मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ भदौ २५ शुक्रबार २०:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानसेनापति शर्माको पहिलो सम्बोधन : रूपान्तरित संगठन बनाउने उद्घोष, सैनिक मर्यादा नाघे कारबाहीको चेतावनी

Read Time : > 2 मिनेट
२०७८ भदौ २५ शुक्रबार २०:३८:००

प्रधानसेनापति प्रभुराम शर्माले कार्यकाल सुरु गरेको भोलिपल्ट शुक्रबार सकलदर्जाका नाममा सम्बोधन गर्दै समयसापेक्ष, रूपान्तरित सक्षम, गतिशील र प्रभावकारी संगठन विकास गर्ने वचनबद्धता व्यक्त गरेका छन् । शर्माले बिहीबारदेखि औपचारिक रूपमा सेनाको नेतृत्व सम्हालेका थिए । सैनिक परम्पराअनुसार उनले सबैलाई सम्बोधन गर्दै ‘कमान्ड नीति तथा मार्गनिर्देशन– २०७८’समेत जारी गरेका छन् । 

सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार राष्ट्रिय सुरक्षा, संगठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोबस्ती प्रणाली र कल्याणकारी कार्यलाई प्राथमिकतामा राखेर प्रधानसेनापतिले मार्गनिर्देशन जारी गरेका हुन् । उनले सैनिक अनुशासन, पदीय मर्यादा र आचरण उल्लंघन गर्दै सेनाको तेजोबोध हुने खालको गतिविधि नगर्न सबै सकलदर्जालाई निर्देशनसमेत दिएका छन् । ‘कुनै पनि किसिमका सैनिक अनुशासन, पदीय मर्यादा र आचरणविपरीतका गतिविधि तथा संगठनलाई सीमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउनेजस्ता अवाञ्छित गतिविधि किमार्थः क्षम्य हुने छैनन्,’ प्रधानसेनापतिले भने । 

‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षालगायत संविधानप्रदत्त सम्पूर्ण जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गर्न सक्षम, सुदृढ, आधुनिक र व्यावसायिक सैनिक संगठन तयार गरिनेछ,’ प्रधानसेनापति शर्माले भनेका छन्, ‘यसका लागि, नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति, राष्ट्रिय प्रतिरक्षा नीति र नेपाली सेनाको दीर्घकालीन सोच–२०८७ अनुसार समयानुकूल सांगठनिक सुदृढीकरण, जनशक्तिको विकास,  स्रोतसाधनको उचित व्यवस्थापन तथा प्रविधिको उच्चतम प्रयोगलाई संस्थागत गरिनेछ ।’ 

 प्रधानसेनापति शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चित, अस्थिर, तरल र जटिल रहेको विश्लेषण गर्दै संवैधानिक दायित्वअनुसार यसको सामना गर्ने उद्घोष गरे । ‘नेपालको संविधानले नेपाली सेनालाई देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा तथा जगेर्ना गर्न महत्वपूर्ण दायित्व सुम्पेको छ,’ प्रधानसेनापति शर्माले भने, ‘जस्तोसुकै जटिल परिस्थितिमा समेत संवैधानिक दायित्वलाई प्रभावकारी रूपमा सम्पादन गर्दै राष्ट्र हित र स्वार्थको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि सदैव तयार रहनु सेनाको प्रमुख कर्तव्य हो । ’

नेपाल सरकारद्वारा जारी भएको ‘राष्ट्रिय सुरक्षा नीति’ र ‘राष्ट्रिय प्रतिरक्षा नीति’अनुरूपको ‘राष्ट्रिय सैनिक रणनीति’को निर्माण र वैधता प्राप्त गर्दै सैनिक मूलग्रन्थ पुनरावलोकन गर्ने पनि प्रधानसेनापतिले बताए । ‘यिनै नीति, रणनीति र मूलग्रन्थलाई आधार मानेर ३ जोड १ कमान्डको सफल कार्यान्वयन गरिँदै लगिनेछ,’ प्रधानसेनापति शर्माले भने । 

