१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ जेठ ३० आइतबार ०८:०६:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौंका ७५ प्रहरी पोस्ट कार्यालय अझै टहरामा, महानगरीय परिसरका प्रहरी नै भूकम्पमा आएका पालमुनि 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ जेठ ३० आइतबार ०८:०६:००

वर्षा आयो कि महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी तर्सिन्छन् । विष्णुमती खोलातर्फबाट ढल उर्लेर आउँछ, छेक्ने कसरी ? प्रहरीको वास नै टेन्टमा छ । हो, भूकम्पका वेला चीन सरकारले राहतमा टेन्ट दिएको थियो, त्यही टेन्टको भरमा छ महागरीय प्रहरी कार्यालय टेकु । महानगरीय प्रहरीको मुख्य कार्यालय नै यही हालतमा छ भने अन्य प्रहरी कार्यालयको हालत के होला ? हो राजधानीकै ७५ प्रहरी पोस्ट टेन्ट र जस्ताको टहरामा छन् । 

महानगरीय प्रहरी परिसरका आधा प्रहरीको हिउँद–बर्खा, घाम–पानी र दिन–रात यस्तै पालमुनि बित्छ, धन्न भूकम्पमा चीनसहितका विभिन्न देशले पाल दिएका थिए । तस्बिर : संजित परियार/नयाँ पत्रिका

१२ वैशाख ०७२ को भूकम्पले हनुमानढोकास्थित भवन क्षतिग्रस्त भएपछि महानगरीय प्रहरी परिसर ६ वर्षदेखि भवनविहीन छ । अहिले टेकुस्थित नेसनल ट्रेडिङ भएकै परिसरमा शरणमा छ । प्रहरी परिसरको आधा जनशक्ति नेसनल ट्रेडिङको भवनमा अटेको छ, आधा भने खुला चौरमा टेन्ट टाँगेर बसेको छ । डम्पिङसाइटछेउबाटै बग्ने ढल उर्लिएर प्रहरीलाई तर्साउँछ । 

‘प्लास्टिकको झुत्रा, मलमूत्र र कालो लेदोले जब नाली भरिन्छ, तब मानव मलमूत्रसहितको भेल टेन्टभित्र पनि पस्छ । ढल परिसरको प्रतीक्षालय हुँदै क्यान्टिनसम्म पुग्छ । त्यसपछि परिसर कार्यालयमा आवागमन नै प्रभावित बन्न पुग्छ । यस्तो वेला दुर्गन्धित ढल रोक्न परिसरमा कार्यालय प्रहरी कर्मचारीले निकै कष्ट झेल्नुपर्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेत भन्छन् । 

खासमा परिसर कार्यालयबाट बीच भाग हुँदै ढल बग्ने भएकाले समस्या भएको बस्नेतको भनाइ छ । ‘परिसरको बीचबाट नै ढल बगिरहेको छ । ठूलो पानी पर्दा ढल स्वतः ठूलो हुन्छ । अझ विष्णुमतीतर्फ जाने ढल कार्यालयतर्फ पो आउँछ । ढल भित्र आएपछि दुर्गन्धले बसिनसक्नु हुन्छ,’ उनी भन्छन् । 

परिसर कार्यालयको पछिल्लो भागमा छ, थुनुवा कक्ष । ढल बढेर कहिले त थुनुवा कक्ष जाने बाटो नै रोकिन पुग्छ । यस्तो वेला थुनुवाको सुरक्षा कसरी गर्ने ? ‘ढल बढेर कहिले त माथिसम्म आउँछ, जति छेक्दा पनि सकिन्न । यस्तो वेला थुनुवा कक्षको सुरक्षा गर्न निकै मुस्किल पर्छ । यही मौकामा थुनुवा भाग्यो या कसैले थुनुवामाथि केही ग¥यो भने के होला ?’ थुनुवा कक्षमा भेटिएका एक हवल्दार प्रतिप्रश्न गर्छन् । 

परिसर कार्यालय बीच भएर बग्ने ढलले प्रहरीलाई मात्र होइन, जब कोही सर्वसाधारण विभिन्न कामले पुग्छन्, त्यसवेला उनीहरूले पनि दुर्गन्ध सामना गर्नुपर्छ । ‘वैदेशिक रोजगारीमा आफन्त ठगिए, त्यसैले जाहेरी दिन टेकु आएको । प्रहरी कार्यालय छिर्न पाएको छैन, ढल गन्हाउन थाल्यो,’ परिसरको कार्यालयप्रति व्यंग्य गर्दै जडीबुटीका गोपाल राउतले भने, ‘महानगरीय प्रहरीको सेवा लिन अन्तर्राष्ट्रियस्तरका सेवाग्राही पनि आउँछन् । तर, यही ठाउँमा ढल गन्हाउँछ । यस्तो अवस्था हेर्दा नेपाल प्रहरीप्रति हेर्ने दृष्टिकोण उनीहरूको कस्तो हेला ? अवस्था सोचनीय लग्छ ।’

पानी रोकिएपछि घाम लाग्छ, सँगै ढल पनि आफ्नो बाटो लाग्छ । तर, ढलले बगाएर ल्याएको लेदो परिसरआसपास नै रहन्छन् । त्यसलाई जब घामले सुकाउँछ, धुलो बनाएर हुरीले बेस्सरी उडाउँछ । त्यसवेला परिसर नै कुइरीमण्डल बन्न पुग्छ । यो अवस्थाले प्रहरी र सेवाग्राही सबैको स्वास्थ्यमा गम्भीर चुनौती दिएको छ । 

