टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ ६ बिहीबार
  • Thursday, 20 January, 2022
शिवहरि घिमिरे काठमाडाैं
नवीन अर्याल काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०६:५१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जसको धैर्यता र विवेकले  ७७ जनाको ज्यान जोगियो

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नवीन अर्याल, काठमाडाैं
२०७८ असोज १२ मंगलबार ०६:५१:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहान विराटनगरका लागि उडेको बुद्ध एयरको एटिआर ७२ जहाज ठूलो दुर्घटना हुनबाट जोगियो । विराटनगरमा अवतरण गर्न ल्यान्डिङ गियर नखुलेपछि फर्किएको जहाजले काठमाडौंको आकाशमा झन्डै दुई घन्टासम्म फन्को मारेर ‘फोर्स ल्यान्डिङ’को तयारी गर्‍यो । तर, अन्तिम समयमा ल्यान्डिङ गियर खुलेपछि क्याप्टेन एजी शेर्पाले सहज अवतरण गराए । 

पाइलट एजी शेर्पा भन्छन्– यस्तो कहिल्यै भएको थिएन

क्याप्टेन एजी शेर्पाले उडान भर्न थालेको २४ वर्ष भयो । बुद्ध एयरको स्थापनाकालदेखि नै उनी आबद्ध छन् । अनुभवका हिसाबले उनी निकै खारिएका पाइलट हुन् । हरेक दिन, हरेक घन्टाको उडान उनलाई निकै सहज र सामान्य लाग्छ । पाइलटका लागि उडान भर्नु ठूलो कुरा पनि भएन । २४ वर्षे उडान अनुभवमा शेर्पाले हजारौँ यात्रुलाई गन्तव्यमा पुर्‍याए । तर, सोमबार उनले सोचेका थिएनन्, जहाजमा रहेका ७७ जनालाई मैले सकुशल एयरपोर्टमा अवतरण गराउँछु भनेर । सोमबार बिहानको घटना हो ।

बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट ७७ जना यात्रु बोकेर उनी विराटनगरतर्फ उडान भर्दै थिए । विराटनगर पुग्दै लाग्दा एयर ट्राफिक कन्ट्रोल रुममा अवतरण गर्ने जानकारी पनि गराए उनले । जहाज अवतरण गर्ने वेला भएपछि उनले जहाजको चक्का डाउन गर्न खोजे । तीनवटा चक्कामध्ये एउटा चक्का डाउन नै भएन । जहाज अवतरण गर्नका लागि जहाजको इन्जिनले ग्रिन सिग्नल संकेत पनि दिएन । जसलाई थ्री ग्रिन सिग्नल भनिन्छ । तीनवटा सिग्लन ग्रिन देखिएमा मात्रै जहाज सामान्य अवतरण हुन्छ । नत्र जहाजको इन्जिन वा चक्कामा समस्या भएको भन्ने बुझिन्छ । पाइलट शेर्पाले उडान भरेको जहाजले निकै अशुभ संकेत दियो । ल्यान्डिङ गियर डाउन भएन ।

पाइलटहरूका अनुसार जहाजमा आउने यो समस्यालाई सामान्य मानिँदैन । उनले भने, ‘मलाई त यति सहजै अवतरण गरिन्छ जस्तो लागेको थिएन, मैले धेरै नै सोचिसकेको थिएँ, तर विराटनगरबाट काठमाडौं एयरपोर्टमा आइपुग्दा जहाजले थ्री ग्रिन सिग्नल दियो, मैले पनि निकै ध्यान दिएको थिएँ ।’ विराटनगरमा जहाज अवतरण गर्न सकिने अवस्था नभएपछि उनी काठमाडौं फर्किए । जहाजभित्र ७७ जना यात्रु थिए । एटिसी टावर र जहाजका इन्जिनियरहरूलाई क्याप्टेन टोलीले जहाजको अवस्थाबारे जानकारी गरायो । एटिसी टावरले काठमाडौंतिरै ‘मुभ’ हुन भन्यो । त्यसलगत्तै पाइलट शेर्पाले जहाजलाई काठमाडौंतर्फ फर्काएका थिए ।

उनले जहाजमा इन्धनको मात्रा धेरै भएकाले आकस्मिक वा संकटकालीन अवतरणलाई ध्यानमा राख्दै ‘फ्युल वर्न’ गरे । यसो गर्दा जहाजको तौल कम हुन्छ । जमिनमा बजारिए पनि ठूलो क्षति वा आगलागी हुनबाट बच्छ । काठमाडौं विमानस्थल आइपुगेपछि पाइलट शेर्पाले चार–पाँच फन्को घुमाए । केहीबेर जहाजलाई आकाशमै होल्ड गरे । त्यतिञ्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दूरबिन लगाएर हवाई इन्जिनियरहरूले जहाजको चक्का र इन्जिन जाँच गरे । पाइलटले एटिसी टावरसँग कुरा गर्दै जहाज घुमाइरहेका थिए । जाँच गर्दा जहाजमा खासै समस्या देखिएन । त्यसपछि एटिसी टावरले अवतरण गर्ने अनुमति दियो । पाइलट शेर्पाले ल्यान्डिङ गेयर (डाउन गरे) तल झारे ।

