१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
बेपत्ता जयसिंह धामीकी पत्नी राजन्ती नाबालक दुई छोराछोरीका साथ
२o८१ बैशाख २४ सोमबार o९:४२:oo
Read Time : > 11 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

दार्चुला घटना : न कूटनीतिक पहल, न पीडितलाई क्षतिपूर्ति

Read Time : > 11 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४२:oo

सीमा क्षेत्रमा भारतीय पक्षबाट हुने गरेका दुव्र्यवहार तथा हत्या घटनामा यसअघि सरकारले भारतसँग राजनीतिक र कूटनीतिक तहमा ध्यानाकर्षण गराउने गरेको थियो । तर, दार्चुला घटना सम्बन्धमा कूटनीतिक संयन्त्रले ‘आवश्यक सक्रियता’ देखाएको छैन । कूटनीतिक मामलाका जानकारहरूले यो घटनाबारे सरकारले राजनीतिक र कूटनीतिक तहबाट भारतको ध्यानाकर्षण गराउनुपर्ने सुझाएका छन् । तर, परराष्ट्र मन्त्रालयका अधिकारीहरूले भने गृह मन्त्रालयद्वारा गठित छानबिन समितिको प्रतिवेदन आएपछि मात्रै आवश्यक पहल थाल्ने बताएका छन् । 

विगतमा यस्ता घटनामा परराष्ट्र मन्त्रालयले भारतीय राजदूतलाई बोलाएर ध्यानाकर्षण गर्ने र दिल्लीस्थित नेपाली दूतावासबाट पनि भारतीय विदेश मन्त्रालयमा ध्यानाकर्षण गराउने चलन थियो । यसपटक दार्चुला र सीमावर्ती भारतीय धार्चुलाका प्रमुख जिल्ला अधिकारीको तहमा मात्रै पत्राचार र संवादमा सीमित भएको छ । सरकारले २७ साउनसम्ममा प्रतिवेदन दिने गरी छानबिन समिति गठन गर्नुको अर्थ अब दश दिनसम्म कूटनीतिक संयन्त्र चुपचाप रहनेछ । 

शुक्रबार व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामी तुइन तरिरहेका वेला भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा बेपत्ता भएका थिए । एसएसबीको अमानवीय व्यवहारबाट बेपत्ता धामी दुई दिनसम्म फेला नपरेपछि परिवारका सदस्यले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यको भनाइमा यस्ता घटनामा तत्कालै राजनीतिक तहमा संवाद तथा कूटनीतिक तहमा पत्राचार वा ध्यानाकर्षण गर्ने प्रचलन छ । कञ्चनपुरमा एसएसबीको गोली प्रहारबाट ०७३ फागुन अन्तिम साता स्थानीय युवा गोविन्द गौतमको मृत्यु भएको थियो । गौतमलाई नेपाल सरकारले सहिद घोषणा गरेको थियो । त्यसवेला सरकारले उच्च राजनीतिक र कूटनीतिक तहमा भारतको ध्यानाकर्षण गराएको थियो । तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, तत्कालीन गृहमन्त्री राजनाथ सिंहसँग घटना विवरणसमेत दिएर ध्यानाकर्षण गराएका थिए । 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्वराजदूत डा. दिनेश भट्टराईले घटनाका प्राविधिक पक्ष जेसुकै भए पनि अत्यन्तै अमानवीय भएको भन्दै सरकारले भारतको ध्यानाकर्षण गर्नुपर्ने बताए । पूर्वपरराष्ट्रसचिव आचार्यले गृहले प्रतिवेदन नदिएसम्म परराष्ट्र मन्त्रालय सक्रिय हुन नसक्ने बताए । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले यस्ता अमानवीय घटनामा नेपाली राजदूतले ध्यानाकर्षण गर्न परराष्ट्र मन्त्रालयको आदेश पर्खिनु नपर्ने बताए । दिल्लीस्थित नेपाली दूतावासमा परराष्ट्रबाट कुनै निर्देशन पुगेको छैन । 

