मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक २ मंगलबार
  • Tuesday, 19 October, 2021
डा. केदार कार्की
२०७८ असोज २६ मंगलबार १०:३३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

दसैँमा मासु सुरक्षित गर्ने कसरी ?

Read Time : > 2 मिनेट
डा. केदार कार्की
२०७८ असोज २६ मंगलबार १०:३३:००

मासुलाई अलिक लामो समयसम्म सुरक्षित राख्ने हो भने शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्छ


उच्च गुणस्तरीय पौष्टिक तत्व पाइने हुनाले विश्वमा पशुजन्य प्रोटिनको स्रोतका रूपमा मासुलाई उत्कृष्ट परिकारका रूपमा रुचाएको पाइन्छ । विश्वमै मासुको उपभोग बढ्दै गएको देखिन्छ, मासुको उपभोग बढ्नु भनेको समाजको आर्थिक स्थिति बढेको सूचक पनि मानिन्छ । सन् १९६० मा प्रतिवर्ष प्रतिव्यक्ति १० केजी मासु खपत हुने गरेकोमा सन् २००० मा यो बढेर २६ केजी पुगेको तथ्यांक भेटिन्छ । त्यसैगरी सन् २०३० सम्ममा यो परिमाण ३६ केजीभन्दा बढी हुन सक्ने प्रक्षेपण गरिएको छ । 

अर्कातर्फ आजको मासु उत्पादन, भण्डारण, बिक्री वितरण र उपभोग शृंखलामा वार्षिक करिब ३.५ अर्ब केजी परिमाणको मासु बिग्रिएर खेर जाने गरेको छ । जसको प्रभाव मासु बजारको आर्थिक गतिविधिका साथै वातावरणीय प्रदूषणमा पनि पर्ने गरेको देखिन्छ । यसरी मासु बिग्रेर खेर जानुको प्रमुख कारक जीवाणुजन्य प्रदूषण र संक्रमणलाई मानिन्छ । यदि यसरी बिग्रेर खेर जाने मासुमध्ये पाँच प्रतिशतलाई मात्र राम्रोसँग सुरक्षित भण्डारण गर्ने हो भने करिब तीन लाख २० हजार मानिसलाई आवश्यक पर्ने मासु आपूर्ति सहज रूपमा गर्न सकिन्छ । 

यतिखेर नेपालीको घरघरमा दसैँ आइसकेको छ । दसैँ भन्नासाथ मासुका विविध परिकारको पनि सम्झना आइहाल्छ । दसैँमा आफू र आफ्नो परिवारलाई पुग्नेजति मासु पसलबाट किनेर मात्र हामीलाई पुग्दैन । आफ्नो धर्म, रीति, परम्परा आदिअनुसार आफ्नो गच्छेले भ्याए पनि नभ्याए पनि कुनै न कुनै पशुपन्छी देवीका नाममा बलि चढाउनैपर्छ । फूलपाती, महाअष्टमी र महानवमीमा शक्तिपीठहरूमा पुगेर हाँस, कुखुरा, बोका या राँगाको बलि चढाउने परम्परा कत्ति पनि घटेको छैन । महाअष्टमीका दिन घरघरमै घोर्ले खसी काट्ने चलन कायमै छ । यसरी काटिएका पशुपन्छीको मासु सामान्यतः एकैछाक या एकदिनमा खपत हुँदैन । त्यसैले उचित तरिका अपनाएर त्यसलाई अलि लामो समयका लागि सुरक्षित भण्डारण गर्नुपर्ने हुन्छ ।

मासुलाई अलिक लामो समयसम्म सुरक्षित राख्ने हो भने शून्य डिग्री फरेनहाइट वा त्योभन्दा कम तापक्रममा भण्डारण गर्नुपर्छ । त्यसो गरियो भने मासुजन्य तन्तुमा हुने सबैखाले गतिविधि निष्क्रिय हुन्छ । मासुको गुणस्तर बिगार्न सक्ने सबै खाले विषाणु, जीवाणु तथा ढुसीजन्य प्रदूषण र संक्रमण हुन पाउँदैन । चिस्याएर राखिएको मासु अलिकति बासीजस्तो लाग्न सक्छ, तर त्यो उपभोगका लागि पूर्णतः सुरक्षित हुन्छ । 

सामान्यतः यसरी भण्डारण गरिएको मासुमध्ये रांँगाको मासु १२ महिनासम्म सुरक्षित रहन सक्छ भने बंगुर या बँदेलको मासु ६ महिनासम्म उपभोगयोग्य रहन्छ । खसी, बोका, भेडा या च्यांग्राको मासु ६ देखि ९ महिनासम्म सुरक्षित रहन्छ भने कुखुराको मासु ३ देखि ६ महिनासम्म राख्न सकिन्छ ।

मासुलाई अत्यधिक तापक्रममा पकाउँदा जनस्वास्थ्यलाई असर गर्ने सबै खाले जीवाणु या विषाणु नष्ट हुन्छन् । यसबाहेक मासुलाई १५० देखि १६० डिग्री फरेनहाइटको तामपक्रममा तताएर पनि सुरक्षित गर्न सकिन्छ । यस तापक्रममा सबै नभए पनि धेरै जीवाणु र विषाणु नष्ट हुन्छन् । यसरी पकाएका मासुका परिकार फ्रिजमा राखी संरक्षण गर्नुपर्छ । यसबाहेक मासुलाई जल विग्रहीकरण गरी सुरक्षित राख्न पनि सकिन्छ । त्यसरी राखिएको मासु भनेको सुकुटी हो । 

यसबाहेक हाम्रो परम्परागत मरमसलाको प्रयोगले पनि मासु सुरक्षित राख्न सकिन्छ । यी मरमसालाले मासु सुरक्षित मात्र गर्दैनन्, बरु मासुको स्वाद पनि मिठो बनाउँछन् । हेर्दैमा खाऊँ–खाऊँ लाग्ने बनाउँछन् । साथै धेरै दिन सुरक्षित राख्न मद्दत गर्छन् । यसरी प्रयोग गर्ने मसला प्राकृतिक स्वरूपमा भने हुनुपर्छ । 
यसबाहेक मासुलाई अम्लीकरण गरेर पनि संरक्षित गर्न सकिन्छ । यसो गर्दा मासुमा हुने कार्बोहाड्रेटलाई अम्ल अर्थात् एसिडमा परिवर्तन गर्नुपर्छ । जसको असरबाट मासुमा हुने जीवाणु र विषाणुको संख्या वृद्धि हुँदैन, जसले मासु बिग्रनबाट बचाउँछ पनि ।

अन्यत्रका अभिलेख हेर्ने हो भने मासुलाई विकिरणको माध्यमबाट पनि संरक्षित गरिन्छ । त्यो प्रविधिको चर्चा अलि पछि गरौँला । यस प्रविधिको प्रयोग पनि माथि भने जस्तै हो । दसैँमा तपाईंले वध गरेको या बलि चढाएको पशुपन्छीबाट प्राप्त हुने मासु सकेसम्म चाँडै पकाउनुहोस् । तत्काल पकाउन झन्झट लागे डिप फ्रिज वा फ्रिजमा राख्नुहोस् । पकाएको मासु राम्रोसित छोपेर फ्रिजमा राख्नुहोस् र खाना खाने वेलामा राम्रोसित तताउने गर्नुहोस् । यसो गरी खाएको मासुले स्वास्थ्यमा कुनै असर गर्दैन र चाडबाडको स्वादिलो खान्कीबाट सुरक्षित रहन सकिन्छ ।