मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ १८ शुक्रबार १०:०४:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भौतिक रूपमा विद्यालय खोल्ने स्थानीय तहहरूको तयारी, तर बालबालिकालाई संक्रमणबाट जोगाउने कसरी ?

Read Time : > 3 मिनेट
२०७८ भदौ १८ शुक्रबार १०:०४:००

कोभिडको संक्रमण दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै देशभरका स्थानीय तह विद्यालय भौतिक रूपमा सञ्चालनका लागि तयारी गरेका छन् । विद्यालय खोल्न प्रशासन तयार भए पनि लामो समयदेखि विद्यालय जान नपाएका बालबालिकालाई संक्रमणबाट जोगाउन भने चुनौती छ । कोभिडको संक्रमणको जोखिम रहिरहेकाले व्यवस्थापन पक्षलाई बलियो बनाएर मात्र भौतिक रूपमा कक्षा सञ्चालन गर्न विज्ञहरूको सुझाब छ । 

वैकुण्ठ अर्याल, महानिर्देशक शिक्षा तथा मानव स्रोत विकास केन्द्र

पाठ्यपुस्तक सबैको हातमा पुगेको छ, कोभिडको जोखिम कम भएका ठाउँमा डिसिसिएमसीसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिन्छ ।

अनलाइन तथा भर्चुअल कक्षा प्रभावकारी नभएपछि शिक्षा मन्त्रालयदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले समेत विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार कक्षा सञ्चालन गर्न प्रोत्साहन गरेका छन् । कोभिडको संकट मूल्यांकन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा स्मार्ट लकडाउनलाई अनुशरण गरी भौतिक रूपमा कक्षा सञ्चालन गर्दै छन् । काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले समेत सर्तसहित भौतिक कक्षा सञ्चालनको बाटो खुला गरेका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले कोभिडको जोखिम कहिलेसम्म रहने टुंगो नभएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रूपमा कक्षा सञ्चालन गर्न सहजीकरण गर्ने बताए । ‘पाठ्यपुस्तक सबैको हातमा पुगेको छ, कोभिडको जोखिम कम भएका ठाउँमा डिसिसिएमसीसँग समन्वय गरी विद्यालय सञ्चालन गर्न सकिन्छ,’ उनले भने । अर्यालले भौतिक रूपमा विद्यालय सञ्चालनका लागि स्थानीय तहलाई सहजीकरण गर्ने बताए । विद्यालय सञ्चालन कार्यढाँचाअनुसार विद्यालय सञ्चालन गर्न उपयुक्त हुने उनको भनाइ छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निषेधाज्ञाको प्रकृतिअनुसार शैक्षिक क्रियाकलापहरूको कार्यान्वयन कार्ययोजना एकीकृत रूपमा स्मार्ट लकडाउन कार्ययोजनामा समावेश गरी विद्यालयसम्म पठाएको छ । शिक्षा मन्त्रालयले तयार गरी पठाएको कार्ययोजनामा जोखिमको अवस्थाअनुसार क्रियाकलाप गर्न सकिने गरी कार्ययोजना बनाएको छ । सिसिएमसीलाई जानकारी गराएर कार्ययोजना बनाइ सर्कुलर गरेको हो । कार्ययोजनामा कडा र मिश्रित लकडाउन भएको स्थानमा प्रविधिको प्रयोग गरी सिकाइ क्रियाकलाप गर्ने उल्लेख छ । त्यसैगरी सफ्ट लकडाउन र सामान्य लकडाउन भएको भौतिक दूरी कायम गरी सिकाइ क्रियाकलाप गर्न सकिने उल्लेख छ । कार्ययोजनामा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसार मापदण्डहरू तथा प्रक्रिया पूरा गरी पठनपाठनका क्रियाकलाप सञ्चालन गर्ने उल्लेख छ । 

स्मार्ट लकडाउनका प्रावधानभित्र रहेर विद्यालय सञ्चालन गर्न सक्ने अवस्था देखिएमा स्थानीय तहहरूले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमा सिफारिस गरी अनुमति पाएमा मात्र सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । स्थानीय तहको सिफारिसमा जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको अनुमति भएमा सम्बन्धित स्थानीय तहको निर्णय तथा सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गरी विद्यालयहरू सञ्चालन हुन पाउने उल्लेख गरेका छन् । 