भारतको धार्चुलाका डिस्ट्रिक मजिस्ट्रेट (प्रमुख जिल्ला अधिकारी)ले घटनामा एसएसबीको संलग्नता नभएको चिठी दार्चुलाका समकक्षीलाई पठाएका छन् । शनिबार गृह मन्त्रालय र दार्चुला जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन नसकिँदै भारतीय पक्षलाई दोषी किटान गरेर समाचार प्रकाशन/प्रसारण नगर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको थियो ।
परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा दार्चुला घटनामा मौन छन् । ‘गृह मन्त्रालयले छानबिन प्रतिवेदन बुझाएपछि र प्रतिवेदनमा भारतीय एसएसबी दोषी हो भन्ने स्पष्ट भएपछि हामी भारतको ध्यानाकर्षण गराउँछौँ, अहिले विनाप्रतिवेदन भारतसँग संवाद गर्न सक्दैनौँ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘गृह मन्त्रालयबाट यथार्थ विवरण नआएसम्म परराष्ट्रले यस्ता घटनामा केही पनि गर्न सक्दैन । विगतमा गृहबाट तत्काललै विवरण आउँथ्यो, त्यसमा टेकेर ध्यानाकर्षण गराउँथ्यौँ । अहिले हामी गृहलाई कुरेका छौँ ।’

संसदीय समितिमा दार्चुला घटनाबारे छलफल
दार्चुला जिल्लामा तुइनबाट महाकाली नदी तर्ने क्रममा एक नेपाली युवा बेपत्ता भएको घटनाको वास्तविकता बाहिर ल्याउन सांसदहरूले माग गरेका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा सांसदहरूले घटनालाई गम्भीरतापूर्वक लिएर सरकारले भारतसँग वार्ता गर्नुपर्ने धारणा पनि राखेका छन् । एमाले सांसद दीपकप्रकाश भट्टले कूटनीतिक माध्यमबाट सरकारले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही गर्न माग गरे । प्रशासन, सुरक्षा निकाय र आफन्तबाट आएका सूचनालाई सरकारले बाहिर ल्याउनुपर्नेमा भट्टको जोड थियो । ‘छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट घटनाको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ । प्रशासनले कति काम गरिरहेको छ, सुरक्षा निकायले कति जानकारी ल्याएका छन्, आफन्तले के भनिरहेका छन्, यसको सत्यतथ्य आवश्यकताअनुरूप बाहिर ल्याउनुपर्छ । दोषी व्यक्तिलाई कारबाहीका लागि माग गर्नुपर्छ,’ उनले भने । सीमामा एकपछि अर्काे नयाँ–नयाँ समस्या निम्तिरहेकोमा समेत भट्टको चासो थियो ।

कांग्रेस सांसद पुष्पा भुसालले सरकारले गठन गरेको छानबिन समितिले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्ने बताइन् । उनको भनाइ थियो, ‘दार्चुलामा भएको घटना अत्यन्तै दुःखदायी हो । यसमा सम्माननीय प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरिसक्नुभएको छ । सरकारले समिति पनि गठन गरिसकेको अवस्था छ । छानबिन समितिले छिटोभन्दा छिटो आफ्नो कामलाई अघि बढाओस् भनेर ध्यानाकर्षण गराउनुपर्छ ।’एमाले सांसद नारदमुनि रानाले यस्ता घटनाले दुई देशको सम्बन्धलाई राम्रो नगर्ने बताए । माओवादी सांसद चाँदतारा कुमारीले भनिन्, ‘तुइनको घटना घटेको छ, यो साह्रै नराम्रो भएको छ । यो भत्र्सना गर्न लायक छ ।’ 

व्याँसवासी भन्छन्– एसएसबीले जघन्य अपराध गर्‍यो, दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ
तुइन तर्दातर्दै भारतीय अर्धसैनिक बल एसएसबीले डोरी फुकाइदिएपछि महाकालीमा बेपत्ता भएका व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामीका परिवार र स्थानीय सरकारले क्षतिपूर्तिको माग गरेका छन् । एसएसबीको अमानवीय कार्यले धामी अनाहकमा बेपत्ता भएपछि श्रीमती र नाबालक छोराछोरी बिचल्लीमा परेका छन् । ‘बेपत्ताको खोजी गरी पीडित परिवारलाई उचित क्षतिपूर्ति, बालबच्चाहरूको शिक्षाआर्जन र पालनपोषणको सुनिश्चितता गर्न, घटनाको वास्तविकता सार्वजनिक गर्न र आफ्नो नागरिकलाई न्याय दिलाउन उच्चस्तरीय कूटनीतिक पहलमार्फत उक्त आपराधिक घटनामा संलग्न भारतीय अधिकारीहरूलाई कानुनी कारबाहीको पहल गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौँ,’ व्याँस गाउँपालिकाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

