मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज २ शनिबार
  • Saturday, 18 September, 2021
तुइन काटेको आरासहित एसएसबीका जवान । एसएसबीले तुइनको डोरी काट्दा महाकालीमा बेपत्ता भएका जयसिंह धामी (इन्सेटमा) । तुइनको फाइल तस्बिर
नरेन्द्रसिह कार्की दार्चुला
२०७८ श्रावण १६ शनिबार १०:००:००
Read Time : > 10 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सीमामा एसएसबीको अपराध : तुइन तर्दै गरेका नेपाली  युवा एसएसबीले डोरी काटेपछि महाकालीमा बेपत्ता

दार्चुलाको व्याँस गाउँपालिका–२ मालघाटस्थित तुइन, जहाँबाट स्थानीय बासिन्दा ओहोर–दोहोर गर्थे, शुक्रबार बिहान एसएसबीले काटेको छ

Read Time : > 10 मिनेट
नरेन्द्रसिह कार्की दार्चुला
२०७८ श्रावण १६ शनिबार १०:००:००

- प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन
- भारतसँग कुरा गर्न दिल्लीस्थित नेपाली दूतावासलाई परराष्ट्रको छैन निर्देशन
- नेपालस्थित भारतीय दूतावास दार्चुला घटनाबारे बोल्नै चाहन्न
- सत्य–तथ्य के हो भनेर भारतीय प्रशासनसँग जानकारी मागेका छौँ :
ज्योत्सना भट्ट जोशी, निमित्त प्रमुख जिल्ला अधिकारी, दार्चुला

...                                         ...

शुक्रबार बिहान घरबाट काठमाडौंका लागि हिँड्दा दार्चुलाको व्याँस गाउँपालिका– २ मालगाउँका जयसिंह धामीले छोराछोरीलाई गौरापर्वका लागि राम्राराम्रा लुगा ल्याइदिने आश्वासन दिएका थिए । डेढ वर्षकी छोरीले मेसो नपाए पनि करिब सात वर्षका छोरा भने बुबाको कुराले फुरुंग भएका थिए । सुदूरपश्चिममा भव्य रूपमा मनाइने गौरापर्व आगामी भदौको मध्यमा छ । 

बिहान करिब सात बजे पत्नी राजन्तीसँग बिदा भएपछि जयसिंह हतारहतार सदरमुकाम खलंगाका लागि हिँडेका थिए, त्यहाँबाट काठमाडौं जाने उनको योजना थियो । उनको अघिअघि गाउँकै ७० वर्षीय गौरसिंह धामीसहित तीनजनाको टोली थियो । उनीहरू पनि सदरमुकाम जाँदै थिए । गौरसिंह सामाजिक सुरक्षा भत्ता लिन खलंगा हिँडेका थिए । जयसिंहको पछिपछि पनि गाउँकै विक्रम रंकोली र अमिता धामी थिए ।

करिब आधा घन्टा हिँडेपछि उनीहरू महाकाली नदीमा लगाइएको तुइननजिक पुगे । सदरमुकाम खलंगा जान स्थानीय बासिन्दा मालघाटमा तुइनबाट महाकाली तर्छन् र भारतपट्टिबाट गाडीमा धारचुलासम्म पुग्छन् । तुइन भएको ठाउँको पारिपट्टि भारतको पाँगला गाउँ छ, जहाँ भारतीय अर्धसैनिक बल एसएसबीको ब्यारेक छ । 

गौरसिंहसहितको टोली सुरुमा तुइन तर्‍यो । उनीहरूपछि तुइन चढेका जयसिंह पारि पुग्न पाएनन्, करिब डेढ मिटर बाँकी हुँदै एसएसबीका जवानहरूले तुइनको डोरी काटिदिएपछि उनी उर्लिरहेको महाकाली नदीमा खसे र बेपत्ता भए । ‘हामी तुइन तरेर पाँच–सातमिनेट मात्रै उकालो हिँडेका थियौँ, एसएसबीका दुई जवानले तीनपाने तुइनको डोरी काटिदिए,’ गौरसिंहले नयाँ पत्रिकासँग भने, ‘जयसिंह भारततर्फ पुग्न एक–ढेढ मिटर मात्रै बाँकी थियो, तुइन चुँडिएपछि महाकालीमा डुबे ।’ 

