Skip This
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको  मूल्य घट्दा पनि नेपालमा बढेको बढ्यै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
अजित अधिकारी काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o८:o६:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको  मूल्य घट्दा पनि नेपालमा बढेको बढ्यै

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o८:o६:oo

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य ७४.५३ डलर प्रतिब्यारेल हुँदा नेपालमा पेट्रोलको मूल्य १२८ पुर्‍याइएको थियो, अहिले अन्तर्राष्ट्रिय मूल्य ६८.४० डलरमा झर्दा नेपालमा भने पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुर्‍याइएको छ, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइयो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा पनि  नेपालमा भने बढेको बढ्यै छ । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ वृद्धि गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमले एक महिनापछि सबै पेट्रोलियम पदार्थको मूल्य एकैपटक वृद्धि गरेको हो ।

मूल्यवृद्धि गरेर पेट्रोल एक सय ३०, डिजेल र मट्टीतेल समान एक सय १३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पु¥याइएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ पुगेको छ । यसअघि ३० असारमा निगमले मूल्यवृद्धि गरेको थियो । यसपटक मूल्यवृद्धि गर्नुको मनासिब कारण पनि देखाइएको छैन । निगम प्रवक्ता विनीतमणि उपाध्यायले निगमको घाटा चुलिएकाले मूल्यवृद्धि गरेको बताए । ‘जुन मूल्यमा तेल किनेर हामीले बेचिरहेका छौँ यसमा निरन्तर घाटा व्यहोरिरहेका छौँ,’ उनले भने, ‘त्यसैले अहिले बाध्य भएर मूल्य बढाइएको हो ।’

उनले डलरको तुलनामा नेपाली मूल्य अवमूल्यन भएको भुक्तानी गर्नुपर्ने रकम बढ्न गई घाटामा चाप बढेको बताए । आयल निगमले मूल्यवृद्धिपछि पनि आगामी १५ दिनमा ९६ करोड रुपैयाँ नोक्सान हुने प्रक्षेपण गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा घट्दा नेपालमा बढ्यो
यो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब ६.१२ डलर प्रतिब्यारेल घटेको छ । आयल निगमले पछिल्लोपटक ३० असार (१४ जुलाई)मा मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ७४.५२ डलर प्रतिब्यारेल थियो । एक महिनापछि ७ भदौ (२३ अगस्ट)मा पुनः मूल्यवृद्धि गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ ६.१२ डलरले घटेर ६८.४० डलर प्रतिब्यारेल कायम भएको छ । 

मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पनि आयल निगमलाई पछिल्लोपटक ३२ साउनमा नयाँ मूल्य पठाउँदा पेट्रोल र डिजेल क्रमशः ३० पैसा र ७५ पैसा घटाएर पठाएको छ । त्यसअघि १७ साउनमा पनि नयाँ मूल्य पठाउँदा अघिल्लोको तुलनामा पेट्रोल ९९ पैसा र डिजेल एक रुपैयाँ चार पैसा घटेर आएको थियो ।

यसरी एक महिनाको अवधिमा आइओसीले पेट्रोल एक रुपैयाँ २९ पैसा र डिजेल एक रुपैयाँ ७९ पैसा सस्तो मूल्यमा पठाइसकेको छ । तर, निगमले यसबीचमा दुईपटक गरेर पेट्रोल र डिजेलमा चार–चार रुपैयाँ मूल्य बढाएको छ ।

खासगरी अमेरिकाले अहिले कच्चा तेलको भण्डारण बढाएको छ । त्यस्तै, अमेरिकी अर्थतन्त्र नकारात्मक बन्दै गएको र कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्दै गर्दा फेरि एकपटक विश्व अर्थतन्त्र धराशयी हुने तथा पेट्रोलियमको माग घट्ने प्रक्षेपणका आधारमा ब्रेन्टक्रुड आयलको मूल्य घटिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दा छिमेकी भारतमा पनि तेल सस्तिन थालेको छ । पछिल्लो एक सातामा मात्रै भारतमा आइओसीले डिजेलको मूल्य चारपटक गरेर भारु ८० पैसा घटाइसकेको छ भने पेट्रोलको मूल्य स्थिर राखेको छ । तर, नेपाली बजारमा आयल निगमले अन्तर्राष्ट्रिय बजारको घट्दो मूल्यअनुसार सहुलियत दिनुको सट्टा मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेको छ ।

अझै घाटा भएको दाबी
आयल निगमले एक विज्ञप्ति जारी गरेर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गर्नुपरेको तर्क गरेको छ । मूल्यवृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड नौ लाख रुपैयाँ नोक्सान हुने प्रवक्ता उपाध्यायले दाबी गरे । उनका अनुसार मूल्यवृद्धि नगरेको भए निगमले एक अर्ब १५ करोड २२ लाख रुपैयाँ घाटा सहनुपर्ने स्थिति थियो । उनले भने, ‘मूल्यवृद्धिले केही राहत भएर घाटा घटेको मात्र हो । अहिलेको मूल्यवृद्धिले हामीलाई नाफामा लगेको छैन ।’

मूल्यवृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ र डिजेलमा २.६४ रुपैयाँ प्रतिलिटर नोक्सान रहेको दाबी गरिएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यासमा सबैभन्दा बढी प्रतिसिलिन्डर चार सय २० रुपैयाँ नोक्सान रहेको निगमको दाबी छ ।
 

ad
ad