मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ श्रावण ७ बिहीबार ०८:३१:००
Read Time : > 6 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

माधव नेपाल ‘गद्दार’बाट दोस्रो अध्यक्ष ! 

Read Time : > 6 मिनेट
२०७८ श्रावण ७ बिहीबार ०८:३१:००

पार्टी निर्णय र निर्देशन उल्लंघन गर्ने माधव नेपाल कम्युनिस्ट आन्दोलनकै गद्दार भएको अभिव्यक्ति दिएको तीन दिनमै एमाले अध्यक्ष केपी ओलीले नेपाललाई दोस्रो अध्यक्षका रूपमा स्वीकार गर्न सकिने बताएका छन् । केन्द्रीय कमिटीको बुधबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाललाई पार्टीको दोस्रो अध्यक्ष स्विकारेर भए पनि एकता जोगाउन तयार रहेको दाबी गरेका छन् । 

‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ, अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ । १०बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचना २ जेठ ०७५ कै अवस्थाबाट क्रियाशील हुनेछन्,’ ओलीको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘माधव नेपालले मिल्ने हो भनेर दोस्रो अध्यक्ष मागे । मैले भनेको छु– पार्टी एकता बचाउन माधव आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी एकता भए नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार रहेको बताएको केन्द्रीय सदस्य खिमलाल भट्टराईले बताए । ‘अध्यक्षले बिहीबारसम्म केही नयाँ हुँदै छ भन्ने आशा देखाएर सम्बोधन गर्नुभयो, बैठक बुधबार सक्ने भने पनि लम्ब्याइएको छ,’ भट्टराईले ओलीलाई उद्धृत गर्दै नयाँ पत्रिकासँग भने, ‘पार्टीको बृहत्तर एकताका लागि हामी अधिकतम लचक हुन तयार छौँ, अहिले दोस्रो अध्यक्ष भए हुन्छ भन्ने पनि कुरा आएको छ, पार्टी हितका निम्ति त्यो कुनै ठूलो कुरा भएन, म उहाँ (माधव नेपाल)लाई मान्न तयार छु ।’

ओलीले वरिष्ठ नेता नेपालले देउवालाई मतदान गरेर संसद् बचाइएको तर्क गरेको भन्दै खण्डन गरेका थिए । उनले पार्टीकै सांसदले आफूलाई विश्वासको मत नदिएका कारण संसद् बचाउन नसकिएको दृष्टान्त प्रस्तुत गर्दै त्यो भ्रमपूर्ण प्रचार मात्रै भएको प्रस्ट्याएका थिए । 

बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले अध्यक्ष ओलीले अन्तिमसम्म एकताका लागि प्रयत्न गरेर विभाजन रोक्ने बताएको जानकारी दिए । ‘हामी अहिले पनि पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयत्न गरिरहेका छौँ । मोही नै मथेर भए पनि थोरै नौनी निस्किन्छ भने अन्तिमसम्म एकताका लागि प्रयत्न गर्नेछौँ,’ ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने, ‘तर, आन्दोलनलाई घात गर्ने प्रवृत्तिलाई, ध्येयलाई कुनै पनि हालतमा सफल हुन दिनेछैनौँ ।’ 

आफूले हदैसम्म लचकता अपनाउँदा पनि नेपाल केन्द्रीय कमिटीमा बहुमत पुर्‍याएर आफूलाई निकाल्ने योजनामा रहेकोसमेत ओलीको भनाइ थियो । ‘मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएकै छैन, अनेक बहानाबाजी गरिँदै छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भन्ने कुरा आएको छ, के हामीलाई पार्टीबाट निकाल्नका लागि ?’ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘ढुक्क हुनुहोस् कमरेडहरू, त्यस्तो हुन दिइनेछैन, उनीहरूले यस्तो अभ्यास त पहिले पनि गरेकै हुन् ।’

