Skip This
खनाल–नेपाल समूहको स्थायी कमिटीको निष्कर्ष : ओलीको एकतर्फी कदमले एकता असम्भव, सहमतिबाट सम्भव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १८ शुक्रबार
  • Saturday, 27 July, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२o७८ असार १८ शुक्रबार o४:५७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

खनाल–नेपाल समूहको स्थायी कमिटीको निष्कर्ष : ओलीको एकतर्फी कदमले एकता असम्भव, सहमतिबाट सम्भव

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार १८ शुक्रबार o४:५७:oo

अर्को समूहले बाध्य बनायो भने मात्र नयाँ पार्टी बन्ने हो : माधव नेपाल, वरिष्ठ नेता, एमाले

एकताको सम्भावना सकियो भन्ने होइन, सबैले सहमतिमै जोड गरेर पार्टी एकता जोगाउने हो । सबैले त्यसैमा जोड गर्नुहोस् । हाम्रो पहिलो इच्छा नै पार्टी एकता हो र त्यसमै लाग्ने हो । अर्को पार्टी बनाउनुपर्ने स्थिति अन्तिम बाध्यताका रूपमा आउने हो । अर्को समूहले बाध्य बनायो भने मात्र नयाँ पार्टी बन्ने हो ।

...                            ...                                          ...

पार्टी अध्यक्ष केपी ओलीले एकतर्फी रूपमा महाधिवेशन आयोजक कमिटी भंग गरेको अर्को दिन एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले सहमतिबाट मात्रै एकता सम्भव रहेको निष्कर्ष निकालेको छ । एकतर्फी कदमले नभई संवाद र सहमतिको प्रक्रियाबाट पार्टी एकता जोगाउन सकिने खनाल–नेपाल समूहको ठहर छ ।

संस्थापन समूहले दशौँ महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटीमा रूपान्तरण गरेपछिको विकसित परिस्थितिमाथि छलफल गर्न बिहीबार बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठकले ओलीको एकतर्फी कदमले निकास सम्भव नरहेको निष्कर्ष निकालेको हो । सबै नेताहरूको सुझाबपछि नेपालले सबैको इच्छा पार्टी एकता नै भएकाले सहमतिमा जोड गर्नुपर्ने निष्कर्ष सुनाएको स्थायी कमिटी सदस्य डा. बेदुराम भुसालले बताए । 

‘एकताको सम्भावना सकियो भन्ने होइन, सबैले सहमतिमै जोड गरेर पार्टी एकता जोगाउने हो । सबैले त्यसैमा जोड गर्नुहोस् भन्ने निष्कर्ष माधव कमरेडले सुनाउनुभयो,’ भुसालले नयाँ पत्रिकासँग भने, ‘हाम्रो पहिलो इच्छा नै पार्टी एकता हो र त्यसमै लाग्ने हो । अर्को पार्टी बनाउनुपर्ने स्थिति आयो भने त त्यो अन्तिम बाध्यताका रूपमा आउने हो । अर्को समूहले बाध्य बनायो भने मात्र नयाँ पार्टी बन्ने हो भनेर पछिल्लो धारणा निष्कर्षकै रूपमा राख्नुभयो ।’ 

संस्थापन समूहले महाधिवेशन आयोजक कमिटी भंग गरी शुक्रबार केन्द्रीय कमिटी बैठक डाकेको पृष्ठभूमिमा नेपालको भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाल समूहको बैठकले पार्टीलाई सम्पूर्ण रूपले २ जेठमा नफर्काएसम्म अवैधानिक आयोजक कमिटीबाट निर्णय गरिएका कारण केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निष्कर्ष निकालेको छ । 

कार्यदल तहमा भइरहेको अनौपचारिक छलफलमा सहमतिको सम्भावना देखिएको र थप गृहकार्य आवश्यक रहेको वार्तामा सक्रिय नेताहरूको ब्रिफिङ राखेपछि शुक्रबार डाकिएको केन्द्रीय कमिटी बैठक केही दिन पर सार्न आग्रह गर्ने समझदारी पनि बनेको छ । वार्तामा सहभागी हुँदै आएका नेताहरू सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतले संस्थापन समूहबाट छलफलमा सहभागी नेताहरू विष्णु पौडेल र शंकर पोखरेलमार्फत बैठक सार्न प्रस्ताव गरेका छन् । महाधिवेशन आयोजक कमिटी भंग भएपछि दुवै समूहका नेताहरूले बिहीबार साँझसम्म तीनपटक छलफल गरेका छन् । 

बैठकमा संस्थापनसँग छलफलमा रहेका नेताहरूले समझदारी भएभन्दा फरक तरिकाले महाधिवेशन आयोजक कमिटी भंग गरी केन्द्रीय कमिटी बैठक बोलाएकाले पनि शुक्रबार बोलाइएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नहुने धारणा राखेका थिए ।