घटनाका प्रत्यक्षदर्शी एवं तुइन सञ्चालक कल्याणसिंह धामीका अनुसार घटना हुनुअघि भारतीय एसएसबीको टोली तुइन लगाएको ठाउँमा पुगेको थियो । एकजनाले हातमा आरा बोकेको थियो । अर्काको हात खाली थियो । जयसिंह तुइनमा चढिसकेपछि खाली हात आएका एसएसबीले दगुर्दै आएर रूखमा बाँधेको तीन फन्को तारको डोरी फुकालेको उनले बताए । ‘तुइनसँगै जयसिंह महाकालीमा बेपत्ता भए । एसएसबीका जवानहरू भागेर व्यारेकतर्फ गए’, उनले भने । एक सातादेखि निरन्तर एसएसबीको ज्यादती चलेको थियो । पाँच दिनअघि खलंगाबाट तुइन तरेर मालगाउँ जाँदा आफूलाई आमा शब्द प्रयोग गर्दै गालीगलौज गरेको जयसिंहका भाइ नरेन्द्रसिंह धामीले बताए । ‘भारतीय एसएसबीले कहिले दाउरा नदिएको रिस त कहिले दाल नदिएको भन्दै सीमाका नेपालीलाई गालीगलौज गर्ने, तुइन तर्न नदिने विषय पहिलेदेखि नै हो,’ व्याँस गाउँपालिका– ३ का वडाध्यक्ष उपेन्द्रसिंह धामीले भने, ‘हामीले सानै बचपनदेखि गाली खाएका छौँ । तर, अहिलेको जस्तो ज्यानै लिने गरी गरेको घटनाचाहिँ याद छैन ।’

‘घटना भएकै दिन पाँगला पुग्दा पनि एसएसबीले केरकार गरे,’ उनले पत्रकार सम्मेलनमा भने, ‘आफूसँग जनप्रतिनिधिको परिचयत्रपत्र देखाएपछि थोरै कम भयो ।’ सर्वसाधारणलाई एसएसबीको दोष नभएको देखाउन दबाबसम्म दिइएको आफैँले देखे । यो घटनामा एसएसबीको चरम लापरबाही छ । यो ठाउँमा वर्षौँदेखि रोटी–बेटीको सम्बन्ध छ । इष्टमित्र, चेलीबेटी वारिपारि छन्, व्याँस गाउँपालिकाका प्रवक्ता धीरेनसिंह बुढाथोकीले भने, ‘अहिलेजस्तो अमानवीय र जघन्य अपराध यसअघि भएको थिएन । अहिलेको घटनाको जति भत्र्सना गरे पनि कम हुन्छ । मान्छे तरिरहेको देख्दादेख्दै रूखमा बाँधिएको तुइनको फुकाल्नु गम्भीर अपराध हो ।’ 

आइतबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पनि घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । विप्लवका जिल्लासचिव भरत मल्ल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई भेटी घटनाबारे सत्यतथ्य बाहिर ल्याउन माग गरे । यो घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग थियो ।

यो तथ्यलाई प्रत्यक्षदर्शीको भनाइले पुष्टि गरेको, तर भारतको पिथौरागढ जिल्ला अधिकारीले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर यो घटनामा एसएसबीको संलग्नतालाई इन्कार गरेपछि घटनाबारे विप्लवले चासो दिएको हो । सचिव मल्लले भने, ‘हामी सहिद बन्न तयार छौँ, तर सकेसम्म प्रशासनले निरीहता प्रदर्शन नगरोस् । घटना सम्बन्धमा सूक्ष्म ढंगले हेर्दै छौँ । छिट्टै आन्दोलनका कार्यक्रम ल्याउँछौँ ।’

तीन दिनपछि सहसचिवको  नेतृत्वमा छानबिन समिति 
भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले तुइन काट्दा दार्चुलाका जयसिंह धामी महाकाली खोलामा खसेर बेपत्ता भएको घटनामा सरकारले तीन दिनपछि छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको अध्यक्षतामा आइतबार समिति गठन गरेको हो । १० दिनको समयसीमा पाएको पाँच सदस्यीय समिति घटनास्थल जाने–नजाने अन्योल नै छ । आइतबार समितिका अधिकारीलाई जिम्मेवारी दिए पनि सोमबार मात्र उनीहरू दार्चुलातर्फ लाग्ने तयारीमा छन् । तर, घटनास्थल विकटमा भएकाले त्यहाँ जाने टुंगो छैन ।समितिमा सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका एसएसपी सुरेशकुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रजिअ ज्योत्सना भट्ट छिन् । समितिका एक अधिकारीका अनुसार सोमबार दिउँसो बल्ल दार्चुलातर्फ जाने तयारी छ । 

