१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक १ सोमबार १०:०२:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महोत्तरीमा बोक्सी आरोपमा एक महिलाको हत्या, अर्कोलाई मलमूत्र खुवाइयो

Read Time : > 3 मिनेट
२०७८ कार्तिक १ सोमबार १०:०२:००

दसैँको अष्टमी र नवमीका दिन महोत्तरीका दुई महिलाले बोक्सीको आरोपमा परिवार र छिमेकीबाट क्रूर हिंसा व्यहोर्नुपर्‍यो । महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाले ज्यान नै गुमाइन् । जलेश्वर नगरपालिका– ४ सुगाकी सुकमरिया देवीलाई छिमेकीले मलमूत्र खुवाए र चारपाटे मुडेर निर्घात कुटपिट गरे ।

दसैँको अष्टमी र नवमीका दिन महोत्तरीका दुई महिलाले बोक्सीको आरोपमा परिवार र छिमेकीबाट क्रूर हिंसा व्यहोर्नुपर्‍यो । महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाले ज्यान नै गुमाइन् । जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवीलाई छिमेकीले मलमूत्र खुवाए, केश मुण्डन गरी निर्घात कुटपिट गरे ।

शिलादेवीलाई उनकै देवर सञ्जयकुमारले हथौडाले टाउकोमा हिर्काएर हत्या गरेका हुन् । भाउजू बोक्सी भएको र केरा खुवाएर पत्नी रिंकुदेवीको गर्भपतन गराएको बयान उनले प्रहरीलाई दिएका छन् । डेढ महिनाअघि जनकपुर आएका एक भारतीय झाँक्रीले शिलादेवी बोक्सी भएको बताएपछि सञ्जयले हत्या योजना बनाएका थिए । 

त्यसअघि झाँक्री लगाउँदा रिंकुदेवी काम्ने क्रममा आफूलाई शिलादेवीको माइलो छोरा कृष्ण भएको बताएकी थिइन् । करिब एक वर्षअघि शिलादेवीका पति लालकिशोर र छोरा कृष्णको मृत्यु भएको थियो । ‘उनीहरूलाई शिलादेवीले नै टुनामुना गरी मारेको र अब सञ्जयकी पत्नी रिंकुदेवीलाई पनि मार्ने हो,’ रिंकुदेवी काम्ने क्रममा भनेकी थिइन् । शिलादेवीले मार्ने उद्देश्यसहित आफ्नी पत्नीलाई केरा खान दिएको र त्यसबाट पत्नीको गर्भ तुहिएको अन्धविश्वासले सञ्जयको दिमागमा जरा गाडेको थियो ।

महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार बोक्सीको आशंकामा भाउजूको हत्या गरेको बयान सञ्जयले दिएका छन् । ‘सगोलमै बस्दै आएका सञ्जयको गत असारमा विवाह भएपछि भाउजूसँग खटपट बढेको रहेछ । भाउजूले दिएको केरा खाएकाले श्रीमती रिंकुदेवीको गर्भ तुहिएको भन्दै उनले तीन महिनाअघि पनि झगडा गरेका रहेछन्,’ एसपी आचार्यले भने, ‘त्यसपछि सञ्जय पत्नीसहित जनकपुरस्थित हजुरआमाको घरमा बस्न थालेछन् । डेढ महिनाअघि जनकपुर आएका एकजना भारतीय झाँक्रीले टुनामुना गरेर शिलादेवीले आफ्नै पति र छोरालाईसमेत मारेको तथा रिंकु र उनको गर्भमा रहेको शिशुलाई पनि मार्नकै लागि केरा खुवाएको बताएपछि सञ्जय भाउजूको हत्या गर्ने योजनामा पुगेको देखियो ।’

यसरी गरियो शिलादेवीको हत्या
गत बुधबार शिलादेवी झाका हिन्दू धर्मावलम्बी छिमेकी अष्टमीको रमाइलोमा थिए । तर, उनको घरमा भने कुनै रौनक थिएन । एकातिर चरम गरिबीको मार थियो । अर्कोतिर आफ्ना दुई छोरा साथमा थिएनन् । रोजगारीका लागि भारतको गुजरात पुगेको जेठो छोरा १९ वर्षीय अभिषेककुमार घर फर्किएको थिएन । जलेश्वरमा डेरा लिएर बस्दै आएको कान्छो छोरा १६ वर्षीय राहुल पनि आक्कल–झुक्कल मात्र आउँथे । 

केही वर्षअघि श्रीमान् र एक छोरा गुमाएकी शिलादेवीलाई त्यसैले पनि दसैँको रौनक थिएन । तैपनि उनी नवरात्र सुरु भएसँगै अन्न ग्रहण नगरी व्रत बसिरहेकी थिइन् । केही दिनअघि मात्रै घर आएको कान्छो छोरा बुधबार बिहानै जलेश्वरस्थित मामाघरतिर लाग्यो । शिलादेवीले एक हजार रुपैयाँ दिएर पाँच सय मेला हेर्न आफैँले राख्नू, पाँच सय माइजूलाई दिनू भनी पठाएकी थिइन् ।

