१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नरेन्द्रजंग पिटर
२०७८ भदौ १ मंगलबार १०:२८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

युद्ध र शान्तिबीचको दोरम्बा

Read Time : > 4 मिनेट
नरेन्द्रजंग पिटर
२०७८ भदौ १ मंगलबार १०:२८:००

माओवादी र सरकारबीचको दोस्रो शान्तिवार्ताका क्रममा भएको दोरम्बा घटना युद्धमा हुने द्वन्द्वरत पक्षको सम्झौताविरुद्धको नेपाली नजिर हो

डायरीका पाना खोतल्दा १८ वर्षपहिले दोस्रो शान्तिवार्ता टुटेको र दोरम्बा हत्याकाण्ड घटेको अहिले पनि याद आउँछ । पंक्तिकार माओवादी–सरकारबीचको पहिलो (बर्दियाको ठाकुरद्वारा रिसोर्ट) र दोस्रो शान्तिवार्ता (नेपालगन्ज र हापुरे, दाङ) वार्ता व्यवस्थापनमा रहेकाले हापुरेमा १ भदौ अर्थात् आजैको दिन टुटेको शान्तिवार्ता विफलताभित्रको निमित्त प्रसंग यहाँ प्रस्तुत गर्दै छु । जनयुद्धमा दुवै पक्षबाट ज्यान गुमाउनेको संख्या १४ हजार चार सय ४२ रहेको छ । यदि पहिलो वार्ताकालमा समाधान निक्लिएको भए दुई हजार र दोस्रोमा समाधान भएको भए त्यो संख्या पाँच हजारभन्दा कमैै हुने थियो । 

भनिन्छ, युद्ध रक्तपातपूर्ण राजनीति हो भने राजनीति रक्तहीन युद्ध हो । युद्ध र शान्तिबीच अनेकौँ कूटनीतिक अभ्यास भइरहेका हुन्छन् । सामान्यजनले परिणामलाई हेरेर मात्र धारणा बनाउँछन्, परिणामलाई प्रभाव पार्ने विषयतर्फ ध्यान दिँदैनन् । घनघोर युद्धमा पनि ‘ट्र्याक टु’, ‘ट्र्याक थ्री’ मार्फत युद्धरत पक्षबीच वार्ता भई नै रहेको हुन्छ ।

युद्ध र शान्तिभित्रका कथा र उपकथा धेरै हुन्छन् । पश्चिममा हुने वार्ता माओवादी व्यवस्थापनमा हुने हुनाले प्रत्यक्ष वा परोक्ष वार्ताथलोको चयन उसैले गर्नुपथ्र्यो । सरकारी वार्ताकारसमेत भूमिगत शैलीमा वार्ता थलोमा पुग्थे । अनेकौँपटक अनौपचारिक वार्तापछाडि मात्र औपचारिक वार्ता हुन्थे । कैयौँ समझदारी ती वार्ता, सहजकर्ता र सहभागीको भूमिकामा हुन्थ्यो । स्थानीय प्रशासनको समेत जानकारी र नेतृत्व हुँदैनथ्यो । माओवादी वार्ताकारको सुरक्षाका व्यवस्थापकीय जोखिमपूर्ण चुनौती हुन्थे । हामी भेरी–कर्णाली क्षेत्रका भएकाले नेपालगन्जको दायित्व वहन हाम्रो रहन्थ्यो । दाङ, हापुरेको मूल व्यवस्थापनको जिम्मेवारी भने माओवादीको राप्ती विशेष क्षेत्रको थियो । त्यसको मुख्य जिम्मेवारी सन्तोष बुढामगरको थियो ।

औपचारिक वार्ताको थालनीको दुई दिन पहिल्यै अर्थात् वार्ताको लक्षण नेपालगन्जका डा. धवलशमशेर राणाको घरमा सम्पन्न (तत्कालीन एमाले नेता, अहिले भने राप्रपा नेपालका केन्द्रीय नेता) अनौपचारिक वार्ताक्रममै ३० साउनमा देखिइसकिएको थियो । सरकारी वार्ता टोलीका प्रमुख वार्ताकार डा. प्रकाशचन्द्र लोहनी भनिए पनि वास्तविक भूमिकामा कमल थापा नै थिए भन्दा हुन्छ । उनैसँग अनौपचारिक वार्ता हुन्थे । माओवादी वार्ता टोलीमा डा. बाबुराम भट्टराई र कृष्णबहादुर महरा थिए । सरकारी सहजकर्तामा वाम पृष्ठभूमिका कूटनीतिज्ञ शैलेन्द्रकुमार उपाध्याय र पूर्वमुख्यसचिव कर्णध्वज अधिकारी तथा नागरिक समाजका तर्फबाट दमननाथ ढुंगाना र पद्मरत्न तुलाधर थिए । दरबार र सेनाको निर्देशन अधिकारीमार्फत सरकारी टोलीलाई पुग्ने गथ्र्यो । जुन तयारी सेनाको देखिन्थ्यो, त्यो छिटोभन्दा छिटो वार्ता टुंगिएर प्रत्यक्ष द्वन्द्व होस् भन्ने थियो । नेपाललाई द्वन्द्वको कारखाना बनाउनेहरूको लबिङ पनि त्यस्तै थियो । सरकारी वार्ताकार त्यसैको दबाबमा थिए ।

