१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नेपालको पूर्वी नाका काकडभिट्टासँगैको मेची पुलबाट पैदल नै नेपाल प्रवेश गर्दै यात्रीहरू । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पुरानो अवस्थामा अझै फर्किएनन् काँकडभिट्टा र भद्रपुर नाका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:o४:oo

सरकारले ५ असोजमा देशभर भारतसँगका सबै नाका खोल्ने र स्वास्थ्य मापदण्डलाई पालना गर्दै आवतजावत सहज गर्ने निर्णय गर्‍यो । तर, झापाका दुई ठूला नाका अझै पुरानै अवस्थामा फर्कन सकेका छैनन् । 

यी नाकामा भारतीय पक्षको अवरोध कायमै छ । झापाकै ठूलो पूर्वीनाका काँकडभिट्टा पनि पूर्ण रूपमा खुला भएको छैन । भद्रपुर नाका पूर्ण रूपमा ठप्प छ । पूर्वीनाका काँकडभिट्टामा विगतदेखि नै स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाल प्रवेश पाएका थिए । तर, यो नाका विगतमा सिल हुँदा जस्तो थियो, उस्तै छ । काँकडभिट्टा नाकाबाट भारतीय र भारत गएका नेपाली मात्र आउँदैनन्, यो नाका भएर भारतबाहेक अन्य तेस्रो देशका नागरिक पनि आउने गर्छन् । 

मानिसहरूले सहज रूपमा आउन पाएका छैनन्, भन्सार प्रक्रिया पूरा गरेर भारतीय सवारीसाधन पनि नेपाल प्रवेश गर्न नपाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिए । ‘सरकारले निर्णय गरे पनि काँकडभिट्टा नाका पुरानै अवस्थामा फर्कन सकेको छैन । भारतको पश्चिम बंगालमा नाकाको सिल कायमै छ,’ उनले भने, ‘यहाँबाट आउने नागरिकले स्वास्थ्य मापदण्ड पूरा गरेर त आउन पाएकै छन् । तर, भन्सार प्रक्रिया पूरा गर्दा भारतीय निजी सवारी आउन पाउँथे, त्योचाहिँ अहिलेसम्म भएको छैन ।’

सरकारले निर्णय गरे पनि स्थानीय तह र स्थानीय प्रशासनले समन्वय नगर्दा समस्या भएको ट्राभलसँग झापाका अध्यक्ष नेत्र कार्की बताउँछन् । ‘सरकारले त खोल्ने निर्णय गरेको छ । तर, स्थानीय प्रशासन र स्थानीय सरकारले कुनै पहल गरेनन्,’ उनी भन्छन्, ‘समन्वय अभाव हुँदा नाका खुल्न सकेन । नाका किन खुलेन स्थानीय प्रशासन र स्थानीय सरकारले समकक्षीसँग समन्वय गरेर जनतालाई स्पष्ट जवाफ दिनुपर्दैन ?’

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले नाकामा भरततर्फ असहज कामै रहेको बताइन् । सरकारले निर्णय गरे पनि भरततर्फ प्रशासनले नेपालबाट जानेलाई कडाइ गरेको बताइन् । यस्तै, भारतबाट सवारीसाधन नेपाल आउन नपाएको बताइन् । ‘हामीले नेपाल आउनेलाई निकै सहज बनाएका छौँ । नाकामै एन्टिजेन्ट परीक्षण पनि राखेका छौँ । तर, भारत जानेलाई यति सहज छैन,’ उनले भनिन्, ‘सबैले स्थानीय तहले गर्नुपर्छ भनेर भन्नुहुन्छ । नाकाको अधिकार हामीसँग छैन । काँकडभिट्टाको व्यवसाय भारतसँग निर्भर छ । चाडपर्व आइसक्दा पनि नाका नखुल्दा समस्या भएको छ ।’

भद्रपुर नाकाको पनि हालत उस्तै छ । भारतको बिहार राज्यको गलगलीयासँग जोडिएको छ, भद्रपुर नाका । यो नाका पनि हालसम्म खुलेको छैन । नेपालले कूटनीतिक पहल गर्न नसक्दा सरकारले नाका खोल्ने निर्णय गरे पनि भद्रपुर नाकाबाट मानिसको आवतजावतसमेत हुन सकेको छैन । नाका अझै ठप्प रहेको छ । ‘दुई वर्ष हुनै लाग्यो, नागरिकले आवतजावत गर्न पाएका छैनन् । नागरिक औषधि उपचारका लागि भारतसम्म जान सकेनन्,’ झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरूले भने, ‘सरकारको कूटनीतिक पहल पुगेन । हचुवाका भरमा निर्णय गर्‍यो । तर, कार्यान्वयन गर्न सकेन । यो सरकारको नालायकीपन हो ।’ 

जिल्ला प्रशासन कार्यालयमा पटक–पटक आग्रह गर्दा पनि हालसम्म भद्रपुर नाका नखुलेको उनले बताए । ‘अरू नाका खुलिसके । भद्रपुर नाकाबाट आवतजावतसमेत भएको छैन । कतिपटक सिडिओ कार्यालयमा आग्रह गर्दै पुग्यौँ । सुनुवाइ भएन,’ पनेरूले भने, ‘भद्रपुरवासी त तेस्रो दर्जाका नागरिक भए । राज्यले गरेको निर्णयले समेत भद्रपुरवासीलाई छुन सकेन ।’

 

ad
ad