जयसिंह महाकालीमा खसेपछि एसएसबीका दुवै जवान ब्यारेकतर्फ भागेको गौरसिंहले बताए । ‘आँखैअगाडि जयसिंह महाकालीमा डुबे । दुई मिनेटसम्म बग्दै गरेको देखेँ, त्यसपछि डुबाइहाल्यो,’ उनले भने । 

यसअघि पनि एसएसबीले वेलावेला तुइन काटेर दुःख दिने गरेको थियो । तर, यसपटक मान्छे तुइनमै रहेका वेला काट्यो । आफूहरूले पारि पुग्दा तुइन काट्ने तयारी गरिरहेका एसएसबीका जवानलाई ‘मान्छे आउँदै छन्, नकाट्नुस्’ भनेर आग्रहसमेत गरेको गौरसिंहले बताए । ‘कि त तुइनमा मान्छे नभएको वेला काटेको भए हुन्थ्यो कि तुइन तर्न दिएर काटेको भए पनि हुन्थ्यो । एक मिनेट मात्रै नकाटेको भए जयसिंह महाकालीमा बेपत्ता हुने थिएनन्,’ उनले भने । सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले जयसिंहको खोजी गरिरहेका छन् । तर, शुक्रबार राति अबेरसम्म पनि फेला परेका छैनन् ।

आर्थिक रूपमा विपन्न परिवारका जयसिंहले सुरुमा सेनामा जागिर खाएका थिए । तर, बीचमै छाडे । पछि ऋण काढेर वैदेशिक रोजगारीका लागि कतार गए । त्यहाँ पनि धेरै बस्न सकेनन् । फर्किएपछि फेरि दुबई गए, त्यहाँ पनि भनेजस्तो काम नपाएपछि स्वदेश फर्किए । उनका आफन्तहरूका अनुसार विदेश जाँदा लागेको ऋण पनि तिर्न सकेका थिएनन् । दुबईबाट फर्केपछि केही समय काठमाडौंमै सेक्युरिटी गार्डको जागिर पनि गरेका थिए । जयसिंहले गत वैशाख–जेठमा यार्सागुम्बा संकलन गरेर ३५–४० हजार आम्दानी गरेका थिए । 

यसपटक पनि काठमाडौंमा सके जागिर खोज्ने नभए गाउँमै फर्किएर सानोतिनो व्यापार गर्ने योजना थियो जयसिंहको । त्यसका लागि बैंकबाट ऋण निकाल्ने सोच बनाएको छिमेकीहरूलाई सुनाएका थिए । ‘गाउँको उब्जनीले तीन महिना पनि खान पुग्दैन । कहिले कता कहिले कता रोजगारी गरेर परिवार धानिरहेको थियो,’ स्थानीय बहादुरसिंह धामीले भने, ‘घरको कमाउने मान्छे नै बेपत्ता भएपछि परिवार झनै समस्यामा पर्‍यो ।’

अन्तर्राष्ट्रिय कानुनका विज्ञ डा. युवराज संग्रौलाले दार्चुलामा एसएसबीले अन्तर्राष्ट्रिय सन्धि, अन्तर्राष्ट्रिय फौजदारी र मानवीय कानुनको उल्लंघन गर्दै दादागिरी प्रदर्शन गरेको बताए । ‘मान्छे तर्दै गर्दा तुइन काट्नेजस्तो अमानवीय काम गर्ने अनुमति भारतीय कानुनले पनि दिँदैन । यो घटनामा धेरै अन्तर्राष्ट्रिय कानुन, सन्धि आकर्षित हुन्छन्,’ उनले भने, ‘यदि तुइनमा रहेको व्यक्ति अपराधी नै हो भने पनि नेपालसँग औपचारिक रूपमा संवाद गरेर भारतले माग्न सक्छ । तर, जानाजान नदीमा खसाउन पाइँदैन । नेपालले यस विषयमा भारतसँग स्पष्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्छ । भारतसँग स्पष्ट जवाफ माग्न सक्दैन भने सरकार नागरिकको सुरक्षाप्रति जिम्मेवार भएको मानिँदैन ।’

