
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमले कोभिडको महामारी नियन्त्रण गर्न र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको नेपाल उद्योग परिसंघले ठहर गरेको छ । कार्यक्रमले परिसंघले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियानलाई विशेष टेवा दिने परिसंघको बुझाइ छ ।
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा स्वदेशी उत्पादन तथा उपभोगमा जोड दिने र आयात प्रतिस्थापन गर्ने उद्योगमा जोड दिने घोषणा हुनुले नेपाललाई औद्योगिकीकरणको बाटोमा लैजाने र नेपाली वस्तुकै उपभोग वृद्धिमा सहयोग गर्ने परिसंघको विश्वास छ । कार्यक्रमले सरकार र निजी क्षेत्रको सहकार्यका आधारमा लगानीमैत्री वातावरण निर्माण गर्ने घोषणा गरेको छ ।
आन्तरिक लगानीबाटै मझौला तथा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने, विद्युत् खपतका लागि उद्योगधन्दा, कलकारखाना, यातायातको विकास गर्ने घोषणाले देशभित्र नै विद्युत् खपतको वातावरण तयार गर्ने परिसंघको विश्वास छ । परिसंघले पनि आगामी पाँच वर्षमा नेपालको व्यावसायिक सहजता सूचक ३० स्थानले सुधार गर्ने लक्ष्य राखेको छ । अहिले नेपाल ९४औँ स्थानमा छ ।
यसैगरी, संसद्मा विचाराधीन रहेका आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विधेयक तीन महिनाभित्र पारित गर्ने घोषणा सकारात्मक छ । यसले नयाँ कानुन निर्माण भई लगानीको वातावरण निर्माणमा पनि सहयोग गर्नेछ भन्ने परिसंघको बुझाइ छ ।