मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
बयानका लागि सोमबार सदरमुकाम ल्याइएका प्रत्यक्षदर्शी तुइनचालक कल्यान धामी तथा स्थानीय विक्रम रंकोली र अमिता धामी
नयाँ पत्रिका दार्चुला
२०७८ श्रावण १९ मंगलबार १२:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

तुइन काटिएको घटनाका प्रत्यक्षदर्शी भन्छन्– कहाँ फसेजस्तो भयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७८ श्रावण १९ मंगलबार १२:१०:००

गत शुक्रबार जयसिंह महाकालीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकालेको देख्ने प्रत्यक्षदर्शीहरूलाई प्रहरीले जिल्ला सदरमुकाम खलंगा झिकाएको छ । तुइन सञ्चालक कल्यानसिंह धामी तथा जयसिंहपछि तुइन तर्ने पालो पर्खिएका विक्रम रंकोली र अमिता धामीलाई प्रहरीले बयानका लागि झिकाएको हो ।

सदरमुकामबाट सशस्त्र प्रहरीका डिएसपी वीरसिंह धामी र नेपाल प्रहरीका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दलगायतको अनुसन्धान टोली शनिबार घटनास्थल गएको थियो । टोली सोमबार प्रत्यक्षदर्शी तीनजनालाई नै ल्याएर फर्किएको हो । दिउँसो साढे तीन बजे उनीहरूलाई दार्चुला पुलघाटबाट प्रहरीकै गाडीमा राखेर सीधै जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको थियो । 

पत्रकार, अधिकारकर्मी, व्याँसका जनप्रतिनिधि, पीडितका आफन्तलगायतले प्रत्यक्षदर्शीहरूलाई भेट्न कोसिस गरे पनि प्रहरीले आनाकानी गरेका थिए । तर, सबैको दबाबपछि प्रश्न सोध्न नपाइने सर्तमा प्रत्यक्षदर्शीसँग भेट्न दिएको थियो ।
 
अनुसन्धानका लागि सुरक्षा अधिकारी घटनास्थल पठाउने, तर प्रत्यक्षदर्शीलाई सदरमुकाम झिकाएर आफन्तलाई समेत भेट्न नदिएर त्रास फैलाउन खोजेको भन्दै अधिकारकर्मी र पीडित परिवारले आपत्ति जनाएका छन् । 

बेपत्ता जयसिंहका भाइ नरेन्द्रसिंह धामीले भने, ‘भेट्न दिइरहेका थिएनन् । सबैले दबाब दिएपछि मात्रै भेट्न दिइयो ।’ व्याँस गाउँपालिका– ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले पनि प्रत्यक्षदर्शी निकै डराएको बताए । ‘सबैतिरबाट फोन आउन थालेपछि उनीहरू मानसिक तनावमा छन्,’ उनले भने । 

दार्चुलाका डिएसपी मनोहरप्रसाद भट्टले काठमाडौंबाट आउने उच्चस्तरीय छानबिन टोलीले प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गर्ने बताएको छ । ०५९ सालदेखि महाकालीमा तुइन सञ्चालन गरिरहेका कल्याणसिंह धामीको मन बेचैन छ । ‘यत्तिका वर्षसम्म तुइनमार्फत मान्छे तराएँ, अहिलेको जस्तो अवस्था कहिल्यै खेप्नुपरेन,’ सोमबार जिल्ला प्रहरी कार्यालयमा उनी भन्दै थिए, ‘फोन आएको आयै छ, कतिले के सोध्छन्, कतिले के सोध्छन् । मन होसमा छैन, जिउ भारी हुँदै गएको छ । जिन्दगीमा अब यो तुइनको काम गर्दिनँ ।’ 

कल्याणले दबाब महसुस गरिरहँदा उनको दायाँपट्टि रहेका विक्रम रंकोली र बायाँछेउ बसेकी अनिता धामी बोल्न सकिरहेका थिएनन् । उनीहरूका आफन्त ‘घटनाको यथार्थ जे हो, त्यही बोल्नुहोला’ भन्दै ढाडस दिइरहेका थिए ।