तुइन काट्ने एसएसबीलाई कारबाहीको माग
तर्दातर्दै तुइन काट्ने एसएसबीका जवानलाई कारबाहीको माग गर्दै व्याँस गाउँपालिकाका बासिन्दाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका छन् । मानिसले बाँच्न पाउने अन्तर्राष्ट्रिय मानव अधिकार, न्यूनतम मानवीय मूल्य–मान्यता र नेपाल–भारत सीमा क्षेत्रमा चलिआएको व्यावहारिक सम्बन्धलगायतलाई चुनौती दिँदै तुइन तरिरहेको अवस्थामा काटेर नदीमा बगाएको स्थानीयको भनाइ छ । यो घटना ‘हत्या’ गर्ने उद्देश्यसहित भएकाले संलग्न एसएसबीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन् । 

तुइन काटेको आरासहित एसएसबीका जवान

तस्बिर सौजन्य : व्याँस गाउँपालिका–३ का वडाध्यक्ष उपेन्द्र धामी

छानबिन गर्न भारतीय प्रशासनलाई पत्राचार
एसएसबीले तुइन काटेर नेपाली युवक जयसिंह धामीलाई महाकालीमा बेपत्ता बनाएको विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमावर्ती भारतीय प्रशासनलाई पत्राचार गरेको छ । पिथौरागढको डिएम कार्यालय र एसडिएम कार्यालय धारचुलालाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीका लागि पत्राचार गरिएको दार्चुलाका निमित्त सिडिओ ज्योत्सना भट्ट जोशीले बताइन् ।

भारतीय प्रशासनलाई पठाएको पत्रको बोधार्थ गृह मन्त्रालयलाई समेत पठाइएको निमित्त सिडिओ जोशीले बताइन् । ‘एसएसबीले तुइन काटेर नेपाली युवक महाकालीमा बेपत्ता भएको विषयमा सत्यतथ्य के हो भनेर हामीले भारतीय प्रशासनसँग जानकारी माग गरेका छौँ,’ उनले भनिन्, ‘अहिलेसम्म त्यसको जवाफ आएको छैन ।’ सत्यतथ्य पत्ता लगाउन सदरमुकामबाट सुरक्षाकर्मी पनि पठाइएको उनले बताइन् । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्रबहादुर चन्दले घटनाबारे वास्तविकता खुल्न नसकेको बताए । ‘यो क्षेत्रमा तुइन गैरकानुनी हो । सहजताका लागि स्थानीयले प्रयोग गर्ने गर्छन् । एसएसबीले देखे वेलावेलामा काट्ने गरेको थियो । तर, अहिले मान्छे तर्दातर्दै काटेको भन्ने कुरा आएको छ, तर स्पष्ट भइसकेको छैन । तुइनमा मान्छे देख्दादेख्दै काट्नु त गोली हानेसरह हो,’ उनले भने, ‘त्यसो नगर्नुपर्ने हो । हामी सत्यतथ्य बुझ्दै छौँ ।’

सरकारले बनायो गृहसचिवको नेतृत्वमा छानबिन समिति : आन्तरिक छानबिनपछि मात्रै कूटनीतिक पहल गर्ने सरकारको योजना
दार्चुला घटनाबारे छानबिन गर्न सरकारले गृहसचिव महेश्वर न्यौपानेको नेतृत्वमा छानबिन गर्न समिति गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई घटनाबारे मिश्रित ब्रिफिङ पुगेपछि उनले छानबिन गर्न लगाएका हुन् । देउवाको निर्देशनअनुसार गृहमन्त्री बालकृष्ण खाणले शुक्रबार साँझ गृहसचिव न्यौपाने नेतृत्वमा समिति गठन गरेका हुन् । 

छानबिन समितिको निष्कर्षपछि मात्रै परराष्ट्र मन्त्रालय तथा दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसँग संवाद गर्ने भएका छन् । ‘घटनाबारे फरक–फरक जानकारी आएको हुनाले पहिला आन्तरिक छानबिन गरौँ, त्यसपछि भारतसँग संवाद गर्ने भन्नेमा पुगेका छौँ,’ प्रधानमन्त्रीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘एसएसबीले तुइन काटेको हो कि होइन भन्नेमा स्पष्ट भएपछि मात्रै भारतलाई ध्यानाकर्षण गर्छौँ र थप संवाद पनि गर्छौँ ।’ 

जिल्लास्थित सुरक्षा निकायले पठाएको जानकारी स्पष्ट नभएपछि सरकार घटनाकै छानबिन गर्ने निष्कर्षमा पुगेको स्रोतले बतायो । घटनाबारे नेपालस्थित भारतीय दूतावास तथा भारत सरकारले केही बोलेको छैन । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि घटनाबारे प्रतिक्रिया दिन मानिनन् । 

