१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
कृष्ण रिजाल काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:५२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वैदेशिक स्रोत परिचालन लक्ष्यको ४५ प्रतिशत मात्रै

बजेट ठूलो देखाउन आउँदै नआउने वैदेशिक स्रोत देखाउने प्रवृत्ति दोहोरियो, तीन खर्ब ६० अर्बको लक्ष्यमा एक खर्ब ६२ अर्ब मात्रै भित्रियो

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५२:oo

परिचालन नै गर्न नसक्ने गरी वैदेशिक स्रोत देखाएर ठूलो आकारको बजेट ल्याउने प्रवृत्ति नेपालका लागि नयाँ होइन । पछिल्ला वर्षहरूमा यस्तो प्रवृत्ति अझ बढ्दै गइरहेको छ । भर्खरै सकिएको आर्थिक वर्ष ०७७/७८ को तथ्यांकले पनि सरकारले लक्ष्यअनुसार वैदेशिक स्रोत ल्याउन र खर्च गर्न नसकेको देखाउँछ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ मा ३ खर्ब ६० अर्ब २ करोड रुपैयाँ वैदेशिक स्रोत परिचालन गर्ने लक्ष्यसहित ठूलो आकारको बजेट सार्वजिनक गरेका थिए । तर, उनले लिएको लक्ष्यअनुसार वैदेशिक स्रोत परिचालन हुन सकेन । बितेको आवमा लक्ष्यको ४५ प्रतिशत मात्रै वैदेशिक स्रोत परिचालन हुन सकेको अर्थसचिव शिशिरकुमार ढुंगानाले बताए । 

आव ०७७/७८ को बजेटले २ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ वैदेशिक ऋण र ६० अर्ब ५२ करोड रुपैयाँ अनुदान ल्याउने लक्ष्य राखेको थियो । त्यसमध्ये वैदेशिक ऋणतर्फ १ खर्ब ३९ अर्ब रुपैयाँ र अनुदानतर्फ १७ अर्ब ६१ करोड प्राप्त भएको सचिव ढुंगानाले जानकारी दिए । त्यस्तै, सीधा भुक्तानीतर्फ ५ अर्ब ४१ करोड रुपैयाँ विदेशी स्रोत परिचालन भएको हो । यस वर्ष कुल १ खर्ब ६२ अर्ब रुपैयाँ वैदेशिक स्रोत परिचालन हुन सकेको उनले बताए । 

 चालू आवमा पौने ४ खर्ब  वैदेशिक स्रोत आउला ?
चालू आव ०७८/७९ मा सरकारले पौने ४ खर्ब वैदेशिक स्रोत परिचालनको लक्ष्य लिएको छ । अघिल्लो सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट अध्यादेश ल्याएर कुल ३ खर्ब ७२ अर्ब वैदेशिक स्रोत परिचालनको लक्ष्य लिएका थिए । जसमध्ये ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान र ३ खर्ब ९ अर्ब २९ करोड वैदेशिक ऋणबाट बजेटको स्रोत पूर्ति गरिएको छ । तर, हालसम्मको प्रवृत्तिलाई हेर्दा यति धेरै वैदेशिक स्रोत प्राप्ति हुन सक्ने देखिँदैन । 

‘जवाफदेही नहुँदा प्रवृत्ति दोहोरियो’
सरकारले बजेटको आकार ठूलो बनाउन ल्याउनै नसक्ने वैदेशिक ऋण र अनुदानलाई स्रोत अनुमान गर्ने गरेको छ । बजेट ठूलो बनाउनकै लागि यस्ता वैदेशिक स्रोतको अनुमान गरिने हुँदा लक्ष्यअनुसार नउठ्ने अर्थविद् डा. विश्व पौडेल बताउँछन् । ‘जब बजेटमा उल्लेख भएअनुसार ऋण तथा अनुदान ल्याउन नसक्दा र खर्च गर्न नसक्दा कुनै जवाफदेही हुनुपर्दैन, भनेजति पनि राखिदिए भयो नि होइन ?’ उनले प्रश्न गर्दै भने, ‘नेपालमा बजेट ठूलो ल्याउन, जनतालाई सपना र झुटका पुलिन्दा देखाउन मात्रै पनि वैदेशिक ऋण र अनुदानको मात्रा धेरै राख्ने गरिन्छ, जो पछि उठ्दै उठ्दैन ।’ जवाफदेही नहुँदा यस्तो प्रवृत्ति दोहोरिरहेको उनले बताए । ‘आउनै नसक्दो स्रोतलाई देखाएर ठूलो बजेट ल्याउने होडबाजीमा १ सय खर्बको वैदेशिक स्रोत अनुमान गरेर सोही आकारको बजेट ल्याए पनि भयो नि,’ उनले भने ।

लक्ष्यको आधाभन्दा कम वैदेशिक स्रोत
पछिल्ला तीन वर्षको तथ्यांकलाई हेर्दा नेपालमा लक्ष्यको औसत ४२ प्रतिशत हाराहारी मात्रै वैदेशिक सहयोग आउने गरेको छ । सरकारले आव ०७६/७७ मा वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड रुपैयाँ र वैदेशिक ऋणबाट २ खर्ब ९८ अर्ब रुपैयाँ स्रोत परिचालन गर्ने लक्ष्य बनाएको थियो । तर, आर्थिक वर्षको अन्त्यसम्ममा सरकारले जम्मा ९० अर्ब ९६ करोड वैदेशिक ऋण र १६ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्न सकेको थियो । जुन लक्ष्यको ३० प्रतिशत हाराहारी मात्रै हुन आउँछ । त्यसअघि ०७५/७६ मा पनि लक्ष्यको ५१ प्रतिशत हाराहारी मात्रै वैदेशिक स्रोत परिचालन भएको देखिन्छ । सरकारले बजेट बढाउन ल्याउनै नसक्ने वैदेशिक ऋण र अनुदान परिचालनको सहायता लिने गरेको तथ्यांकहरूले देखाउँछ ।

ad
ad