गृहसँगै छैन ज्यादतीका विवरण 
सीमा क्षेत्रमा पटक–पटक भारतीय सुरक्षा फौज एसएसबीले नेपालीमाथि दुःख दिँदै आएको  छ । तर, नेपालका गृह मन्त्रालयले त्यससम्बन्धी विवरणसमेत राख्ने गरेको छैन । गृहको सीमा सुरक्षा शाखा त यसमा बेखबर नै हुने गरेको छ । देशको राजनीतिक नेतृत्व कमजोर हुँदा यसरी सीमामा छिमेकी देशको सुरक्षा फौजको बलमिच्याइँ बढेको एक उच्च सुरक्षा अधिकारी बताउँछन् । ‘हाम्रो राजनीतिक नेतृत्वले भारतसँग अडानका साथ कुरा राख्न सकेको भए बारम्बार यस्ता घटना हुँदैन थिए,’ ती अधिकारी भन्छन्, ‘जसकारण हाम्रो सरकार बलियो नभएसम्म सीमामा यस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न ।’ 

सीमा क्षेत्रका एसएसबी आएर नेपालीले लगाएको खेतीसमेत नष्ट गरिदिने गरेका छन् । सीमामा आफूअनुकूल नहर बनाउने र भत्काउने गरेका छन् । सीमामा नेपालको तुलनामा एसएसबीको तैनाथी करिब पाँच गुणा धेरै छ । नेपाल–भारत सीमामा नेपालतर्फ जम्मा करिब १० हजारको संख्यामा सशस्त्र प्रहरी बल खटिएका छन् । जसलाई न्यूनतम स्रोत–साधनसमेत अभाव छ ।

दार्चुला घटनाको वास्तविकता सार्वजनिक गर्न दलहरूको ध्यानाकर्षण, भारतसँग संवाद गर्न सरकारलाई सुझाब
दार्चुला घटना अमानवीय र क्रुर भएको भन्दै राजनीतिक दलहरूले सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै दलहरूले यथार्थ यथाशीघ्र सार्वजनिक गर्न माग गरेका हुन् । सत्तारुढ कांग्रेसले दुई दिनअघि नै घटनाको यथार्थ सार्वजनिक गर्न र पीडितलाई न्याय दिलाउन माग गरेको थियो भने अर्को सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेले आइतबार स्थायी कमिटीको बैठकबाटै घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । गत शुक्रबार दार्चुलाको व्यास गाउँपालिका– २ मालघाटका ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलंगा जान हिँडेका थिए । तर, महाकाली तर्न लाग्दा एसएसबीले तुइनको डोरी काटिदिएको थियो । त्यसयता उनी बेपत्ता छन् । दलहरूले घटनाबारे भारतसँग संवाद गरेर आफ्नो नागरिकलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन् ।

सत्तारुढ दल माओवादी केन्द्रको आइतबार बसेको स्थायी कमिटी बैठकले घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । बैठकपछि नारायणकाजी श्रेष्ठले भने, ‘भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।’ घटनाबारे भारतसँग कूटनीतिक तवरबाट कुरा गर्नसमेत माओवादीले आग्रह गरेको छ । ‘एसएसबीले तुइनको लट्ठा काट्दा एकजना बेपत्ता भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गर्ने निर्णय भएको छ,’ बैठकपछि स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले भने, ‘यस विषयका सरकारले कूटनीतिक तवरले कुराकानी अगाडि बढानुपर्छ ।’

प्रमुख प्रतिपक्षी एमालेले पनि दार्चुला घटनालाई मानवीय र क्रूर भन्दै निन्दा गरेको छ । आइतबार बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै तुइनबाट महाकाली नदी पार गरिरहेका वेला तुइनको लट्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न माग गरिएको जानकारी दिए । उनले त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय भएको बताएका छन् । 