परराष्ट्र मन्त्रालयले नयाँदिल्लीस्थित नेपाली दूतावासलाई पनि घटनाबारे भारतीय पक्षको ध्यानाकर्षण गर्न निर्देशन दिएको छैन । ‘हामीलाई परराष्ट्र मन्त्रालयबाट निर्देशन आइसकेको छैन,’ दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले शुक्रबार साँझ टेलिफोनमा भने ।

एसएसबीले बनायो छानबिन टोली
घटनाबारे छानबिन गर्न एसएसबीले पनि छानबिन टोली गठन गरेको छ । एसएसबीको ११ नम्बर बटालियन डिडिहाटले डेपुटी कमान्डरको नेतृत्वमा छानबिन टोली गठन गरेको सशस्त्र प्रहरी बलको ४४ नम्बर गण दार्चुलाका गणपति नरेन्द्र बमले बताए । एसएसबी बटालियन ११ नम्बरका सिओ महेन्द्रप्रताप सिंहले घटना दुःखद भएको भन्दै सत्यतथ्य छानबिन गरिने जानकारी दिएको गणपति बमले बताए । 

जिल्ला सदरमुकाम पुग्न पनि व्याँसवासीलाई तुइनकै भर
व्याँसवासी अहिले पनि महाकाली वारपार गर्न तुइनकै भर पर्नुपर्छ । यहाँका बासिन्दा किनमेल तथा गाउँमा उत्पादित कृषिउपज बिक्री–वितरण गर्न मात्रै होइन, औषधि उपचार, सामाजिक सुरक्षा भत्ता लिन, बिरामी हुँदा अस्पताल जानसमेत तुइनबाटै महाकाली तरेर जिल्ला सदरमुकाम र भारतीय सहर जानुपर्छ । वर्षौँदेखि स्थानीयवासीले महाकाली नदीमा झोलुंगे पुल बनाउन आग्रह गरे पनि सरकारले सुनुवाइ गरेको छैन । पक्की पुल नहुँदा सबैभन्दा बढी सकस स्कुले बालबालिका, ज्येष्ठ नागरिक र महिलालाई हुने गरेको छ ।

‘पञ्चायत, बहुदल हुँदै देश गणतन्त्रमा पुगे पनि नेताका भाषण परिवर्तन भएका छैनन्,’ गौरसिंहले भने, ‘हरेक निर्वाचनमा नेता आउँदा पुल बनाउँछौँ भनेकै छन्, तर पुल कहिले बन्ने हो थाहा छैन । पञ्चायतदेखि पुलकै नाममा भोट माग्न आए । कैयौँ नेता मन्त्री पनि भए । तर, हामी व्याँसवासीलाई हिँड्न न पुल बन्यो न सडक नै ।’ 

स्थानीयवासी बहादुरसिंह धामीका अनुसार यसरी ओहोरदोहोर गर्दा पछिल्लो समय एसएसबीको ज्यादती बढेको छ । ‘कैयौँपटक त सामान नै फालिदिएका छन्,’ उनले भने, ‘मन नपरे नेपालीलाई कुटपिट गर्नेसमेत गर्छन् । गालीगलौज त सामान्य नै भयो । यस्तो हुँदा पनि हाम्रो हिँड्ने बाटो नभएपछि उनीहरूको गाली र अपमान सहनुपरेको छ ।’

न सडक पुग्यो न पुल बन्यो
दार्चुला सदरमुकाम खलंगाबाट व्याँसको तिंकर जोड्ने गरी १३ वर्षअघि महाकाली लोकमार्ग निर्माण सुरु भएको थियो । तर, यो सडक अझै व्याँस गाउँपालिका– २ मालगाउँसम्म पुगेको छैन । हालसम्म ४३ किलोमिटर सडकको ट्र्याक खुलाइएको छ । ‘गाउँपालिका सदरमुकाम सुनसेराभन्दा माथि तुसरपानीसम्म तीन किलोमिटर मात्रै सडक निर्माण कार्य अघि बढेको छ । त्योभन्दा माथिल्लो गाउँ जान राम्रो घोरेटो बाटो पनि छैन । गाउँमा खानलाई नुनसमेत छैन,’ स्थानीय बहादुरसिंह धामीले भने ।

