
संघीय संसद्को दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।
संघीय संसदमा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी थपिएका छन् । मंगलबार पत्रकारसँग कुरा गर्दै संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिए ।
सबै दलका नेताहरू अगाडि रहने गरी र अन्य सदस्यहरू क्रमशः पछाडि रहने गरी दूरी कायम गरेर सिटको व्यवस्थापना मिलाइएको उनले बताए । प्रतिनिधिसभामा सभामुखको दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष रहने गरी व्यवस्था मिलाएको उनले बताए ।
सत्तापक्षतर्फ बीचबाट ठूलो दल र क्रमशः सदस्य संख्याको आधारमा साना दल रहने उनले बताए । सत्ता पक्षतर्फ दायाँतर्फबाट क्रमशः कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहनेछन् ।
प्रतिपक्षतर्फ क्रमशः एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहने गरी सिटको व्यवस्थापन मिलाइएको छ । स्वतन्त्र सांसदका लागि बीचमा सिटको व्यवस्थापन गरिएको छ ।
राष्ट्रिय सभातर्फ भने राष्ट्रिय सभा अध्यक्षको दायाँतर्फ सत्तापक्ष र बायाँतर्फ प्रतिपक्ष रहने गरी व्यवस्था मिलाइएको छ । सत्ता पक्षतर्फ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा रहनेछन् भने प्रतिपक्षतर्फ एमाले र लोकतान्त्रिक समाजवादी पार्टी रहने गरी व्यवस्था मिलाइएको उनले बताए ।
मनोनीत सांसदहरू सदाझैँ मन्त्री रहने सिटभन्दा पछाडि रहने र स्वतन्त्र सांसद प्रमुख प्रतिपक्षीको दायाँतर्फ, सत्तापक्ष एकीकृत समाजवादीभन्दा ठिक पछाडि रहने गरी व्यवस्थापन गरिएको धमलाले जानकारी दिए ।
बुधबारको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने उनले बताए । शोक प्रस्ताव तथा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको रहेको उनले बताए ।
संसद्को यस अधिवेशनमा संसदमा पेस भइसकेका १३ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ ।