१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
डा. केदार कार्की
२o८१ बैशाख २२ शनिबार १o:४६:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

जलवायु परिवर्तनका सम्भावित प्रभाव

Read Time : > 2 मिनेट
डा. केदार कार्की
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४६:oo

वैश्विक जलवायु परिवर्तनका कारण भारी वर्षा भई बाढी, भुस्खलनजस्ता समस्या पैदा हुनेछ । पानीको गुणस्तरमा गिरावट आउनेछ ।

जलवायु परिवर्तनको प्रमुख कारण वैश्विक तापमान वृद्धि हुनु हो । जसलाई हरितगृह प्रभाव पनि भनिन्छ । पृथ्वीको सतहमा ठोक्किएर फर्किने सूर्यका किरणले वातावरणमा उपस्थित केही ग्यासलाई अवशोषित गरी लिन्छन् र परिणामस्वरूप पृथ्वीको तापमानमा वृद्धि हुन्छ । कार्बनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन्स, नाइट्रस अक्साइड, क्षोभमण्डलीय ओजोन ती मुख्य ग्यास हुन्, जुन हरित गृहप्रभावका लागि उत्तरदायी हुन्छन् । वातावरणमा यी ग्यासहरूको निरन्तर बढ्दो मात्राले वैश्विक जलवायु परिवर्तनको खतरा दिनदिनै बढ्दै गइरहेको छ । हरितगृह प्रभावले गर्दा अनेक क्षेत्रहरूमा औसत तापमानमा बढोत्तरी भएको देखिएको छ ।

वैज्ञानिकहरूको भविष्यवाणीअनुसार वर्ष २०२० सम्म दुनियाँको तापमान पछिल्लो हजार वर्षहरूको तुलनामा सर्वाधिक हुनेछ । अन्तरशासकीय जलवायु परिवर्तन पैनलले वर्ष १९९५ मा भविष्यवाणी गरेका थिए कि यदि मौजुदा प्रवृत्ति जारी रह्यो भने २१औँ शताब्दीमा तापमानमा ३.५ देखि १० डिग्री सेल्सियससम्म वृद्धि हुनेछ । बीसौँ शताब्दीमा विश्वको सतहको औसत तापमान ०.६ डिग्री सेल्सियससम्म बढेको छ । यस शताब्दीको पहिलो दशक (२०००–२००९) अहिलेसम्मको सबैभन्दा उष्ण दशक रहेको छ, जसले यो साबित गर्छ कि हरितगृह प्रभावको परिणामस्वरूप जलवायु परिवर्तनको वेला सुरु भइसकेको छ । वैश्विक जलवायु परिवर्तनका अनेक प्रभाव हुनेछन्, जसमध्ये धेरैजसो हानिकारक हुनेछन् । 

वैश्विक जलवायु परिवर्तनका सम्भावित प्रभाव : जलवायु परिवर्तनको प्रभाव मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार जलवायुमा तापमानका कारण श्वास तथा हृदयसम्बन्धी रोगहरूमा वृद्धि हुनेछ । दुनियाँका विकासशील देशहरूमा झाडापखाला, हैजा, क्षयरोग, पित ज्वरो तथा म्यादी ज्वरोजस्ता संक्रामक रोगहरूको बारम्बारतामा वृद्धि हुनेछ । किनकि रोग फैलाउने खाले रोगबाहहरूको गुणन एवं विस्तारमा तापमान एवं वर्षाको महत्वपूर्ण भूमिका हुन्छ । अतः दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिण–पूर्व एसियामा लामखुट्टेहरूबाट फैलने रोगहरू, जस्तै– मलेरिया, डेंगु, पहेंलो ज्वरो तथा जापानी ज्वरोको प्रकोपमा बढोत्तरीका कारण यी रोगहरूका कारण हुने मृत्युदरमा वृद्धि हुनेछ ।

यसबाहेक हात्तीपाइले तथा चिकन गुनियाको पनि प्रकोप बढ्नेछ । लामखुट्टेजनित रोगहरूको विस्तार उत्तरी अमेरिका तथा युरोपका चिसो देशहरूमा पनि हुनेछ । हनम्रो आफ्नै परिवेशमा विगतमा तराईमा मात्र देखिने जापानी ज्वरो, डेंगु, मलेरिया हिजोआज पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि नियमित देखिन थाल्नुले यो पुष्टि गर्छ । मानव स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभावले गर्दा एउटा ठूलो जनसंख्या विस्थापित हुनेछ, जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ । 