यसअघि सरकारको नेतृत्व गरेको दल कांग्रेसले घटनाको सम्पूर्ण वास्तविकता बाहिर ल्याउन र आफ्नो नागरिकलाई न्याय दिलाउन माग गरेको छ ।  यस्तै, विभिन्न २२ राजनीतिक दल र राजनीतिक संगठनले पनि सामूहिक विज्ञप्ति जारी गर्दै कूटनीतिक पहलमार्फत घटनामा संलग्न भारतीय सुरक्षा बल (एसएसबी)लाई कारबाहीको माग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । २२ राजनीतिक दलको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । ‘यस्तो अवस्थामा सरकारले अविलम्ब कूटनीतिक पहल गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने काम गर्न हामी देउवा सरकारसँग जोडदार माग गर्दछौँ । अन्यथा, सडक संघर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने कुराको पनि हामी जानकारी गराउन चाहन्छौँ,’ गजुरेलले विज्ञप्तिमार्फत भनेका छन् । 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्वराजदूत डा. दिनेश भट्टराईले घटनाका प्राविधिक पक्ष जेसुकै भए पनि अत्यन्तै अमानवीय भएको भन्दै सरकारले भारतको ध्यानाकर्षण गर्नुपर्ने बताए । ‘नेपाल–भारत खुला सिमाना कहीँ पनि प्रतिबन्धित छैन । भारतीय आफैँ खुला सिमानालाई देखाएर विशेष सम्बन्ध भन्छन्, त्यही सीमाबाट भारत जान खोज्दा नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अमानवीय हो,’ भट्टराईले भने, ‘नेपालले भारतलाई ध्यानाकर्षण गराउनुपर्छ । यद्यपि, सबैभन्दा पहिला गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई घटनाको प्रतिवेदन दिनुपर्छ । विनाप्रतिवेदन परराष्ट्र मन्त्रालय वा हाम्रा भारतमा रहेका नागरिकले केही पनि गर्न सक्दैनन् ।’ 

पूर्वपरराष्ट्रसचिव आचार्यले गृहले प्रतिवेदन नदिएसम्म परराष्ट्र मन्त्रालय सक्रिय हुन नसक्ने बताए । ‘अहिले गृह मन्त्रालयले छानबिन गरिरहेको भनेको छ, गृहबाट प्रतिवेदन दिएपछि मात्रै त्यसमा टेकेर परराष्ट्र मन्त्रालयले कूटनीतिक च्यानलमार्फत ध्यानाकर्षण गराउने हो,’ आचार्यले भने, ‘नेपालले भारतलाई यसबारेमा ध्यानाकर्षण गराउनुपर्छ, त्यसअघि मुलुकभित्रै गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई विवरण उपलब्ध गराउनुपर्छ ।’ 

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले यस्ता अमानवीय घटनामा नेपाली राजदूतले ध्यानाकर्षण गर्न परराष्ट्र मन्त्रालयको आदेश पर्खिनु नपर्ने बताए । ‘भारत सरकारलाई र भारतका सञ्चारमाध्यमलाई हाम्रा राजदूतले आफ्नो कुरा भन्नुपर्छ, यो नागरिकको सुरक्षाको प्रश्न हो,’ उपाध्यायले भने, ‘राजदूतले आफ्ना सम्बन्ध र सम्पर्क भएका सबै च्यानलमा घटनाबारे ध्यानाकर्षण गराउनुपथ्र्यो । नेपाल–भारत सिमानामा नेपाली नागरिक बेपत्ता रहेको स्पष्ट भएकाले राजदूतले सक्रियता देखाउन थप कुनै प्रमाण पेस गरिरहनु आवश्यक पर्दैन ।’ दिल्लीस्थित नेपाली दूतावासमा परराष्ट्रबाट कुनै निर्देशन पुगेको छैन । 

भारतको धार्चुलाका डिस्ट्रिक मजिस्ट्रेट (प्रमुख जिल्ला अधिकारी)ले घटनामा एसएसबीको संलग्नता नभएको चिठी दार्चुलाका समकक्षीलाई पठाएका छन् । शनिबार गृह मन्त्रालय र दार्चुला जिल्ला प्रशासन कार्यालयले घटनाको छानबिन नसकिँदै भारतीय पक्षलाई दोषी किटान गरेर समाचार प्रकाशन÷प्रसारण नगर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराएको थियो ।
परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा दार्चुला घटनामा मौन छन् । ‘गृह मन्त्रालयले छानबिन प्रतिवेदन बुझाएपछि र प्रतिवेदनमा भारतीय एसएसबी दोषी हो भन्ने स्पष्ट भएपछि हामी भारतको ध्यानाकर्षण गराउँछौँ, अहिले विनाप्रतिवेदन भारतसँग संवाद गर्न सक्दैनौँ,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘गृह मन्त्रालयबाट यथार्थ विवरण नआएसम्म परराष्ट्रले यस्ता घटनामा केही पनि गर्न सक्दैन । विगतमा गृहबाट तत्काललै विवरण आउँथ्यो, त्यसमा टेकेर ध्यानाकर्षण गराउँथ्यौँ । अहिले हामी गृहलाई कुरेका छौँ ।’