अस्पताल र अक्सिजन प्लान्ट स्थापना गर्ने घोषणा
प्रधानसेनापति शर्माले स्वास्थ्य क्षेत्रमा सेवा विस्तारका लागि लुम्बिनी प्रदेशमा २५ शय्याको फिल्ड अस्पताल स्थापना गर्ने घोषणा गरे । उनले उक्त अस्पताल आगामी सेना दिवस २०७९ बाट सञ्चालन गर्ने पनि बताए । ‘वीरेन्द्र अस्पतालमा मुटुरोग निदान र उपचारको लागि क्याथ ल्याब स्थापना गरिनेछ,’ उनले भने, ‘त्रि–चन्द्र मिलिटरी अस्पतालको सुविधा विस्तार गरिनुका साथै वीरेन्द्र अस्पताल र उपत्यकाबाहिर अक्सिजन प्लान्टको स्थापना गरिनेछ ।’

‘कल्याणकारी निवृत्तिभरणमा पुनरावलोकन गरी  ६० वर्ष उमेर पुगेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेकाहरूलाई वार्षिक रूपमा रु.५,०००।– मा वृद्धि गरी २०७८ असोज १ गतेदेखि वार्षिक रु.१२,०००।– उपलब्ध   हुनेछ,’ प्रधानसेनापतिले भने, ‘द्वन्दमा वीरगति प्राप्त गर्ने तथा कर्तव्यपालनाको सिलसिलामा मृत्यु हुने सकलदर्जाका पारिवारिक निवृत्तिभरणमा रहेका करिब ८०० जना एकल महिलाहरूको निवृत्तिभरण रकममा मासिक रु. ५००।– का दरले थप गरी क्रमशः रु.३,५००।– र रु.२,५००।– उपलब्ध  हुनेछ । साथै, द्वन्द्वमा घाइते तथा अपाङ्गता भएका सकलदर्जाहरूलाई चारपांग्रे स्कुटर उपलब्ध गराइनेछ ।’ 

१० वर्ष काम गरेका सैनिकलाई आवास कर्जा 
प्रधानसेनापति शर्माले सेनामा १० (दश) वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेका सकलदर्जाहरूलाई आवास निर्माणको लागि रु.२५ लाखसम्म सहुलियतपूर्ण ब्याजदरमा आवास कर्जा उपलब्ध गराउने घोषणा गरे । कल्याणकारी यातायात सुविधा प्रदान गर्न बहालवाला सकलदर्जाहरूलाई वर्षमा १ पटक घर बिदा जाँदा निःशुल्क यातायात सुविधा उपलब्ध गराइने पनि उनको घोषणा थियो । 

छात्रवृत्ति कोटा बढ्यो
प्रधानसेनापति शर्माले सैनिक कमान्ड तथा स्टाफ तालिमको शिक्षार्थी कोटा पुनरावलोकन गरी उक्त तालिमको लागि सेनाको शिक्षार्थी संख्या ५७ जनामा २० थप गरी जम्मा ७७ बनाइने घोषणा गरे । ‘अन्य सुरक्षा निकायको हकमा ३ वटा र विभिन्न मित्रराष्ट्रहरूको लागि राखिएको १२ वटा कोटा यथावत राखिनेछ । यसरी कोटा थप गरेपछि कमान्ड तथा स्टाफ तालिमको अधिकतम शिक्षार्थी संख्या ९२ कायम हुनेछ,’ शर्माले भने । 

फास्टट्रयाक सम्पन्न गर्न विशेष पहल
प्रधानसेनापति शर्माले रणनीतिक दृष्टिकोणबाट महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माण कार्य समयमै सम्पन्न गर्न प्रयास गर्ने बताए । त्यसैगरी, नेपाली सेनालाई जिम्मेवारी प्राप्त अन्य महत्वपूर्ण करिडोर निर्माणका कार्यहरूलाई पनि समयमै सम्पन्न गरिनेछ,’ उनले भने । प्रधानसेनापति शर्माले संयुक्त राष्ट्रसंघीय मिसनमा नेपाली सेनाको गुणात्मक सहभागिता वृद्धि गर्दै लैजाने पनि बताए ।