मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
सोमबार हुने श्रीलंकाविरुद्धको खेलअघि खेलबारे जानकारी दिँदै नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र क्याप्टेन किरण चेम्जोङ
नयाँ पत्रिका काठमाडौं
Invalid date format o६:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल लगातार जितको खोजीमा : प्रशिक्षक अलमुताइरी भन्छन्– श्रीलंकाविरुद्धको खेल सोचेको जस्तो छैन, संयमित भएर खेल्नुपर्छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o६:११:oo

दक्षिण एसियाली (साफ) फुटबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्समाथि १–० को ऐतिहासिक जित निकालेको थियो । दुई दशकपछि नेपालले माल्दिभ्सलाई हराएको हो ।उच्च मनोबल बनाएको नेपाली टोलीले सोमबार मालेस्थित राष्ट्रिय रंगशालामा राति ९ः४५ बजे श्रीलंकाविरुद्ध त्यही मनोबलका साथ प्रतिस्पर्धा गर्ने तयारी गरेको छ ।

हालसम्म नेपाल र श्रीलंकाबीच १७ अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले तीन जित निकालेको छ । आड खेल बराबरी खेल्दा ६ खेलमा नेपाल पराजित भएको छ । नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक भिड्न लागेको हो । सन् २०१६ मा भएको खेलमा नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । उक्त खेलमा नेपालका लागि एक मात्र विजयी गोल विमल घर्तीमगरले गरेका थिए । साफ च्याम्पियनसिप २०१५ मा नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १–० ले पराजित भएको थियो । 

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध संयमित र सचेत भएर प्रतिस्पर्धा गर्ने बताएका छन् । ‘श्रीलंकाविरुद्धको खेल सोचेको जस्तो छैन, हाम्रो नजरमा यो पनि महत्वपूर्ण नै हो,’ खेलअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक अलमुताइरीले भने, ‘खेल सहज नहुने र संयमित भएर खेल्नुपर्छ ।’

सहभागी टोलीमध्ये श्रीलंका बलियो रहेको प्रशिक्षक अलमुताइरीको भनाइ छ । उनी भन्छन्, ‘साफ च्याम्पियनसिपका लागि श्रीलंकाले राम्रो तयारी गरेको छ, प्रतिस्पर्धा गर्न आएका टोलीमध्ये श्रीलंका बलियो छ ।’ लगातार दोस्रो जित निकाल्नका लागि नेपालका युवा तथा सिनियर खेलाडीहरूले पूरै ९० मिनेट कडा मिहिनेत गर्नुपर्ने उनले बताएका छन् । ‘हामीले फेरि तीन अंक हात पार्न कडा मिहिनेत र संघर्ष गर्नुपर्छ,’ अलमुताइरीले भने । 

नेपालभन्दा श्रीलंका वरीयतामा निकै पछि छ । तर, खेलमा वरीयताका केही अर्थ नहुने उनले बताए । ‘हामीभन्दा श्रीलंका वरीयतामा तल नै छ, उनीहरूविरुद्धको खेलमा रणनीति पुरानै हुनेछ,’ अलमुताइरीले भने, ‘जसरी माल्दिभ्सविरुद्ध खेलेका थियौँ, त्यही रणनीतिअनुसारै श्रीलंकाविरुद्ध खेल्छौँ ।’ श्रीलंकाले प्रतियोगितामा बंगलादेशसँग पहिलो खेल खेलेको थियो । श्रीलंका पेनाल्टीमा मात्र पराजित भएको थियो । पेनाल्टीमा पराजित हुनुअघि श्रीलंकाले बंगलादेशमाथि दबाब नै राखेको थियो ।

श्रीलंका र बंगलादेशबीचको खेलअनुसार दोस्रो खेलमा कडा मिहिनेत गर्नुपर्ने अवस्था आएको प्रशिक्षक अलमुताइरीले भने । ‘श्रीलंका र बंगलादेशको खेल हेरेका छौँ, श्रीलंका पेनाल्टीमा मात्र पराजित भएको हो,’ उनले भने, ‘यसबाहेक उनीहरू सबै पक्षमा बलियो थिए ।’

हामीहरूको लक्ष्य तीन अंक बटुल्नेबाहेक अरू छैन : चेम्जोङ
नेपाली टोलीका कप्तान किरण चेम्जोङले पनि श्रीलंकाविरुद्धको खेल सर्वाधिक महत्वपूर्ण हुने बताएका छन् । उनले नेपालको फुटबल इतिहासमा सर्वाधिक महत्वपूर्ण खेलमा जित निकाल्ने योजना रहेको बताए । कप्तान किरणले श्रीलंकाविरुद्ध तीन अंक लिनकै लागि प्रतिस्पर्धा गर्ने बताए । ‘हामीहरूको लक्ष्य तीन अंक बटुल्नेबाहेक अरू छैन,’ उनले भने, ‘माल्दिभ्सविरुद्ध जस्तै पूरै ९० मिनेट जितकै लागि लड्छौँ ।’ माल्दिभ्सविरुद्ध जस्तै श्रीलंकासँगको प्रतिस्पर्धामा आफ्ना खेलाडीहरूले अन्तिम समयसम्मै गोर्खाली शैलीमा प्रतिस्पर्धा गर्ने विश्वास रहेको किरणले बताए । ‘मलाई टोलीका खेलाडीसँग विश्वास छ, हामी तीन अंक ल्याउँछौँ, यस कारण सोमबारको खेल निकै महत्वपूर्ण छ,’ उनले भने ।