 जयसिंह धामीका दाइ हरकसिंह भन्छन्–एसएसबीको अमानवीय व्यवहारकै कारण  भाइले अनाहकमा ज्यान गुमाउनुपर्‍यो

हामीहरू गरिब परिवारमा हुर्किएका हौँ, अहिले पनि अवस्था उस्तै छ । बुबा दली धामी ७२ वर्षको हुनुभयो, आमा मैना ६५ वर्षकी हुनुहुन्छ । हामीहरू चार भाइ हौँ । बुबाले एक परिवार पालेको जमिनमा चार भाइको भागबन्डा गर्दा घर बनाउन ठिक्क भयो । खेतीपाती गरेर खान पुग्ने जमिन छैन, त्यसले महिना दिन पनि पुग्दैन । हामी भाइहरू पाँच वर्षअघिदेखि अलग–अलग बस्दै आएका छौँ । 

हरकसिंह धामी

बेपत्ता भएको माइलो भाइ जयसिंहको घरमा पत्नी राजन्ती र दुईजना चिचिला केटाकेटी छन् । जेठो छोरो डेनियल सात वर्षको र छोरी डेढ वर्षकी छिन् । साहिँलो भाइ नरेन्द्र र कान्छो भाइ उदय सँगै बस्छन् । उदय नेपाल प्रहरीमा जागिरे छ । जयसिंहले पनि सेनामा जागिर खाएको थियो । तर, जवानको तलबले घर पाल्नै गाह्रो भएपछि जागिर छाडेर यार्सागुम्बाको व्यापार गर्छु भन्यो । त्यतिवेला गाउँमा यार्सागुम्बाको मूल्य पनि राम्रै थियो ।

यार्सागुम्बाको व्यापारबाट पैसा कमाएर राम्रो ठाउँमा जग्गा किनेर घर बनाउने सपना पालेको थियो । तर, उसले सोचेजस्तो भएन । गाउँमा वातावरण पनि राम्रो भएन, यार्साले पनि उँभो लाग्ने नदेखेपछि विदेश गएर कमाउँछु भन्यो । दुईपटक विदेश गयो पनि । पहिलोपटक जाँदा अलिअलि ऋण तिरेको थियो । दोस्रोपटक दुबई जाँदा कोरोना महामारीका कारण काम गर्न पाएन । उल्टै, गाउँबाट ऋण काढेर घर फर्किनुपर्‍यो । 

ऋण कति छ भनेर भाइले नै मलाई भनेको थिएन, अहिले बुझ्दा सात–आठ लाख ऋण पुगेको रहेछ । सितिमिती हरेस खाने खालको होइन, त्यसैले कहिलेकाहीँ ऋणबारे सोध्दा पनि ‘किन चिन्ता गर्नुहुन्छ, म कमाएर तिरिहाल्छु’ भन्थ्यो । अहिले पनि काठमाडौं गएर विदेश जाने प्रक्रिया थाल्छु, त्यतिन्जेल काठमाडौंमै केही काम पनि खोज्छु भनेर घरबाट हिँडेको हो । दुबईबाट फर्किएपछि पनि उसले केही समय काठमाडौंमा सेक्युरिटी गार्डको काम गरेको थियो । विदेश जान पाए उतै जाने योजना थियो । केटाकेटीलाई गौराका लागि राम्रा–राम्रा लुगा ल्याइदिन्छु भनेर हिँडेको थियो, तर सोचेजस्तो नहुँदो रै’छ । बुहारीले बिदाइका वेला निधारमा लगाइदिएको दूध–अक्षताको टीका सुक्न नपाउँदै भाइ महाकालीमा बिलायो । उसका सबै सपना पनि बगे ।