आफ्नै सरकारविरुद्ध संसद्मा मतदान गरेर आपराधिक काम गर्दासमेत आफूले अझै एकताका लागि प्रयास गरिरहेको ओलीको भनाइ थियो । ‘संसद्मा आफ्नै सरकारलाई मतदान गर्न उहाँहरू उपस्थित हुनुभएन, विपक्षीको सरकारलाई मत हालेर आफ्नो सरकार ढाल्नुभो, त्योभन्दा अनैतिक, आपराधिक र अराजनीतिक काम अरू के हुन्छ ? तर, मैले केही घिउ लागिहाल्छ कि भनेर फिँज हेरेरै भए पनि मथेको–मथ्यै छु, म अझै थाकिसकेको छैन, एकतामा कुनै कञ्जुस्याइँ गर्ने काम मबाट हुनेछैन ।’

अदालतको निर्दलीय व्याख्या संविधान संशोधनबाट सच्याउने
एमालेले सर्वोच्च अदालतले संविधानको धारा ७६ (५)लाई राजनीतिक दलको ह्विप नलाग्ने गरी निर्दलीय व्याख्या गरेको निष्कर्ष निकाल्दै त्यसलाई संविधान संशोधनबाट सच्याउने प्रस्ताव पारित गरेको छ । ‘एमाले विधिको शासन र न्यायपालिकाको स्वतन्त्रतामाथि विश्वास गर्ने पार्टी हो । संविधान बनाउने क्रममा संविधानसभामा न्यायपालिकालाई संसद्को मातहत ल्याएर अदालतको काम अनुगमन गर्ने, न्यायाधीशको पुनर्नियुक्ति गर्ने, बेग्लै संवैधानिक अदालत बनाउने कुरालाई रोक्दै न्यायपालिकाको स्वतन्त्रताका लागि हामी हिजो लडेका थियौँ र भोलि पनि लड्छौँ, फैसला कार्यान्वयन गर्छौँ, तर हाम्रा विमतिलाई जनताको बीचमा लगेर यसले सिर्जना गरेको समस्या र साइड इफेक्टबारे प्रस्ट्याउँछौँ,’ ज्ञवालीले बैठकले पारित गरेको विशेष प्रस्तावबारे जानकारी दिँदै भने, ‘भोलिका दिनमा साइड इफेक्ट र यसका असरलाई संवैधानिक माध्यमबाट समाधान गर्छौँ र आवश्यकता पर्दा धारा ७६ को उपधारा ५ लाई संशोधन गरेर निर्दलीय व्याख्या सच्याउँछौँ ।’ 

बैठकले सर्वोच्चको फैसलाले शक्ति पृथकीकरण र नियन्त्रण र सन्तुलनको अवस्थालाई खलबल्याएको, संविधानको आधारभूत संरचना कमजोर तुल्याएको, पार्टी स्वतन्त्रता र दलीय प्रणालीलाई प्रहार गरेको निष्कर्ष निकालेको छ । त्यस्तै, अदालतले माग्दै नमागेको विषयमा समेत अतिरिक्त न्याय सक्रियता देखाएकोमा आपत्ति प्रकट गर्दै कानुनको अपव्याख्याबाट मुलुकको लोकतान्त्रिक प्रणालीलाई नै गलत बाटोमा हिँडाउन खोजेको ठहर गरेको छ । बैठकमा महासचिव ईश्वर पोखरेलले प्रदेश अध्यक्षहरूले राखेको प्रश्नहरूको जवाफ दिएका थिए ।

त्यस्तै, बैठकले पार्टीले खेल्ने प्रतिपक्षको भूमिकाका सम्बन्धमा समेत प्रस्ताव पारित गरेको छ । प्रवक्ता ज्ञवालीले एमालेले प्रतिपक्षका रूपमा संविधान, राष्ट्रियता र लोकतन्त्रको रक्षाका निम्ति अग्रपंक्तिमा रहेर काम गर्ने तथा मुलुकलाई अस्थिरतातर्फ, प्रतिगमनतिर लैजाने, उपलब्धिहरूलाई उल्ट्याउने गतिवधि हुन नदिन पार्टीले संसद्भित्र र बाहिर दुवैतिर खबरदारीको भूमिका खेल्ने बताए । ‘हाम्राविरुद्ध जुन घेराबन्दी भएको छ, तोड्ने प्रयत्न गर्नेछौँ, जनमत अभिवृद्धि गर्ने गरी सरोकारका विषयमा जनताका बीच जानेछौँ,’ ज्ञवालीले भने ।

