१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २४ आइतबार o६:२३:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रशिक्षक अलमुताइरी भन्छन्– फिफा वरीयतामा भारत निकै माथि छ, तर हामी डराउँदैनौं

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार o६:२३:oo

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा वरीयतामा भारत निकै माथि भए पनि आफूहरू नडराउने बताएका छन् । उनले दक्षिण एसियाकै सबैभन्दा बलियो टोलीविरुद्ध आइतबार हुने खेलमा नेपाल डराएर प्रतिस्पर्धा नगर्ने बताएका हुन् । 

अहिले उनी नेपाली टोलीका साथ माल्दिभ्सको मालेमा छन् । मालेमा दक्षिण एसियाली फुटबल (साफ) चलिरहेको छ । नेपाल–भारतबीचको खेलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी अलि फरक रुपमा प्रस्तुत भए । उनको प्रतिक्रियाले सबै स्तब्ध पनि भएका छन् । आइतबार हुने खेलमा नेपालको जित्ने सम्भावना केवल एक प्रतिशत र भारतको जित प्रतिशत ९५ प्रतिशत रहेको उनले दावी गरेका छन् । ‘आइतबारको खेल महत्वपूर्ण छ, भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो, सातपटकको विजेता पनि हो । यू–२३ टोलीले नै उपाधि जितेको इतिहास छ’, अलमु्ताइरीले भने, ‘आजकोे खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ, बराबरी चार प्रतिशत छ र नेपालले जित्ने सम्भावना एक प्रतिशत मात्रै छ ।’

गत महिना दशरथ रंगशालामा अलमुताइरीकै प्रशिक्षणमा नेपालले भारतलाई पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरीमा रोकेको थियो । दोस्रो खेलमा भारत २–१ ले विजयी भएको थियो । जारी साफमा नेपालले लगातार दुई खेलमा जित निकालेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो । प्रशिक्षक अलमुताइरीले भारतविरुद्धको खेल कठिन हुने जनाए । ‘भारतविरुद्धको खेल हाम्रो लागि कठिन हुनेछ,’ उनले भने, ‘किन भने भारत सातपटकको च्याम्पियन हो ।’ 

यसैगरी राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् । ‘हामी फाइनल पुग्नका लागि एक कदम पछाडि छौँ, भारतविरुद्धको खेल हाम्रो लागि अर्को एक कदम हो,’ उनले भने, ‘भारत बलियो टोली हो तर हामी पनि कमजोर छैनौं ।’ नेपालले दक्षिण एसियाकै नम्बर एक टोली भारतसँग आइतबार राति ९ः४५ बजे सामना गर्दैछ ।
राउन्ड रोविन लिगअनुसार शीर्ष स्थानमा रहने टोली फाइनलमा सीधै पुग्ने छ । पहिलोपटक नेपाल फाइनलको एकदम नजिक पुगेको छ । नेपालले केवल दुई खेलबाट सर्वाधिक ६ अंक बटुली शीर्ष स्थान बलियो बनाएको हो । फाइनलको ऐतिहासिक यात्राबाट नेपाल केवल तीन अंकले मात्र पछाडि छ । नेपालले भारतलाई हराए सिँधै फाइनलमा पुग्नेछ । हारसँगै लगभग भारत प्रतियोगिताबाट बाहिरिने सम्भावना छ । भारतले लगातार दुई खेलमा बराबरी नतिजा निकालेर केवल दुई अंकमा सिमित छ ।