सामाजिक सुरक्षा भत्ता बुझेर खाद्यान्न लिन सदरमुकाम आएका मालगाउँका गौरसिंह धामी तुइन काटिदिएपछि खाद्यान्न गाउँ कसरी पु¥याउने भन्ने चिन्तामा छन् । ‘खलंगा त पुग्यौँ, यहाँबाट कसरी गाउँ फर्किने ? तुसरपानीभन्दा माथि ठाउँठाउँमा बाटो भत्किएको छ । खच्चडसमेत नचल्ने अवस्था आएपछि गाउँमा खाद्यान्न समस्या भएको छ,’ उनले भने । 

दुम्लिङका स्थानीय राप्लासम्म खाद्यान्न खोज्न आउँछन् । खाद्यको डिपो भए पनि चामल छैन । ‘अहिलेसम्म भारतीय बाटो हुँदै खाद्यान्न लिन्थ्यौँ, यही तुइनमार्फत आवतजावत हुन्थ्यो । वारपार गर्दा एसएसबीको आँखा छलेर आउने–जाने गरेका थियौँ, तर आज अति गरे,’ धामीले भने, ‘नेपालतिर चार किलोमिटर सडक मात्रै काट्यो भने गाउँभन्दा माथि सडक पुग्थ्यो ।’ 

सुनसेरादेखि माल जोड्ने क्षेत्रमा नौ वर्षयता चार किमि मात्र सडक निर्माण भएको छ । ०६९ मा सात किलोमिटर सडक निर्माणको ठेक्का पाएको अमरसूर्य जेभीले पछिल्लो नौ वर्षमा चार किलोमिटर मात्र सडक निर्माण गरेको छ ।

महाकाली नदीमाथि तुइन विस्थापन गर्ने उद्देश्यले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुंगे पुल निर्माण गरिरहेको छ । मालिकार्जुन गाउँपालिकाको बाकु, व्याँस गाउँपालिकाको बडुगाउँ, बर्तीघाट र मालघाटमा झोलुंगे पुल निर्माण भइरहेको छ । 

चारवटै ठाउँमा तुइन तथा ट्युब विस्थापनअन्तर्गत अहिले पुल निर्माणको काम भइरहेको छ । व्याँस गाउँपालिका– २ को माल तथा ३ र ४ को बर्तीघाटमा झोलुंगे पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । गत वर्ष कोरोनाका कारण अघि बढ्न नसकेको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । 

यी दुवै ठाउँमा खम्पाचे–रुविना जेभी काठमाडौंले झोलुंगे पुल निर्माणका लागि कुल दुई करोड ७३ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो । यस्तै, बाकु र बडुगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुंगे पुल निर्माणको ठेक्का पाएको छ । दुवै ठाउँको पुल निर्माण गर्न कुल दुई करोड ५५ लाख ६४ हजार लागतमा सम्झौता भएको थियो ।

अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको छ, नेपालले भारतसँग प्रस्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्छ : डा युवराज संग्रौला, अन्तर्राष्ट्रिय कानुनका विज्ञ

दार्चुलामा एसएसबीले जे गर्‍यो त्यो अन्तर्राष्ट्रिय सन्धि, अन्तर्राष्ट्रिय फौजदारी र मानवीय कानुनको उल्लंघन हो । एसएसबीको ठाडो दादागिरी हो । मान्छे तरिरहेका वेला तुइन काट्नेजस्तो अमानवीय काम गर्ने अनुमति भारतीय कानुनले पनि दिँदैन ।

यसमा धेरै अन्तर्राष्ट्रिय कानुन, सन्धि आकर्षित हुन्छन् । तुइनमा रहेको व्यक्ति अपराधी नै भए पनि संवाद गरेर माग्नुपर्छ । तर, नदीमा खसाउन पाइँदैन । नेपालले यस विषयमा भारतको स्पष्ट जवाफ र क्षतिपूर्ति माग्नुपर्छ । मागेन भने सरकार नागरिकको सुरक्षाप्रति जिम्मेवार भएको मानिँदैन । 

सीमामा एसएसबीको शृंखलाबद्ध ज्यादती

- आफ्नै भूमिमा कल्भर्ट बनाउँदा कञ्चनपुरमा एसएसबीको गोलीबाट गोविन्द गौतमको ज्यान गयो

