइसकेका थिए । उनीहरूले ‘बोक्सीलाई मलमूत्र खुवाउनुपर्छ, अझ मंगलबार नै खुवाए बढी प्रभाव पर्छ, अहिले घाम नझुल्किएकाले अझै मंगलबार नै छ’ भनेर सिकन्दर र उसको परिवारलाई उक्साइरहेका थिए । 

उनीहरूको कुराले सिकन्दर र उसको परिवारका सदस्यहरू झन् आवेगमा आए । मलाई हातखुट्टा बाँधेर राखे । अनि बियरको बोतल र प्लास्टिकको गिलासमा दिसा घोलेर ल्याएर खुवाए । म गुहार–गुहार गरिरहेकी थिएँ, तर मेरो गुहार सुन्ने कोही थिएन । हातखुट्टा बाँधिदिएकोले म त्यहाँबाट भाग्न सक्ने अवस्थामा थिइनँ । यतिखेरसम्म पूरै उज्यालो भइसकेको थियो । 

त्यति गरिसकेपछि पनि उनीहरूको मन मरेन । चन्देश्वर महतोकी पत्नी भिठावाली, लालु महतोकी पत्नी रुपैठावाली र प्रगास महतोकी पत्नी घोरघासवालीले ‘यसलाई एकपटक मात्रै दिसा खुवाएर पुग्दैन, फेरि खुवाऊ’ भनेर सिकन्दरलाई थप उक्साए । त्यसपछि उसले मलाई फेरि दिसा खुवायो । अनि, उसको परिवारसहित मिलेर मेरो कपाल चारपाटे बनाए, अनुहारमा मोसो र चुना दले । अनि मलाई त्यहीँ सडक किनारको बिजुलीको पोलमा बाँधे । 

बर्बर यातनाले म टुटिरहेकी थिएँ । पानीका लागि तड्पिएँ । मेरो छोरो पानी दिन आउँदा उसलाई पनि ‘पानी दिइस् भने ठीक हुन्न’ भनेर धम्क्याए । तर, मेरो पीडा सहन नसकेर छोराले मुखमा पानी दियो । मलाई छुटाउन मेरो परिवारले धेरै प्रयास गरे, तर उनीहरूको बलको अगाडि केही लागेन । मलाई पोलमै बाँधेर राखियो । मेरो नातेदारले प्रहरीलाई खबर गरे । लगत्तै वडाध्यक्ष लोकेन्द्रलाल कर्णले पनि फोन गरेपछि प्रहरी आयो र मलाई उद्धार गर्‍यो । 

उनीहरूको यातनाले लर्‍याकलुरुक भइसकेकी थिएँ । प्रहरीले मलाई उपचारका लागि जलेश्वर अस्पताल पु¥यायो । त्यहाँ पानी (सलाइन) चढाउनका साथै केही सुई लगाएपछि सामान्य अवस्थामा आएँ । मेरो जाहेरीका आधारमा प्रहरीले सिकन्दर, उनकी पत्नी श्रीमती पुरनी देवी, आमा प्रमिला देवी र भाइ अनिल महतोलाई पक्राउ गरेको छ । तर, म पूर्ण रूपमा होसमा नरहेकाले त्यतिवेला सिकन्दर र उसको परिवारलाई थप उक्साउने भिठावाली, रुपैठावाली र घोरघासवालीको नाम भन्न छुटाएकी छु । उनीहरूलाई पनि कारबाही हुनुपर्छ । 

रगेश्वरको परिवार बलियो छ, पैसा छ । त्यसैले मैले न्याय पाउँदिनँ कि भन्ने चिन्ता पनि लाग्छ । पछि म थप उपचारका लागि आफैँ जनकपुर पनि गएँ । केही स्थानीय भलाद्मी भनिनेहरूले जनकपुरसम्मै पुगेर मलाई ‘यो घटनालाई यहीँ बिर्सिदेऊ’ भनेर आग्रह गरे । अहिले पनि घरमै आएर गाउँका केही मानिसहरू पक्राउ परेकालाई छुटाइदिन आग्रह गरिरहेका छन् । तर, मैले उनीहरूलाई भनेकी छु– मलाई जस्तो गर्‍यो, मैले उनीहरूलाई त्यस्तै गर्छु अनि छुटाइदिन्छु । म त्यत्तिकै छाड्दिनँ । 

प्रहरी कार्यालयमा मैले कुनै किसिमको पैसा तिर्नुपरेन, तर बाहिर जाहेरी लेख्नेले दश हजार चाहिन्छ भन्यो । बल्लबल्ल गाउँघरमा सापटी खोजेर जुटाएको चार हजार जाहेरी लेखिदिने वकिललाई दिएर प्रहरीमा दर्ता गराएँ । यही विषयमा छलफल गर्न भोलि (मंगलबार) गाउँमा पञ्चायती बसाइँदै छ । मलाई पनि त्यहीँ बोलाएको छ । केही भलाद्मी भनिनेहरूले पञ्चायतीमा नै पक्राउ गरिएकालाई छुटाइदिन आग्रह गर्ने कुरा सुनेकी छु । तर, ममाथि त्यत्रो अपराध गर्नेहरूलाई कसरी छुटाऊँ ? मैले भने पनि प्रहरीले छाड्न मिल्दैन होला । मलाई न्याय चाहिएको छ । सरकारले, प्रहरीले, पञ्चायती सबैले मलाई न्याय दिनुपर्‍यो ।  

(नयाँ पत्रिकाका रञ्जन भण्डारीसँगको कुराकानीमा आधारित)