त्यही साँझ अकस्मात् जनकपुर बस्दै आएका कान्छा देवर सञ्जयकुमार आइपुगे । उनले थोरै भए पनि राहत महसुस गरिन् । तर, उनलाई के थाहा, सञ्जय आफ्नै हत्या गर्ने योजनासहित त्यहाँ पुगेका थिए । शिलादेवीले सञ्जयलाई खाना खाए–नखाएको सोधिन् । उनले ‘घरमा जे छ त्यही खान्छु’ भनेपछि चिउरा र सख्खर दिइन् । दुईबीच केहीबेर घरायसी कुरा भयो । त्यसपछि दुवै आ–आफ्ना कोठातिर सुत्न गए । बिहान ३ बजेतिर सञ्जय हथौडा लिएर भाउजू सुतिरहेको कोठामा गए । ढोका नभएको कोठा भएकाले उनी सीधै प्रवेश गरे र सुतिरहेकी भाउजूको टाउकोमा लगातार प्रहार गरे । केहीबेरमै शिलादेवीको प्राणपखेरु उड्यो । हथौडा त्यहीँ फालेर सञ्जय फरार भए । 

प्रहरीका अनुसार बिहानै नवरात्रको पूजा गराउन पुगेका पण्डितले शिलादेवीको शव देखेपछि छिमेकीलाई हारगुहार गरेका थिए । छिमेकीले खबर गरेपछि पुगेको प्रहरी टोलीले घटनास्थललाई घेरा हालेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान सुरु गरेको थियो ।

महोत्तरीका एसपी दिनेश आचार्य भन्छन्– 
 

डेढ महिनाअघि जनकपुर आएका एकजना भारतीय झाँक्रीले टुनामुना गरेर शिलादेवीले आफ्नै पति र छोरालाईसमेत मारेको तथा रिंकु र उनको गर्भमा रहेको शिशुलाई पनि मार्नकै लागि केरा खुवाएको बताएपछि सञ्जय भाउजूको हत्या गर्ने योजनामा पुगेको देखियो ।

‘चिनेजानेकै व्यक्तिबाट हत्या भएको आशंकासहित थुप्रै व्यक्तिका मोबाइल फोन ट्र्याक गरेर अनुसन्धान सुरु ग¥यो । त्यसक्रममा बुधबार साँझदेखि बिहान साढे तीन बजेसम्म सञ्जयको मोबाइल घटनास्थलनजिकै रहेको देखियो,’ एसपी दिनेश आचार्यले भने, ‘त्यसपछि शुक्रबार नियन्त्रणमा लिएर केरकार गर्दा सञ्जयले भाउजूको हत्या आफूले नै गरेको स्वीकार गरे ।’ वैदेशिक रोजगारीको क्रममा आफूले कमाएर पठाएको १२ लाख ३९ हजार रुपैयाँको हिसाबसमेत नदिएको भन्दै सञ्जयले भाउजूसँग झगडा गर्ने गरेको पाइएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । 

 सुकमरिया देवीलाई मलमूत्र खुवाइयो, चारपाटे मुडेर कुटपिट गरियो
उता जलेश्वर नगरपालिका– ४ सुगा बस्ने ४२ वर्षीया सुकमरिया देवीलाई  छिमेकी रगेश्वर महतोको परिवारले बोक्सीको आरोपमा मलमूत्र खुवाउने, कपाल चारपाटे बनाउँदै निर्घात कुटपिट गरेको छ । बुधबार बेलुका घरअगाडिको बाटोमा निस्किएकी सुकमरियादेवीलाई देखेर आफ्नी १३ वर्षीया नातिनी रोएको भन्दै रगेश्वरको परिवारले बोक्सीको आरोपमा उनीमाथि दुव्र्यवहार गरेको हो । 

सुरुमा सुकमरियादेवीलाई रगेश्वरका छोरा सिकन्दरले लछारपछार गरेका थिए । पछि परिवारका अरू सदस्य पनि आएर उनलाई मलमूत्र खुवाए, कपाल काटे र कुटपिट गरेको प्रहरीले जनाएको छ ।सुकमरियादेवीले बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएपछि प्रहरीले दुव्र्यवहारमा संलग्न रगेश्वरको परिवारका चार सदस्यलाई पक्राउ गरेको छ । प्रहरीले रगेश्वरकी ६५ वर्षीया  पत्नी प्रमिला, छोराहरू ३५ वर्षीय सिकन्दर र २० वर्षीय अनिल तथा ३२ वर्षीया बुहारी पुरनीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

महोत्तरीका एसपी दिनेश आचार्यले पीडित सुकमरियादेवीको स्वास्थ्य जाँच गराइएको र हाल अवस्था सामान्य रहेको बताए । आरोपी चारैजनामाथि अनुसन्धान चलिरहेको र दोषीलाई प्रहरीले उन्मुक्ति नदिने उनले बताए । महिला अधिकारकर्मी गुन्जा रायले बोक्सीको आरोपमा दुव्र्यवहारका थुप्रै घटना हुने गरे पनि प्रहरीसमक्ष कम उजुरी मात्र पर्ने गरेको बताइन् । ‘चेतनाको अभावमा अझै पनि यस्ता जघन्य अपराध हुने गरेका छन् । तर, सबै घटना प्रहरीसमक्ष पुग्दैनन्,’ अधिकारकर्मी गुन्जाले भनिन्, ‘न्याय पाउँछु भन्ने विश्वासमा कमी रहेकाले पनि कैयौँ घटना प्रहरीसमक्ष नआइपुगेका हुन सक्छन् । कति घटना भने जनप्रतिनिधिको दबाबमा मिलापत्रका नाममा पनि दबाउने गरेकाले पनि पीडितलाई न्याय पाइन्छ भन्ने विश्वास पैदा नभएको हुन सक्छ ।’