- सीमा मिचेको विरोध गर्दा तीन दशकअघि सप्तरीको लालापट्टीमा गोली हानेर किसुनदेव यादवको हत्या

-९ मंसिर ०७२ मा सुनसरीको हरिपुरस्थित दसगजा क्षेत्रमा एसएसबीले गोली चलाएर स्थानीय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादवलाई घाइते बनायो ।

- एसएसबीले मोरङको अमाहिवरियातीस्थित प्रहरी चौकीका हवल्दार शम्भु चौधरीको हत्या प्रयास गर्‍यो, उनलाई जोगाउन गएका धनपालथान गाउँपालिकाका वासुदेव साहको एसएसबीको गोलीबाट ज्यान गयो ।

- सप्तरीको तिलाठीमा भारतीय पक्षले जबर्जस्ती बनाएको बाँधको विरोध गर्दा देवनारायण यादवसहित दर्जनौँको टाउको फुटाइयो ।

-  नेपालभित्रै पुल बनाउँदा एसएसबीले पर्साको ठोरीमा सडक भत्कायो । जनप्रतिनिधि र स्थानीयको प्रतिवादपछि फर्किन बाध्य भयो ।

- गत २२ असारमा मोरङको जोगवनी नाकाबाट साइकलमा खाना पकाउने ग्यास लिएर आउँदै गरेका विराटनगर– २२ का ४५ वर्षीय युसुफ मियाँसँग एसएसबीले घुस मागे । दिन अस्वीकार गरेपछि निर्घात कुटेर नालामा फालिदिए ।

दुई वर्षभित्र तुइन विस्थापित गर्छु भनेका ओलीले चार वर्ष शासन गरे, तर अझै विस्थापित भएनन् तुइन

देशमा अझै १२ वटा तुइन, महाकाली नदीमा मात्र चार तथा कर्णाली र कालीगण्डकीमा आठ तुइन

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठ ०७७ मा आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संसद्मा भनेकी थिइन्, ‘तुइनको कष्टकर र जोखिमपूर्ण आवागमनलाई अन्त्य गर्ने सरकारको प्रतिबद्धता पूरा भएको छ ।’ तर, अझै मुलुकमा १२ वटा तुइन बाँकी छन्, जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

२५ असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री नियुक्त भएपछि केपी ओलीले दुई वर्षभित्र देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । दुई वर्षभित्र तुइन विस्थापनको घोषणा गरेका ओली पहिलो कार्यकालमा एक वर्ष नपुग्दै बहिर्गमन भए । 

दोस्रो कार्यकालमा पनि उनले तीन वर्ष शासन गरे । तर, उनको पहिलो कार्यकालको पहिलो निर्णय अहिलेसम्म पूरा हुन सकेन । ओलीले आफ्नो कार्यकालभर तुइन विस्थापनलाई ठूलो उपलब्धिका रूपमा व्याख्या गरिरहे । यसैलाई आधार मानेर राष्ट्रपतिले नीति तथा कार्यक्रममा एक वर्ष अगाडि नै सरकारको प्रतिबद्धता पूरा भएको बताएकी थिइन् । 

सरकारी तथ्यांकअनुसार ०७२ मा मुलुकमा एक सय ४२ वटा तुइन थिए । तुइन विस्थापन गरी झोलुंगे पुल बनाउने नीति लिइएपछि त्यसयता एक सय एक सय ३० वटा विस्थापन गरिएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक ईश्वरचन्द्र मराहठ्ठाले जानकारी दिए । ‘अब १२ वटा तुइन विस्थापन गर्न बाँकी छ, गत आव ०७७/७८ मै सक्ने लक्ष्य थियो, तर कोरोनाका कारण सकिएन,’ उनले भने, ‘आगामी चैतभित्र तुइन विस्थापन भइसक्छ ।’

विभागका अनुसार दार्चुलाको महाकाली नदीमा मात्र चारवटा तुइन छन् । सीमा भएर बग्ने उक्त नदीमा पुल बनाउन भारतसँग सहकार्य गर्नुपर्ने हुन्छ, त्यसैमा निषेधाज्ञा भएपछि पुल निर्माण एक वर्ष ढिलो भएको मराहठ्ठाको दाबी छ । बाँकी आठवटा तुइन कर्णाली र कालीगण्डकी नदीमा छन् । 