त्यस्तै, बैठकले पार्टीपंक्तिलाई अहिले देखा परेको प्रतिकूलतामा निराश नहुन, पार्टीको पक्षमा दृढतापूर्वक उभिन र फेरि बहुमतका साथ राष्ट्रिय राजनीतिको केन्द्रभागमा पार्टी फर्किने आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गरेको छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा ४१ महिना बिताएको पार्टीको सरकारले भित्र–बाहिरको घेराबन्दीबीच संविधानको पूर्ण कार्यान्वयन, संघीयताको कार्यान्वयन, पृथकतावाद, हिंसात्मक द्वन्द्व अन्त्य गर्नेजस्ता महत्वपूर्ण काम गरेको बैठकले निष्कर्ष निकालेको छ ।

केन्द्रीय कमिटीमा ओलीका अभिव्यक्ति 

सोमबार : लालगद्दार माधव नेपाललाई एमालेमा ठाउँ छैन 

पार्टी निर्णय र निर्देशन उल्लंघन गर्ने माधव नेपाल कम्युनिस्ट आन्दोलनकै गद्दार हुन् । उनलाई अब एमालेमा कुनै ठाउँ दिन सकिँदैन, गद्दारी गर्नेहरूलाई कारबाही नगर्ने हो भने पार्टी पार्टीका रूपमा रहन सक्दैन । कोही साथीहरू सुध्रिएर आउनुहुन्छ भने स्वागत छ, तर माधव नेपाललाई ठाउँ छैन ।

बुधबार : एकताका लागि आए दोस्रो अध्यक्ष दिन तयार छु
एकताका लागि हदैसम्म लचिलो छौँ, अन्तिमसम्म प्रयास हुन्छ । १०बुँदे सहमति कार्यान्वयन हुन्छ । एकता भएमा सबै संरचना २ जेठ ०७५ कै अवस्थाबाट क्रियाशील हुनेछन् । माधव नेपालले मिल्ने हो भनेर दोस्रो अध्यक्ष मागे । मैले भनेको छु– एकताका लागि आए दोस्रो अध्यक्ष दिन तयार छु ।

तर, माधव समूहकानेता मुकुन्द न्यौपाने भन्छन्– ओलीलाई सुधारेर सँगसँगै जान सकिँदैन

केपी ओलीमा कम्युनिस्ट आचरण र व्यवहार केही नै छैन, त्यसैले उनी कम्युनिस्ट नै होइनन्, त्यस्ता मान्छेलाई सुधारेर सँगसँगै जान सकिँदैन, त्यसैले क्रान्तिकारी दिशामा अगाडि बढ्न अब विकल्प खोज्नुपर्छ ।

संस्थापन पक्षका गतिविधि एकताविरोधी : नेपाल समूह

ठूलो प्रतिगामी षड्यन्त्र परास्त गरेका छौँ : माधव नेपाल, वरिष्ठ नेता, एमाले

संविधान फेल गराउने, लोकतन्त्र असफल पार्ने षड्यन्त्र थियो । हामीले संसद् जोगाएर त्यो ठूलो प्रतिगामी षड्यन्त्र परास्त गरेका छौँ । जसले पार्टीका तर्फबाट संसद् जोगाउन मतदान गर्नुभो, उहाँहरू सबैलाई धन्यवाद । तर, जसले अन्तिममा मत नदिएर तटस्थ बस्नुभो, उहाँहरूलाई पनि धन्यवाद नै छ । किनभने तटस्थ बस्ने साथीले पनि ओलीलाई प्रत्यक्ष सहयोग गर्नुभएन ।

ओलीका गतिविधि एकताविरोधी छन् : युवराज ज्ञवाली, नेता, एमाले

अहिले एकता प्रक्रिया चलिरहेका वेला संस्थापन पक्षले केन्द्रीय कमिटी बैठकबाट दशबुँदे सहमतिको प्रस्ताव अनुमोदन गरेको छ, अर्कोतिर सांसदलाई स्पष्टीकरण सोध्ने, माधव नेपालविरुद्ध विभिन्न जनवर्गीय संगठन लगाएर अनेक खालका अभद्र, अशिष्ट र अलोकतान्त्रिक गतिविधि सञ्चालन गर्ने काम भएका छन् । यसले एकतामा भाँजो हाल्ने काम गर्छ ।

...                                                            ...

