१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format o८:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षक हत्या प्रकरण : छिमेकी महिलाद्वारा हत्या स्वीकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१५:oo

शिक्षक हत्या प्रकरणमा नजिकैको छिमेकी महिला रहेको खुलेको छ । प्रहरीले गरेको अनुसन्धानबाट मृतक शिक्षकको नजिकै बस्ने २५ वर्षीया छिमेकी महिला मुना रानाले हत्या स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । दैलेखको गुराँस गाउँपालिका– ८ स्थित मालिका मावि छोटेपोखरामा कार्यरत शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको घाँटी रेटेर हत्या गरिएको थियो । 

हत्यापश्चात् उनको शव विद्यालयको बरन्डामा फालिएको थियो । विद्यालयको नजिक ३० मिटरको दूरीमा बसोवास गर्दै आएकी स्थानीय डम्बर खड्काको पत्नी मुना रानाले सोमबार राति साढे १ बजे व्यक्तिगत रिसइबीका कारण धारिलो हतियार प्रयोग गरी बिसीको घाँटी रेटेर हत्या गरेको प्रहरीमा  बयान दिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिएका छन् । 

बयानकै आधारमा जाहेरी दरखास्त लिई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर विस्तृत अनुसन्धान थालेको श्रेष्ठले जानकारी दिए । घटनालगत्तै अनुसन्धानमा गएको प्रहरीले मुनाको कोठाबाट धारिलो हतियारलगायतका प्रमाणहरू बरामद गरेको बताएको छ । 

घटनापश्चात् प्रहरीले संकलन गरेका सबुत प्रमाण, खानतलासी, मुचुल्कासमेतको प्रारम्भिक अनुसन्धान प्रक्रिया सम्पन्न गरी मृतक बिसीलाई धारिलो वस्तु प्रयोग गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानपश्चात् घटनास्थलबाट प्राप्त भौतिक प्रमाण, प्राविधिक तथा तथ्यपरक अनुसन्धानको आधारमा शिक्षक बिसी हत्यामा मुना नै संलग्न रहेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ । 

घटनाको अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारको कमान्डमा गएको जिल्लाको टोली र प्रहरी चौकी लालीकाँडाको टोलीले अनुसन्धान थालेको थियो । प्रहरीले शंकास्पद घटना भएको थाहा पाएसँगै १० जनालाई मंगलबार नै नियन्त्रणमा लिएको थियो । 

सामूहिक र योजनाबद्ध हत्या गरिएको परिवारको दाबी
१३ वर्षदेखि राहत शिक्षकको रूपमा मालिका माविमा कार्यरत बिसीको योजनाबद्ध रूपमा हत्या गरिएको बिसीका बुबा दलबहादुर बुढाको आरोप छ । ‘घरमा कोही पनि नभएको मौका छोपेर मेरो छोराको हत्या गरिएको हो । एउटी महिलाको मात्र संलग्नता भन्ने विषय स्वीकार गर्न सकिँदैन, संलग्न जो–जति छन् सबैलाई कारबाही होस्, निर्दोष कोही मान्छे पनि नफसोस् हामीले यही माग राखेका छौँ । मेरो छोराले पकाएको खाना पनि खाएको छैन, मेरो छोराले कसैलाई केही बिराएको थिएन, किन छोरालाई फकाएर पसलमा लगियो, खाना खान पनि दिइएन,’ बुबाले गुनासो गरेका छन् । 

मृतक बिसीका श्रीमती र दुई छोरा छन् । १९ वर्षीय सुनिल बिसी र १७ वर्षीय अंकित बिसी अध्ययनका लागि बाँकेको नेपालगन्जमा बस्दै आएका छन् । बिसीको पोस्टमार्टमपश्चात् बुधबार साँझ आफन्तले शव बुझेर घर लगेका छन् ।