वार्तामा सैन्य नेतृत्वको परोक्ष निर्देशन नै सरकारी निर्णय हुन्थ्यो । हामीले नेपालगन्जबाट सेटलाइट फोन लगेका थिएनौँ, राप्ती क्षेत्रले नै व्यवस्था गर्ला भनेर सोचेका थियौँ, सन्तोषजीहरूले सो व्यवस्था गर्नुभएको रहेनछ । सरकारी टोलीसँग सेटलाइट फोन किरण गिरीसँग थियो । हामीले त्यस फोनबाट सञ्चार सम्बन्ध कायम गर्ने कुरै भएन । सेनाका मान्छे यत्रतत्र सिभिल ड्रेसमा सक्रिय थिए । बारम्बार उनीहरूका अधिकारीसँग संवाद भइरहन्थ्यो । गिरीको सेटलाइटमा पनि खबर आदान–प्रदान भइरहन्थ्यो । अनिष्टका संकेत देखिइरहेका थिए, तर सरकारी पक्ष मौन थियो । उनीहरू माओवादी नै वार्ताबाट हटेको सन्देश दिन चाहन्थे । दिनभरिको वार्तापछाडि म र डा. भट्टराई झन्डै ७ किलोमिटर पश्चिमको पब्लिक बुथमा गएर फोन गरियो । सायद उहाँले अध्यक्ष प्रचण्डसँग वार्ताका विकसित अवस्था रिपोर्ट गर्नुभयो होला भन्ने अनुमान गर्छु । फोनवार्तापछि उहाँ पनि त्यति सहज देखिनुभएन । दोस्रो दिनको वार्ता सुरु हुनासाथ सेनाले युद्धविरामको क्रममा रामेछाप, दोरम्बामा माओवादी नेता बाबुराम लामा र अम्बिका दाहाललगायत २१ जनाको हत्या गरेछ । 

हापुरे वार्ताको दोस्रो दिन सेनाले दोरम्बामा २१ माओवादीको हत्या गरी राजनीतिक नेतृत्वलाई युद्धका लागि दबाब र माओवादीलाई युद्धविराम भंग भएको सन्देश दिएको थियो

त्यो सेनाले राजनीतिक नेतृत्वलाई दिएको प्रत्यक्ष दबाब थियो भने माओवादीलाई युद्धविराम भंग भएको सन्देश । सेनाले युद्धविराम भंग गरिसकेको थियो भने माओवादीलाई हापुरेमा जानकारी नै थिएन । १ भदौमा फेरि नेपालगन्जबाट सरकारी वार्ताटोली र सहजकर्ताहरू हेलिकोप्टरमा हापुरे आइपुगे, वार्ता सुरु भयो । उनीहरूको देहभाषाले परिणामको संकेत गरिसकेको थियो, वार्ताथलोका सम्बन्धमा चिस्यान सुरुवातमै रह्यो । पाहुनालाई ढिँडो र सिस्नुको डिस सर्भ गर्ने मेरो योजना पनि सफल भएन, सिस्नु भने चाखियो । 

जब दिउँसोको रेडियो नेपालको समाचारले रामेछापमा माओवादी र सेनाबीचको भिडन्तमा २१ माओवादीको मृत्यु भएको समाचार दियो, पंक्तिकार वार्ताथलो हापुरेको ह्वाइटहाउसको माथिल्लो तलामा थियो । समाचार सुन्नेबित्तिकै त्यो समाचार माओवादी प्रमुख वार्ताकार डा. भट्टराईसमक्ष पु¥याइयो । तब वार्ता असहज भयो । गर्मागर्मी भयो । सहजकर्ताको प्रयत्न पनि विफल भयो । अन्त्यमा सहजकर्ता, माओवादी र सरकारी तीनै पक्षबाट विषयको गम्भीर प्रकारले अध्ययन गरेर औपचारिक वार्ता गरिने भन्ने सहमति भयो । तत्कालका लागि वार्ता स्थगन गर्ने, अर्को वार्तालाई १० दिनभित्र खबर गर्ने भन्दै हापुरेबाट सरकारी टोलीलाई १ भदौको साँझ फूलमाला र अबिर लगाएर बिदा गरियो ।