एमालेको माधवकुमार नेपाल समूहले संस्थापन पक्षका पछिल्ला गतिविधि पार्टी एकताविरोधी रहेको निष्कर्ष निकालेको छ । बुधबार स्थायी कमिटी बैठकमा बोल्ने सदस्यहरूले कारबाही प्रक्रिया, नारा–जुलुस र अध्यक्ष केपी ओलीका गतिविधि एकताविरोधी रहेको बताएका हुन् । 

अराजनीतिक क्रियाकलाप तत्काल बन्द गरेर एकताको वातावरण बनाउन असन्तुष्ट समूहले संस्थापन पक्षसँग माग पनि गरेको छ । सरकारलाई विश्वासको मत दिएको विषयलाई लिएर संस्थापन पक्षले वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई स्पष्टीकरण पठाएपछि बसेको असन्तुष्ट पक्षका स्थायी कमिटी सदस्यहरूको बैठकले एकताको वातावरण बनाउन संस्थापन पक्षको ध्यानाकर्षण गराएको हो । 

बैठकमा नेता नेपालले संविधान फेल गराउने, लोकतन्त्र असफल पार्ने षड्यन्त्र परास्त गरेको बताएका थिए । देउवालाई विश्वासको मत नदिने आफ्नो समूहका सांसदहरूप्रति भने उनले असन्तुष्टि राखे । 

‘संविधान फेल गराउने, लोकतन्त्र असफल पार्ने षड्यन्त्र थियो । हामीले संसद् जोगाएर त्यो ठूलो प्रतिगामी षड्यन्त्र परास्त गरेका छौँ,’ नेपालको भनाइ थियो, ‘जसले पार्टीका तर्फबाट संसद् जोगाउन मतदान गर्नुभो, उहाँहरू सबैलाई धन्यवाद । तर, जसले अन्तिममा मत नदिएर तटस्थ बस्नुभो, उहाँहरूलाई पनि धन्यवाद नै छ । किनभने तटस्थ बस्ने साथीले पनि ओलीलाई प्रत्यक्ष सहयोग गर्नुभएन ।’

बुधबारको बैठकमा स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, रघुजी पन्त र मुुकुन्द न्यौपानेले धारणा राखेका थिए । स्थायी कमिटी सदस्य ज्ञवालीले संस्थापन पक्षका गतिविधि एकताविरोधी देखिएको बैठकको निष्कर्ष भएको बताए । तर, आफूहरूको प्रयास एकतामै केन्द्रित हुनुपर्ने सुझाब आएको उनले बताए । 

‘संसद् बचाउन मतदान गरेर नेपालको संविधानको रक्षा गर्ने महत्वपूर्ण काम भएको छ, अब हाम्रा सम्पूर्ण क्रियाकलाप र गतिविधि पार्टीलाई एकताको दिशामा फर्काउने कुरामा केन्द्रित हुनुपर्छ भन्ने सुझाब आएको छ,’ ज्ञवालीले नयाँ पत्रिकासँग भने, ‘तर, अहिले एकता प्रक्रिया चलिरहेका वेला संस्थापन पक्षले केन्द्रीय कमिटी बैठकबाट दशबुँदे सहमतिको प्रस्ताव अनुमोदन गरेको छ, अर्कोतिर सांसदलाई स्पष्टीकरण सोध्ने, माधव नेपालविरुद्ध विभिन्न जनवर्गीय संगठन लगाएर अनेक खालका अभद्र, अशिष्ट र अलोकतान्त्रिक गतिविधि सञ्चालन गर्ने काम भएका छन् । यसले एकतामा भाँजो हाल्ने काम गर्छ भन्ने बैठकको निष्कर्ष छ ।’ 