अबचाहिँ जहाजले थ्री ग्रिन सिग्नल दियो । चक्का आफैँ डाउन भयो । त्यसपछि पाइलट शेर्पाले बिहान १० बजेर १६ मिनेटमा जहाजलाई अवतरण गराए । जहाजको टायरले भुइँ छोएपछि सबै यात्रुहरू झसंग भए । खुसीले ताली पिटे । झन्डै मृत्युको मुखमा पुगेका उनीहरूले अर्को जीवन पाएझैँ महसुस गरे । यो अनुभव पाइलट शेर्पाले २४ वर्षसम्मको पाइलट जीवनमा नभोगेको अनुभव हो । आजसम्म उनले सयौँ उडान भरे । ती सबै सामान्य नै रहे । तर, आज बिहानको उडान उनको पाइलट जीवनकै अविस्मरणीय क्षण बन्यो । ‘यात्रुहरू निकै डराइरहनुभएको थियो, तर म डराएको भए जहाज बीचमै खस्थ्यो होला, त्यो अवस्थामा म निकै सतर्क भएँ, सेकेन्ड–सेकेन्डमा जहाज कतातिर मोडेको छु याद गरेँ, एयर होस्टेसहरू पनि हाई अलर्टमा रहेर मलाई साथ दिए,’ उनले सुनाए, ‘अवस्था त निकै चुनौतीपूर्ण थियो, तर आशा मारेको थिइनँ ।’ उनले यात्रुहरू चिच्याएको आवाज अगाडिसम्म सुनिए पनि त्यसले आफूलाई नबिथोलेको र आफू निकै एकाग्र भएर उडान भरेको बताए ।

यात्रु अनमोल प्रधानको अनुभव : बाँच्दिन भन्ने लागेपछि बुबालाई म्यासेज गरेँ

विराटनगरको आकाशमा जहाज सजिलै पुग्यो । विमानस्थलनजिक पुगेपछि अवतरण गर्ने वेला भयो भनेर अनाउन्समेन्ट पनि भयो । तर, जहाज रन वेनजिकै पुगेर फेरि उड्यो । तीनपटकसम्म यस्तो भएपछि डर लाग्न थाल्यो । केहीबेरमै जहाज विराटनगरमा अवतरण हुन नसक्ने र काठमाडौं फर्किनुपर्ने जानकारी दिइयो । त्यहाँबाट फर्किँदासम्म पनि सबै यात्रु शान्त नै थिए । सामान्य केही गडबडी भयो भन्ने ठानिएको थियो । तर, त्रिभुवन विमानस्थल आएपछि पनि जहाज जब रन वेनजिक पुग्ने र फेरि उड्ने गर्न थाल्यो ।

४०–४५ मिनेटसम्म पनि ल्यान्ड नभएपछि सबै यात्रु डराउन थाले । धेरै उचाइमा नभएकाले जहाजको झ्यालबाट हेर्दा विमानस्थलभरि आर्मी, प्रहरी, क्रु मेम्बर र अरू मान्छेहरू भरिभराउ देखिए । कोही दौडिरहेका थिए, कोही जहाजतिर नियालिरहेका थिए । एम्बुलेन्स र दमकलको पनि लाइन थियो । भुइँमा कार्पेट बिच्छ्याइएको थियो । त्यो दृश्यले मुटुको गति बढायो । अब विमान दुर्घटनामा पर्दै छ भन्ने लाग्यो । यात्रुको रुवाबासी चल्न थाल्यो । अब बाँचिदैन भन्ने भयो । 

विराटनगरबाट फर्काउँदा एयरहोस्टेसले काठमाडौंमा सहज अवतरण हुने बताएका थिए । तर, भनेजस्तो नभएको भन्दै केहीले एयरहोस्टेसलाई गाली गर्न थाले । एकजना आमा एयरहोस्टेसलाई गम्लंग अँगालो मारेर रुन थाल्नुभयो । उनीहरू आफ्नो आँसु पुछ्दै यात्रुलाई सान्त्वना दिँदै थिए । फ्युल सकाएर जहाज अवतरण गर्ने भनेपछि यात्रु झन् डराए । आगलागीको जोखिम कम गर्न फ्युल सकाएर अवतरण गराउन खोजिएको भन्ने सबैलाई मेसो भएन । जहाज नै खस्ने त होइन भन्ने भयो ।

रुवाबासीबीच धेरैले आफन्तसँग फोन सम्पर्क गरिरहेका छन् । मैले पनि बुबालाई फोन गरेँ, तर बुबाले ‘हेलो बाबु’ भन्न नपाउँदै फोन काटियो । राम्रो नेटवर्क नटिप्दा कुरा गर्न पाइनँ । मैले बाँचिन्छ भन्ने आशा मारेर बुबालाई म्यासेज लेखेँ, ‘बुबा म तपाईंलाई धेरै माया गर्छु, तपाईं आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, तपाईंको छोरा’ भनेर । 

जहाजमा फ्युल सकिन लागेकाले फोर्स ल्यान्डिङ हुन थालेको जानकारी आयो । सबैले भगवान्को नाम जपिरहेका थिए । मैले पनि पशुपतिनाथलाई सम्झिएँ । जब जहाज सहज अवतरण भयो, त्यतिवेला त मेरो भगवान् भनेको पाइलट रहेछन् भन्ने लाग्यो । एकछिनअघिसम्म पीडाले रोएका हामीहरू खुसीले रुन थाल्यौँ ।