‘पुल बनाउँदा नेपाल र भारत दुवैतिर पर्छ । निषेधाज्ञामा कामदार भारततिर जान पाएनन्,’ उनले भने । विभागका अनुसार झोलुंगे पुलका लागि लट्ठा (केवल झुन्ड्याउने डन्डी) ठेक्काको काम भारतको महाराष्ट्रको एउटा कम्पनीले पाएको थियो । तर, निषेधाज्ञाका कारण भन्दै त्यो पनि आएन ।

पहिलो कार्यकालको पहिलो निर्णयमा ओलीले दुई वर्षभित्र देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तुइन विस्थापनका लागि एक अर्ब बजेट छुट्याइएको थियो । तर, एक वर्ष नपुग्दै उनी प्रधानमन्त्रीबाट पदमुक्त भए । 

०७४ को निर्वाचनपछि ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भए । त्यसको एक वर्षपछि २ फागुन ०७५ मा ओली सरकार गठनको एक वर्षको अवसरमा ओलीले आफूले सुरु गरेको तुइन विस्थापित गर्ने अभियान अन्तिम चरणमा पुगेको बताए । उनले उक्त वर्ष हरेक तीन दिनमा एउटाका दरले तुइन विस्थापन भएको दाबी गरे । 

अर्काे वर्ष ३ फागुन ०७६ मा सरकार सञ्चालनको दुई वर्ष पूरा भएको सन्दर्भमा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दा पनि तुइनको विषयलाई महत्व दिएर उठाए । उनले देशभरमा विस्थापित हुन बाँकी तुइनको संख्या डेढ दर्जनभन्दा बढी नभएको दाबी गरे । 

सोही दिन तुइनलाई लिएर प्रतिनिधिसभामा पनि प्रश्न उठेको थियो । त्यसको जवाफ दिँदै ओलीले भने, ‘दार्चुलामा एक–दुईवटा तुुइन विस्थापन हुने क्रममा छन् । अचम्म लाग्छ होला साथीहरूलाई यहाँबाट मुग्लिन जाँदा बाटाभरि तुइनैतुइन, तुइनैतुइन माकुराको जालोजस्तो देखिन्थे, एउटा पनि देखिँदैन । मैले त्यही भएर भनिराखेको थिएँ, पछि सन्ततिलाई देखाउनका लागि फोटो खिचिराख्नुस् है अलि पछि तुइन हुँदैनन् भनेर । सवा सयजति तुुइन हटिसके, केही तुइन हट्दै छन् । तुइन पनि हटाउन नसक्ने सरकारले के गर्छ भन्नुभयो, हो तुइन हटाउन नसक्ने, विकास ल्याउन नसक्ने, गरिबी हटाउन नसक्ने, देश विकास गर्न नसक्नेले के गर्छ ? त्यही कारण त हामी चाहिएको, हामी त्यही गर्दै छौँ अहिले ।’

त्यसको तीन महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै २ जेठ ०७७ मा तुइनमा हुने आवागमन अन्त्य गर्ने सरकारको प्रतिबद्धता पूरा भएको बताउँदै भनिन्, ‘आधुनिक प्रविधिसहित सडक रेल, विमानस्थल, खानेपानी, सिँचाइलगायत ठूला भौतिक पूर्वाधारको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । तुइनको कष्टकर र जोखिमपूर्ण आवागमनलाई अन्त्य गर्ने सरकारको प्रतिबद्धता पूरा भएको छ ।

यद्यपि, त्यसको नौ महिनापछि ३ फागुन ०७७ मा तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै ओलीले केही तुइन बाँकी भएको बताए । उनले भने, ‘हालसम्म एक सय ३० वटा तुइन विस्थापित गरी झोलुंगे पुल निर्माण गरिएका छन् । सीमानदी महाकालीसहित पाँच स्थानमा झोलुंगे पुल निर्माण कार्य बाँकी छन् । प्राविधिक हिसाबले तुइन राखी नदी तरी–तराउ गर्ने स्थान अब बाँकी छैनन् । यस तीन वर्षको अवधिमा एक हजार चार सय २३ झोलुंगे पुल निर्माण गरिएका छन् ।’

कञ्चनपुरबाट मोहन विष्ट, लहानबाट मणिलाल विक, वीरगन्जबाट तिवारी यादव र विराटनगरबाट गणेश लम्साल