१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ६ बुधबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ६ बुधबार o६:२६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्रिकेट टोली स्वदेश फर्कियो

ओमानमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले मिश्रित नतिजा ल्याएको छ, नेपालले चार खेलमध्ये दुई खेलमा समान जित र हारको सामना गरेको छ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ६ बुधबार o६:२६:oo

आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिज खेल्न गएको नेपाली सिनियर पुरुष क्रिकेट टोली मंगलबार स्वदेश फर्केको छ । ओमानमा भएको सिरिजमा नेपालले चार खेलमध्ये दुई खेलमा समान जित र हारको सामना गरेको थियो । नेपालले ओमान र अमेरिका दुवैसँग समान एक खेलमा जित र हार व्यहोरेको हो । यो परिणमसहित तालिकामा नेपाल आठ अंकसहित चौथो स्थानमा छ ।

नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले चारमध्ये तीन खेलमा जित निकाल्ने लक्ष्यका साथ ओमानमा प्रतिस्पर्धा गर्न गएको बताएका छन् । यद्यपि, आफ्नो लक्ष्य पूरा नभए पनि युवा खेलाडीले आइसिसी विश्वकप लिग २ मा देखाएको प्रदर्शनबाट निकै खुसी भएको बताएका छन् । 

‘हामीले ओमान प्रस्थान गर्दा चारमध्ये तीनवटा खेलमा जित निकाल्ने लक्ष्य राखेका थियौँ, नेपालले लक्ष्य भेट्टाउन सकेन, तर खेलाडीहरूको प्रदर्शनबाट खुसी छु,’ कप्तान मल्लले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भने, ‘ओमानलाई हामीले उनीहरूकै घरेलु मैदानमा जित्यौँ ।’ युवा खेलाडीहरूमाथि भएको लगानी बिस्तारै देखिन थालेको उनको भनाइ छ । 

‘पछिल्लो तीन वा चार वर्षदेखि खेलाडीहरूमाथि भएको लगानीको नतिजा बिस्तारै देखिन थालेको छ,’ उनले भने । सिरिजमा नेपालबाट विक्रम सोव तथा गुल्सन झाले एकदिवसीय सिरिजमा डेब्यु अवसर पाएका थिए । डेब्यु अवसर पाएका खेलाडी तथा अन्यले पनि राम्रो प्रदर्शन गरेको उनले बताए ।

‘त्रिकोणात्मक सिरिजमा कुशल भुर्तेल, आसिफ सेख, विक्रम सोव र गुल्सन झाले पनि राम्रे खेले,’ मल्लले भने, ‘यद्यपि सिनियर खेलाडीले पनि राम्रो नै खेले ।’ त्रिकोणात्मक सिरिजमै कप्तान मल्लले नेपालबाट एकदिवसीय खेलमा सर्वाधिक रन तथा अर्धशतक बनाउने कीर्तिमान राखेका थिए । उनको नाममा सर्वाधिक चार अर्धशतक बनेका छन् । मल्लले पूर्वकप्तान पारस खड्काको नाममा रहेको नेपालबाट एकदिवसीय खेलमा सर्वाधिक रनको रेकर्ड पनि तोडेका थिए । 

एसोसिएट राष्ट्रबीच धेरैभन्दा धेरै एक्सपोजर खेल खेल्दा नेपालको स्तर बढ्ने मल्लले जनाए । ‘एसोसिएट राष्ट्रमा राम्रो नतिजा निकाल्न हामीले धेरै खेल खेल्नुपर्छ,’ उनले भने, ‘त्यसतर्फ सोच्ने वेला भइसकेको छ ।’ युवा खेलाडीहरूमा अन्तर्राष्ट्रिय खेलको अनुभवको कमी रहेको उनको भनाइ छ । ‘यसपटकको सिरिजमा युवा खेलाडीले मौका प्राप्त गरे, तर उनीहरूमा अनुभव कमी देखियोे,’ कप्तान मल्लले भने, ‘यस पक्ष सुधार गर्न म्याच एक्सपोजर चाहिन्छ, त्यसपछि मात्र खेलाडीले परिस्थितिसँग जुध्ने र दबाब झेल्नेछन् ।’ 

कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्न धेरै खेल युवा खेलाडीका लागि खाँचो रहेको जनाएका छन् । सञ्चारकर्मीसँग मल्लले प्रशिक्षक डेव ह्वाटमोरको छोटो बसाइमा टोलीमा राम्रो छाप परेको बताए । नेपालले ओमान त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनीसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले सिरिज २–० ले जित्यो । 

कप्तान मल्लले विश्वकप लिग–२ मा नेपालको अझै खेल बाँकी रहेका कारण आगामी खेलमा राम्रो गर्ने बताए । ‘अबका हरेक खेल नेपालका लागि महत्वपूर्ण हुछ । विश्वकप लिग २ मा नेपालले अझै धेरै खेल खेल्नुछ, ती प्रत्येक खेल महत्वपूर्ण हुनेछन्,’ उनले भने । लिग–२ एक किसिमले विश्वकप छनोटको बाटो हो । लिग–२ मा रहेका सात टोलीले एकआपसविरुद्ध नौ सिरिज खेल्नेछन् । यसमा कुल ३६ खेल छन् । लिग–२ को शीर्ष तीन राष्ट्रले सन् २०२३ को जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् ।