जलवायु परिवर्तनको फलस्वरूप रोगाणुहरूमा बढोत्तरीका साथसाथै यिनका नयाँ–नयाँ प्रजाति विकसित हुन्छन्, जसको परिणामस्वरूप बालिनालीको उत्पादकत्वमा विपरीत प्रभाव पर्छ । बालिनालीका किरा फट्याङ्ग्राका शत्रुजीव तथा रोगाणुबाट सुरक्षाका लागि नाशी जीवननाशकहरूको उपयोग मात्रामा बढोत्तरी हुन्छ, जसले गर्दा वातावरण प्रदूषित हुनेछ । यसका साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ ।

वैश्विक जलवायु परिवर्तनका कारण भारी वर्षा भई बाढी, भुस्खलन जस्ता समस्या पैदा हुन्छ । पानीको गुणस्तरमा गिरावट आउनेछ । वैश्विक जलवायु परिवर्तनले जलस्रोतको वितरणमा पनि प्रभाव पर्नेछ । उच्च अक्षांश भएका देश तथा दक्षिण–पूर्वी एसियाका जलस्रोतमा पानीको अधिकता हुनेछ, जबकि मध्यएसियामा पानीको कमी हुनेछ । न्यून अक्षांश भएका देशमा पनि पानीको कमी हुनेछ । 

जलवायु परिवर्तनका कारण ध्रुवीय हिउँ पग्लिनाले विश्वको औसत समुद्री जलस्तर एक्काइसौँ शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमिसम्म बढ्ने सम्भावना छ, जसबाट दुनियाँको आधीभन्दा बढी आवादीमाथि विपरीत प्रभाव पर्नेछ । बंगलादेशको गंगा–ब्रह्मपुत्र डेल्टा, मिश्रको निल डेल्टा तथा मार्सलद्वीप र मालदिभ्ससहित अनेकौँ साना द्वीपको अस्तित्व समाप्त हुनेछ । जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा पनि असर पर्नेछ ।

संयुक्त राज्य अमेरिकामा बालिनालीको उत्पादकत्वमा कमी आउनेछ, जबकि उत्तरी र पूर्वी अफ्रिका, मध्यपश्चिमका देशहरू, नेपाल, मेक्सिकोलगायत देशमा गर्मी तथा चिस्यानले गर्दा बालिनालीको उत्पादकत्वमा बढोत्तरी हुनेछ । वर्षाजलको उपलब्धताका आधारमा धानको क्षेत्रफल बढ्नेछ । वातावरणमा ज्यादा ऊर्जाको संलग्नताले वैश्विक वायु पद्धतिमा पनि परिवर्तन हुनेछ । वायु पद्धतिमा परिवर्तनको परिणामस्वरूप वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिहरूमा बढी वर्षा हुनेछ, जबकि यसको विपरीत पारम्परिक कृषि हुने क्षेत्रहरूमा कम वर्षा हुनेछ । 

यस किसिमको परिवर्तनले ठूलो मात्रामा मानवीय बसाइँसराइलाई प्रोत्साहित गर्नेछ । जसले मानव समाजको सामाजिक, आर्थिक तथा राजनीतिक ढाँचालाई प्रभावित गर्नेछ । वैश्विक जलवायु परिवर्तनको फलस्वरूप बाढी, खडेरी, आँधी, तुफान, टोर्नाडोजस्ता प्राकृतिक विपत्को वृद्धिका कारण अन्न उत्पादनमा गिरावट आउनेछ । 

स्थानीय खाद्यान्न उत्पादनमा कमी आउनेछ । परिणामतः भोकमरी र कुपोषणका कारण स्वास्थ्यमा दीर्घकालीन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रमा समुदायबीच द्वन्द्व बढ्नेछ । जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । अब पनि जलवायु परिवर्तनबारे हामी सबैले सोचेनौँ भने भोलिका दिनमा जलवायु परिवर्तनले गर्दा पृथ्वीमा रहने सबै प्राणीलाई असर पुर्‍याउनेछ । 

ad
ad