१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३७:oo

गण्डकीमा दलित समुदायका डोबाटे विश्वकर्माको नाम काटेर जग्गा व्यवसायी बिन्दुकुमार थापालाई र केन्द्रमा अस्पताल सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मा दिएर आलोचित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय योजना आयोगमा भने योग्य अर्थशास्त्रीलाई नियुक्त गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग उपाध्यक्षमा डा. विश्व पौडेललाई नियुक्त गरेको छ । 

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको भिजिटिङ एसोसिएट प्रोफेसरका रूपमा कार्यरत पौडेल युलेन्स स्कुलका बोर्ड अफ ट्रस्टी पनि हुन् । त्यस्तै, आयोगको सदस्यहरूमा डा. रामकुमार फुँयाल र डा. दिलबहादुर गुरुङ नियुक्त भएका छन् । 

नवनियुक्त उपाध्यक्ष पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्निया (बर्कले)बाट कृषि तथा स्रोत अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनको प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा विशेष दख्खल छ । डा. पौडेल ७३ मेगावाटको मध्यतमोर जलविद्युत् आयोजनाको सञ्चालकसमेत हुन् । उनले सानिमा बैंकको सञ्चालक समिति सदस्यका रूपमा समेत काम गरेका थिए । उनले विगतमा अन्तर्राष्ट्रिय श्रम संगठनको सल्लाहकार, मिलेनियम च्यालेन्ज नेपालको कार्यालयमा अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको सल्लाहकारका रूपमा काम गरिसकेका छन् ।

कोरोना महामारी तथा बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका कारण अर्थतन्त्र अप्ठ्यारोमा रहेकाले यसको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको डा. पौडेलले बताए । ‘म आर्थिक नीतिहरू स्थिर हुनुपर्छ भन्ने मान्यता राख्छु, अर्थात् ‘म्याक्रोइकोनोमिक स्टाबिलिटी’ हुने गरी काम गर्नेछु,’ उनले भने, ‘आर्थिक नीतिहरू छोटोछोटो समयमा परिवर्तन भइरहनु अर्थतन्त्रका लागि राम्रो होइन ।’

योजना आयोगले मुलुकको परियोजना निर्माणमा काम गरिरहेकाले त्यसमा हालसम्म भएका कामको समीक्षा गर्दै सुधार गर्ने उनले बताए । त्यस्तै, आयोगअन्तर्गत रहेको केन्द्रीय तथ्यांक विभागलाई आधुनिकीकरण गर्ने पनि उनले बताए । ‘आयोग तथा यसअन्तर्गतका संस्थाहरूलाई बलियो बनाउनेमा मेरो ध्यान केन्द्रित हुनेछ,’ उनले भने । योजना आयोगजस्ता संस्थाहरू सरकारको अस्थिपञ्जर भएकाले तिनलाई बलियो बनाउँदा राज्य बलियो बन्ने पनि उनले बताए ।