भाइ बेपत्ता भएको दिनदेखि घरमा आमा र बुहारी (जयसिंहकी पत्नी जयन्ता) होसमा छैनन् । एकछिन होस आउँछ, एकछिनमा फेरि बेहोस हुन्छन् । शुक्रबारदेखि केही खाएका छैनन् । घरमा सान्त्वना दिन आउने छिमेकीको भिड छ, तर को आए, को गए उनीहरूले पत्तो पाउँदैनन् । टोलाएर बस्छन्, कसैसँग बोल्दैनन् । दुवैको आँखा बगेको–बग्यै छन् । बुबाले आज (आइतबार) मात्रै एक गिलास चिया खानुभयो । उहाँ राम्रोसँग कान सुन्नुहुन्न । 

अहिले आमा र बुहारीलाई गाउँका सबैले सम्झाइबुझाई गर्दै छौँ । सबैभन्दा ठूलो बज्रपात बुहारीमाथि परेको छ । विक्षिप्त उनले दुई नाबालक कसरी हुर्काउने हुन् ? अहिले पो सबै गाउँले आएर स्याहार गर्दै छन्, केही दिनपछि त एक्लै हुने हुन् । हामी दाजुभाइ पनि सबै अलग–अलग छौँ, हामीहरूको पनि परिवार ठूलै छ । जानेभन्दा पनि बाँचेकाको पालनपोषण, शिक्षादीक्षा कसरी गर्ने भन्ने ठूलो चिन्ता छ । सुप्पोमा फल्ने अन्नबाट बुहारीले कसरी यी केटाकेटी हुर्काउने र स्कुल पढाउने हुन्, अहिले सबैभन्दा पिरोल्न थालेको यही कुरा छ । अझ त्यसमाथि ऋणको भारी छ । खेतीपाती गर्न जमिन छैन । 

अहिलेसम्म सरकारले हाम्रो पीडा सुनेको छैन । कहाँबाट कसरी हुने हो छोराछोरीको शिक्षादीक्षाको जिम्मा र क्षतिपूर्ति पाइयो भने केही राहत हुने थियो । छोराछोरी पढाउन मात्रै सकियो भने पनि जयसिंहको सपना पूरा हुने थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अमानवीय व्यवहारकै कारण भाइले ज्यान गुमाउनुपरेको हो । मान्छे तरिरहेको देख्दादेख्दै उनीहरूले तुइनको तार खोलिदिए । यो त सरासर मान्छे मार्न खोजेजस्तो हो । म आफैँ पनि २०औँ वर्षदेखि तुइनमा महाकाली वारिपारि गरिरहेको छु । गालीगलौज, हातपात गर्नेदेखि सामान फाल्नेसम्मका दुव्र्यवहार एसएसबीबाट पहिला पनि हुन्थ्यो, तर मान्छे तर्दातर्दै डोरी फुकाउने अमानवीय कामचाहिँ गरेका थिएनन् । यसपटक गरेर भाइको ज्यान लिए ।

इटालीका सैनिकले दुई  भारतीय माझीको हत्या गर्दा १० करोड क्षतिपूर्ति तिर्नुपर्‍यो
सन् २०१२ को फेब्रुअरीमा इटालीका सैनिकले दुई भारतीय माझीको हत्या गरे । उनीहरूको हत्यापछि भारत शान्त भएन । भारतले कानुनी लडाइँ अगाडि बढायो । यो मुद्दा भारतमा बन्द हुन नौ वर्ष लाग्यो । घटनाका कारण दुई देशबीचको सम्बन्धमा उतारचढाव पनि देखियो । कैयौँ प्रयासपछि मात्र भारतको अदालतमा यो मुद्दा २०२१ मा बन्द भएको छ । भारतीय सर्वोच्च अदालतले सन् २०२१ जुन १५ मा यसको अन्तिम फैसला सुनाउँदै मुद्दा बन्द गरेको थियो । त्यसअघि अदालतले जबसम्म इटाली सरकारले तय भएको मुआब्जा बैंक खातामा पठाउँदैन, तबसम्म मुद्दा बन्द नहुनेसमेत बताएको थियो । इटालीले १० करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिएपछि मात्र यो मुद्दा बन्द भएको थियो । भारतमा बन्द भए पनि उनीहरूविरुद्ध इटालीमा मुद्दा भने जारी रहनेछ । 

