१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार १९ शनिबार ०८:४८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

क्रियाशील सदस्य विवाद तत्कालका लागि टुंगियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार १९ शनिबार ०८:४८:००

सबै निर्णय सहमतिबाट गर्ने, विवाद भएका सदस्यको सदस्यता अर्को महाधिवेशनका लागि स्थगित गर्ने

कांग्रेसको क्रियाशील सदस्य विवाद तत्कालका लागि टुंगाएको छ । कांग्रेसले विवाद निरुपण सहमतिमा गर्ने र सहमति नबनेका सदस्यहरूको सदस्यता अर्काे महाधिवेशनका लागि स्थगित गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा बसेको शीर्ष नेताहरूको बैठकमा विवाद हटाउन मापदण्ड ल्याउनुको सट्टा सदस्यता नै अर्काे महाधिवेशनसम्मका लागि स्थगित गर्ने सहमति बनेको हो । बैठकले अहिले क्रियाशील छानबिनका सबै निर्णय सर्वसहमतिबाट गर्ने र विवाद भएका सदस्यको विषय अर्को महाधिवेशनका लागि स्थगित गर्ने निर्णय गरेको वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ पत्रिकालाई बताए । 

पौडेलका अनुसार वियजकुमार गच्छदारले फोरम लोकतान्त्रिकबाट प्रवेश भएकाको हकमा केन्द्रीय समितिमा पहिले पेस गरेको सूचीभन्दा बाहेकको नाम समावेश भएको भए हटाउने, अरू पार्टीबाट प्रवेश भएकाको हकमा गत १९ पुसको केन्द्रीय समितिको निर्णयबमोजिम तल्ला तहबाट सिफारिस भएर आएकाको मात्रै नवीकरण गर्ने, केन्द्रीय समितिको निर्णयविपरीत थप भएका सदस्यको हकमा वडा वा माथिल्लो कमिटी जहाँबाट थप भए पनि कटौती गर्ने र सबै निर्णय सर्वसहमतिले गर्ने र विवाद भए त्यस्ता विषय अहिले स्थगित गर्ने निर्णय बैठकमा भएको छ । 

‘धेरै कसरत गरेर एउटा टुंगोमा पुगेका छौँ । मापदण्ड बनाउनेभन्दा पनि छानबिन समितिलाई चारवटा मार्गनिर्देशन गर्‍यौँ, अब छानबिन समितिले नै त्यहीअनुसार काम गर्छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘मुख्य कुरा अहिले सबै सदस्यता छानबिनको विषयमा सहमतिबाट गर्ने, विवाद भए अर्को महाधिवेशनका लागि स्थगित गर्ने भन्ने निर्णय भएको छ ।’

बैठकले छानबिन समितिलाई आवश्यक प्रक्रिया पूरा गरी सहमतिबाटै विवाद समाधान गर्ने निर्देशन दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । महतका अनुसार करिब तीन सय वडामा सदस्यताको विषयमा विवाद देखिएको छ । ‘सबै विवाद सहज रूपमा सहमति गरेर टुंग्याउनुपर्छ भन्ने सहमति बनेको छ,’ महतले भने । 

क्रियाशील सदस्यतालाई लिएर कांग्रेसभित्र विवाद समाधान गर्न गठन गरिएको छानबिन समितिले पटक–पटक बैठक बस्दा पनि समाधान हुने नदेखिएपछि शीर्ष नेताहरूको बैठक बसेको हो । अहिलेसम्म आठ लाख २१ हजार क्रियाशील सदस्यको विवरण कांग्रेसको छानबिन समितिमा सूचीकृत भएको छ । त्यसमध्ये तीन लाख ९० हजार पुराना क्रियाशील सदस्य छन् भने नयाँ थप भएका क्रियाशील सदस्यको संख्या चार लाख ३० हजार नाघेको छ ।

अझै पनि सप्तरी, बर्दिया, बारा र सिन्धुपाल्चोकको सदस्यताको विवरण अपडेट भइसकेको छैन ।  क्रियाशील सदस्य कांग्रेसमा नेतृत्व चयन गर्ने पहिलो मतदाता हुन् । क्रियाशील सदस्य वडा तहमा बनाइन्छन् । प्रतिनिधिसभाको क्षेत्रमा भएका वडाका क्रियाशील सदस्यहरूले क्षेत्रीय अधिवेशन प्रतिनिधि चयन भएपछि उनीहरूमध्येबाटै केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिन्छ ।