यसरी जोगाउन सकिन्छ विद्यालयमा बालबालिका : डा. शेरबहादुर पुन, वरिष्ठ सरुवा रोग विशेषज्ञ

- अहिले विद्यालय खोल्दा जोखिम छ । त्यसैले जोखिमका आधारमा विद्यालयले व्यवस्थापनमा तयारी गर्नुपर्छ । 
- विद्यालयमा बालबालिका एकले अर्कोलाई कोभिड संक्रमण सार्ने सम्भावना धेरै हुन्छ । कसैलाई कोभिडको लक्षण छ÷छैन हेर्नुपर्छ । कसैलाई कोभिड पजिटिभ देखिएमा कक्षा र विद्यालय बन्द गर्नुपर्छ ।
- कक्षाकोठामा पढ्दा मास्क ठीकसँग लगाएको छ कि छैन, दूरी कायम छ–छैन हेरेर व्यवस्थापन गर्नुपर्छ । 
- कक्षा चिच्याएर पढ्ने र पढाउने शैली परिवर्तन गर्नुपर्छ । यदि कसैलाई कोभिड छ भने चिच्याउँदा सर्ने जोखिम बढी हुन्छ ।
- सबै चिच्याएर पढ्ने पढाउनेभन्दा लेखेर, सामग्री देखाएर क्रियाकलाप गर्नुपर्छ । 
- कक्षाकोठामा हावा फैलिने गरी व्यवस्थापन गर्नुपर्छ 
- कोभिडको समयमा कुन विद्यालयले कोरोना फैलिन नदिई नियमित कक्षा सञ्चालन गर्‍यो भन्ने रेकर्ड राखेर आगामी दिनमा त्यस मोडेललाई अनुशरण गर्नुपर्छ ।

यस्तो छ विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७
जोखिम मूल्यांकन गरी स्थानीय तहले विद्यालय खोल्न र बन्द गर्न सक्ने 

शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ जारी गरी कोभिडको अवस्था मूल्यांकन गरी स्थानीय तहबाटै विद्यालय खोल्ने वा बन्द गर्न सक्ने व्यवस्था गरेको छ । विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरेको जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमा रहे पनि संघको निर्देशनमा बन्द भएका शैक्षिक संस्था खोल्न शिक्षा मन्त्रालयले बाटो तय गरिदिएको छ । विद्यालय सञ्चालनको कार्य स्थगित वा बन्द गर्नुपरेमा विद्यालयले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार वैकल्पिक विधि प्रयोग गरी सिकाइलाई निरन्तरता दिनुपर्नेछ ।

कार्यढाँचामा कोभिडको संक्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरी विद्यालयलाई भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याई बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने वा जोखिमको अवस्था आएमा बन्द गर्ने र अवस्था सहज हुँदा पुनः सञ्चालन गर्न सकिनेछ । देशभरका सबै सार्वजनिक तथा निजी लगानीका विद्यालयहरूमा विद्यालय सञ्चालनको तयारी तथा विद्यालय सञ्चालनका क्रममा गर्नुपर्ने न्यूनतम क्रियाकलापहरूको खाका कार्यढाँचामा उल्लेख छ ।

कक्षा सञ्चालनका लागि यस्ता छन् विद्यालयलाई ७ विकल्प
- संक्रमणको जोखिम, विद्यार्थी संख्या तथा उपलब्ध भौतिक पूर्वाधारसमेत हेरी व्यवस्थापनमा सहजताका लागि स्थानीय तहले अपनाउन सक्ने सातवटा विकल्प कार्यढाँचामा दिइएको छ । 
- सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने
- अलग–अलग समय (सिफ्ट) मा अलग अलग कक्षा वा तह सञ्चालन गर्ने
- विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि/घन्टी छोट्याउने
- अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले (जोखिम र सहजतालाई हेरी) कक्षा सुरु गर्ने 
- कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरू कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने
- कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने
- सातामा केही दिन, दिनमा केही घन्टा सञ्चालन गर्ने