२०१२ फेब्रुअरी १५ मा केरलाका दुई माझी जेलेस्टाइन र अजिस पिंकु केरलाको निन्दाकार हार्बरमा माछा मार्न निस्केका थिए । उनीहरू फर्कने समयमा सिंगापुरबाट मिश्र जाने जहाजसँग जम्काभेट भयो । यो इटालीको जहाज थियो । जसमा १९ भारतीयसहित ३४ क्रु मेम्बर सवार थिए । जहाजमा रहेका दुई सैनिक सल्वाटोर गिरोन र मसिमिलियानो लटोरले दुई माझीको गोली हानी हत्या गरे । 

 मुस्ताङ घटनामा बिपीले चिनियाँ समकक्षीलाई विरोधपत्र लेखेका थिए, चाउ एनलाईले माफी नै मागेका थिए

इटालीका ती दुई सैनिकले आफ्नो बचाउ गर्दै उनीहरू समुद्री लुटेरा भएको शंकामा ‘प्रोटोकल फलो’ गरेको बताएका थिए । घटना भएको केही समयमा नै भारतीय कोस्ट गार्डले यसबारे जानकारी पायो र आफ्नो कारबाही थाल्यो । दुई माझीको हत्या केरलाको अंबलापुझा क्षेत्रमा भएको थियो । १९ फेब्रुअरीमा केरला प्रहरीले दुई इटालियन सैनिकलाई गिरफ्तारसमेत ग¥यो । 

तर, यो घटनाले दुई देशबीच निकै तनाव सिर्जना गर्‍यो । इटालीले आफ्नोे सेनालाई बचाउने उपाय सोच्न थाल्यो । तर, भारतले आफ्ना नागरिकको हत्याको कानुनी उपचार खोज्न थाल्यो । २२ फेब्रुअरीमा इटाली सरकारले केरला उच्च अदालतसँग उनीहरूविरुद्धको एफआइआर रद्द गर्न अनुरोध गर्‍यो । अन्तर्राष्ट्रिय कानुनअनुसार उनीहरूविरुद्ध भारतमा कारबाही गर्ने भारतको कुनै अधिकार नभएको इटालीको दाबी थियो ।

त्यसैबीच २० अप्रिलमा माझी परिवारले केरला हाइकोर्टमा उनीहरू र सरकारबीच दुई परिवारलाई एक–एक करोड रुपैयाँ मुआब्जा दिने सम्झौता भएको बताए । तर, सर्वोच्च अदालतले सम्झौता अवैध भएको र इटालीले भारतीय कानुनसँग खेलबाड गरेको आरोप लगायो । २ मेमा जहाजलाई जाने अनुमति दिइयो । तर, १८ मेमा लटोरलाई प्राथमिक अभियुक्त र गिरोनलाई दोस्रो अभियुक्त भन्दै मुद्दा दर्ता गर्‍यो । यो प्रकरणमा क्रूद्ध इटालीले २० मेमा भारतस्थित आफ्ना राजदूतलाई फिर्ता नै बोलायो ।

सन् २०१२ मा क्रिसमस मनाउन इटाली जान अदालतले ती दुई सैनिकलाई अनुमति दियो । तर, उनीहरूले त्यसका लागि ६ करोड बैंक ग्यारेन्टी र फर्किने लिखित कागज गरेका थिए । पहिलोपटक उनीहरू फर्के पनि । सन् २०१३ उनीहरूले दोस्रोपटक चुनावमा मतदान गर्नका लागि जाने अनुमति मागे । तर, यसपटक इटालीले आफ्ना सैनिक दोषी पाइए पनि मृत्युदण्डको सजाय नहुने सर्तमा मात्र फिर्ता पठाउन सक्ने अडान लियो । 

इटालीको रबैयासँग असन्तुष्ट भारतीय सर्वोच्च अदालतले अर्को निर्णय सुनायो । अदालतले इटालीका राजदूत डेनियल मन्चिनीलाई विनाअनुमति भारत छोड्न प्रतिबन्ध लगाइदियो । 
इटालीका सैनिकले माझीको भारतीय तटबाट २० दशमलव पाँच नटिकल माइल टाढा कुनै चेतावनी नदिई हत्या गरेको बताएको थियो । इटालीले उनीहरूलाई समुद्री लुटेराबाट बचाउन जहाजमा राखिएको र सैनिकले आफ्नो काम गरेको दाबी गरेको थियो ।  सन् २०१४ मा इटालीका तत्कालीन प्रधानमन्त्री म्याटियो रेन्जीले घटनाबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत कुराकानी गरेका थिए ।

 

ad
ad