दश दिनको समयसीमा राखिनुपछाडि अर्को वार्ता सुरु हुन्छ भनेर दुवै पक्षलाई लागेको त थिएन । युद्धविराम बढाउनुमा सुरक्षित थलोमा माओवादी फर्कनु मुख्य कारण थियो । त्यो सेना, वार्ताकार, सहजकर्ता र आममाओवादी पंक्तिले नबुझ्ने  कुरै थिएन । सरकारी टोली र सहजकर्ता फर्कनेबित्तिकै सम्साँझै हामीले सेल्टर फेरिसकेका थियौँ र सुरक्षाका लागि चौकसी भइसकेका थियौँ । बिहानको प्रथम प्रहरमै डा. भट्टराईले दक्षिणको बाटो समात्नुभयो भने महरा सल्यान हुँदै उकालो लाग्नुभयो ।

पंक्तिकार भने एकजना रुट कमान्डरलाई लिँदै पश्चिम दाङ, सल्यान हुँदै पूर्वी सुर्खेतको बालुवातर्फ लाग्यो । सहमतिको १० दिन पुग्नुभन्दा दुई दिन पहिल्यै पाँचथर बेलबोटेमा लोचनसहित आठजना माओवादीको हत्या भएपछि १० भदौमा युद्धविराम भंग भएको माओवादीले घोषणा ग¥यो । युद्धविराम भंग हुँदा म ढुंगेला बजार छिचल्दै पूर्व लाग्दै थिएँ । लान्तीखोलाले बगाएर पुनर्जीवन पाउँदै घाइते शरीरसाथै जाजरकोटको सिर्केको भेरी–कर्णालीको कार्यालयतर्फ ।

अन्त्यमा, युद्ध वा द्वन्द्वको संक्षिप्त चर्चा गरौँ । युद्ध वा सामाजिक द्वन्द्वले समकालीन समाजको शक्ति सन्तुलनलाई नै असर पारेको हुन्छ, सुन्दरता र कुरूपताको अर्थमा फेरबदल पारेको हुन्छ, त्यसको महत्व राष्ट्रिय मात्रै नभएर क्षेत्रीय भूगोल छिचोलेर अन्तर्राष्ट्रिय महत्वसमेत हुन्छ भने सोच, इतिहास र सामाजिक मनोदशाको पनि त्यति नै स्तरबाट व्यवस्थापन भइरहेको हुन्छ । युद्धकथा एउटा बीभत्स सौन्दर्यको संगालो हो ।

यो प्रियकर हैन, तर समाज विकासको अनिवार्य नियति भने हो । कसैले चाहँदा वा नचाहँदा हुने र नहुने पनि हैन । समाजमा देखिएका र नदेखिएका द्वन्द्व नै समाजलाई सक्रिय पार्ने तत्व हुन् । युद्धमा प्रत्यक्ष सामेल पात्र र निर्णयकर्ताले जुन उचाइबाट देखेका, भोगेका, योजना बनाएका, सामना गरेका हुन्छन्, युद्धमा सामेल भएर पनि त्यसका राजनीतिक, सामरिक, कूटनीतिक पाटो र पक्ष नियाल्न नसकेकाहरू जसले जे देख्यो, भोग्यो, निभायो, अनुभूत ग¥यो, त्यो उसको संवेदनात्मक क्षमताको विषय हो ।

सेना वा सुरक्षातन्त्र जहिले पनि यथास्थितिलाई रक्षा गरिरहन चाहन्छ भने समाजचाहिँ परिवर्तन चाहिरहन्छ । विद्रोहीले त्यही मनोविज्ञानलाई नेतृत्व गरिरहेका हुन्छन् । पहिलो र दोस्रो शान्तिवार्ताका क्रममा सत्ताले प्रगतिशील रूपान्तरण स्विकारेको भए अहिलेको अवस्था भिन्नै हुने थियो । वार्ताबीच १ भदौको दोरम्बा घटना युद्धमा हुने द्वन्द्वरत पक्षको सम्झौताविरुद्धको नेपाली नजिर हो, जसलाई राष्ट्रिय मानवअधिकार आयोगले पूर्वन्यायाधीश कृष्णजंग रायमाझी नेतृत्वमा पूर्वन्यायाधिवक्ता प्रेमबहादुर विष्ट, अधिवक्ता हरि फुँयाल, फोरेन्सिक एक्स्पर्ट डा. हरिहर वस्ती, पत्रकार कनकमणि दीक्षितलगायतको टिमले सेनाको सो घटना सार्वजनिक गरे । त्यही घटना नै दोस्रो शान्तिवार्ता भाँड्ने मुख्य कारण बनेको थियो ।