उनले दुवैतर्फबाट एकताविरोधी गतिविधि बन्द गरेर सबैले आ–आफ्नो ठाउँबाट पार्टी एकताका लागि योगदान पुर्‍याउनुपर्नेमा बैठकले जोड दिएको पनि बताए । ‘सर्वोच्च अदालतको फैसला खण्डित हुने गरी क्रियाकलाप गर्नु संविधान र सर्वोच्चको फैसलाविपरीत हुन्छ । संविधानको सर्वोच्चता मान्ने पार्टीले संविधान र सर्वोच्च अदालतको फैसलाबमोजिम भएको कामलाई रोक्न मिल्दैन । त्यसैले कारबाही रोकेर एकताका लागि सबैतिरबाट वातावरण बनाउनुपर्छ,’ ज्ञवालीले भने ।

स्थायी कमिटीका अर्का सदस्य भुसालले आफूहरूले कांग्रेसको नेतृत्वमा सरकार बनाउन नभएर प्रतिनिधिसभा पुनर्स्थापना र संविधान बचाउने कामको अगुवाइ गरेको तथा त्यसले सफलता प्राप्त गरेकाले अबको सम्पूर्ण ध्यान पार्टीलाई एकताबद्ध बनाउनेतर्फ केन्द्रित गर्नुपर्ने सुझाब राखेका थिए ।

‘हामीले संसद् बचाउने काममा महत्वपूर्ण योगदान पुर्‍यायौँ, संसद् र संविधान बच्यो । अब सम्पूर्ण शक्ति पार्टी एकतामा केन्द्रित गर्नुपर्छ,’ बैठकमा भुसालको भनाइ थियो । 

स्थायी कमिटीका अर्का सदस्य पन्तले पनि ज्ञवाली र भुसालकै जस्तो सुझाब राखेका थिए भने मुकुन्द न्यौपानेले भने ओलीसँग मिलेर जान सकिने सम्भावना न्यून रहेको धारणा राखेका थिए । ‘केपी ओलीमा कम्युनिस्ट आचरण र व्यवहार केही नै छैन, त्यसैले उनी कम्युनिस्ट नै होइनन्, त्यस्ता मान्छेलाई सुधारेर सँगसँगै जान सकिँदैन, त्यसैले क्रान्तिकारी दिशामा अगाडि बढ्न अब विकल्प खोज्नुपर्छ,’ न्यौपानेको भनाइ उद्धृत गर्दै स्थायी कमिटी एक सदस्यले भने ।

स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताबारे स्थायी कमिटी सदस्यको एकैखाले सुझाब आएको बताए । ‘पार्टी एकताबारे सबैको एउटै दृष्टिकोण प्रस्तुत भएको छ, कतिपय विषयमा मात्र कतिपयको बुझाइ फरक–फरक छ, तर घुमिफिरी पार्टीलाई विभाजित गर्ने र प्रतिपक्षको सट्टा सरकारमा सहभागी हुनुुपर्छ भन्ने धारणा स्थायी कमिटीमा छैन भन्दा पनि हुन्छ ।’

बैठकमा नेताहरूले स्थायी कमिटी सदस्य भीम रावलको अनुपस्थितिलाई लिएर नेपालसँग जिज्ञासा राखेका थिए । दशबुँदे सहमतिअनुसार पार्टीलाई एकताको दिशामा फर्काउनुपर्ने र सरकारलाई विश्वासको मत दिन नहुने अडान राखेका रावल वरिष्ठ नेता नेपालको पछिल्लो कार्यशैली र भूमिकाप्रति असन्तुष्ट थिए । 

नेपालले सरकारलाई तत्काल विश्वासको मत दिने विषयमा आफ्नो समूहभित्र छलफल नगरी निर्णय गरेको भन्दै असन्तुष्ट रावलले मतदानपूर्व सांसद पदबाट राजीनामा दिएका थिए । रावलको अनुपस्थितिमाथि प्रश्न उठाउँदै अधिकांश स्थायी कमिटी सदस्यले संवाद गर्न सुझाएपछि वरिष्ठ नेता नेपाल उनलाई भेट्न टोखा पुगेका थिए । त्यहाँ उनले सुदूरपश्चिमका संघीय सांसद, प्रदेश सांसद र मन्त्रीहरूसहितको उपस्थितिमा करिब दुई घन्टा रावलसँग संवाद गरेका छन् ।