
नेपाल वातावरण पत्रकार समूह (नेफेज) र काठमाडौं विश्वविद्यालय (केयू)बीच आपसी सहकार्यसम्बन्धी सात बुँदे समझदारीपत्रमा शुक्रबार हस्ताक्षर भएको छ । विश्वविद्यालय र यसअन्तर्गतका संकायमा कार्यरत प्राध्यापक, विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले गर्दै आएका अध्ययन, अनुसन्धान तथा खोजलाई सञ्चारमाध्यममार्फत आमनागरिक र नीति–निर्मातासम्म पुर्याउने लक्ष्यका साथ समझदारी भएको हो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको उपस्थितिमा उक्त हस्ताक्षर भएको हो । समझदारीपत्रमा समूहका तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार प्रा.डा. सुबोध शर्माले हस्ताक्षर गरेका छन् ।
अनुसन्धान तथा अध्ययनका निचोड तथा सुझाबलाई व्यवहारमा कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्न समूहले आफ्ना सञ्चारमाध्यम (श्रव्यदृश्य, रेडियो, अनलाइन र छापा)मार्फत आफ्नो भूमिका निर्वाह गर्नेछ । विश्वविद्यालयले पनि आफूले गरिरहेका अध्ययन, अनुसन्धान तथा खोजहरू समूहलाई उपलब्ध गराउनेछ । ती सामग्री सार्वजनिक गर्दा लाग्ने आर्थिक स्रोत उपलब्ध भएसम्म विश्वविद्यालयले समूहलाई उपलब्ध गराउनेछ । अन्य स्रोतहरूको पहिचान र परिचालनमा पनि सहकार्य गर्ने समझदारी भएको छ । यसैगरी वातावरण र दिगो विकासका मुद्दाहरूमा दुई संस्थाले संयुक्त रूपमा राष्ट्रिय बहसका कार्यक्रमहरू पनि गर्नेछन् ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले समझदारीपत्रले दुई संस्थाबीचको सहकार्यको बाटो खोलेको बताए । नेफेज अध्यक्ष कसमस विश्वकर्माले अध्ययन–अनुसन्धानलाई जनतासम्म पुर्याउने मुख्य लक्ष्यका साथ समझदारी गरिएको बताए ।