बर्खामा मात्र होइन, हिउँदमा थुनिएर ढल कार्यालयतिर सोझिन्छ । ‘चैत–वैशाखको हुरीको कुरै नगरौँ, कतिखेर बतासिन्छ ठेगान छैन । हुरी आयो भने ढलमा आएको हिलो पनि धुलो बनेर कार्यालयवरिपरि मडारिन्छ,’ धुलोबाट हैरानी खेपेका परिसरका एक प्रहरी अधिकृतले भने, ‘मेरो कार्यकक्ष त झन् ढलसामुन्ने छ । ढलबाट आउने गन्ध त झेलेकै छु, हुरीले उडाएर ल्याउने धुलोले थप हैरानी परेको छ । कति मुख थुन्नु । फोहोर धुलो कति खाइयो ठेगानै छैन ।’ 

ढल र धुलोले मात्र होइन, हावाहुरीले पनि प्रहरीको सातो लिन्छ । हुरीले पाल र जस्ता उडाउला कि भन्ने चिन्ता हुन्छ । उता चर्को घाम लाग्दा टेन्ट र टहरा तातिएर उत्पात हुन्छ । चिसो मौसममा तपतप शीत चुहिन्छ । पानी पर्दा ढल र बाढी छिर्छ । राजधानीको सुरक्षा गर्ने जिम्मा पाएको महानगरीय प्रहरी परिसर ६ वर्षदेखि यस्तै नियति झेल्दै छ । 

‘टहरा र पालभित्र परिसरका केही कार्यालय छन् । सेवाग्राहीलाई सेवा दिने काम त्यहीँबाट हुँदै आएको छ । हावाहुरी चल्दा र पानी पर्दा भने समस्या आउनु त स्वाभाविक नै हो,’ परिसरका प्रवक्ता एसपी बस्नेतले भने, ‘तर, परिसरको निजी भवन बनेपछि समस्या समाधान हुनेछ ।’

भूकम्प गएको ६ वर्षसम्म पनि राजधानीकै प्रमुख प्रहरी परिसरको भवन ३० प्रतिशत मात्रै बनेको छ । ०७८ भदौभित्र सक्ने गरी भद्रकालीमा (नेपाल टेलिकमपछाडि) नेपाल प्रहरीको काठमाडौं परिसरको भवन बन्दै छ । नेपाल आयल निगमसँग १५ रोपनी जग्गा किनेर प्रहरीले एक अर्ब ५५ करोड रुपैयाँमा भवन निर्माण गर्दै छ । तर, काम भने ३० प्रतिशत सकिएको छ । त्यसकारण टेकुस्थित नेसनल ट्रेडिङको भवनबाट काठमाडौं परिसरको कार्यालय सर्न अझै कम्तीमा दुई वर्ष लाग्नेछ । 

महानगरीय प्रहरी वृत्त भने आफ्नै कार्यालयमा छन् । १४ वटा प्रहरी वृत्तमातहत ७५ प्रहरी पोस्ट छ, तर कुनै पनि पोस्टको भवन छैन । धेरैजसो पोस्ट टहरामा छन् । । पालमुनिका पोस्टमा प्रहरी सुत्ने खाट र सेवाग्राही बस्ने कुर्सी हुन्छन् । यस्तै पोस्टमा रातदिन, हिउँद–बर्खा धान्छन् प्रहरी । 

हरेक पोस्टमा हवल्दारको नेतृत्वमा ६ प्रहरी हुन्छन् । पोस्टमा न हतियार राख्ने ठाउँ छ, न सेवाग्राहीसँग छलफल गर्ने कक्ष नै । ठमेल, इन्द्रचोक, सुन्धारा, असन, टेबाहाल, भोटेबहालजस्ता घना सहरी क्षेत्रको सुरक्षा जिम्मा पाएको प्रहरी पोस्टको हालत अझ खराब छन् । किनकि ती क्षेत्रको सुरक्षा जिम्मा पाएको प्रहरी पोस्टका सबै कार्यालय साँघुरा टहराभित्र छन् ।

मलमूत्रसहितको ढल परिसरभित्र पस्छ, दुर्गन्धले भित्र बसिनसक्नु हुन्छ : एसपी रमेश बस्नेत, प्रवक्ता, महानगरीय प्रहरी परिसर काठमाडौं

प्लास्टिकको झुत्रा, मलमूत्र र कालो लेदोले जब नाली भरिन्छ, तब मानव मलमूत्रसहितको भेल टेन्टभित्र पनि पस्छ ।

ढल परिसरको प्रतीक्षालय हुँदै क्यान्टिनसम्म पुग्छ । त्यसपछि परिसर कार्यालयमा आवागमन नै प्रभावित बन्न पुग्छ । यस्तो वेला दुर्गन्धित ढल रोक्न परिसरमा कार्यालय प्रहरी कर्मचारीले निकै कष्ट झेल्नुपर्छ ।

परिसरको बीचबाट नै ढल बगिरहेको छ । ठूलो पानी पर्दा ढल स्वतः ठूलो हुन्छ । अझ विष्णुमतीतर्फ जाने ढल कार्यालयतर्फ पो आउँछ ।

ढल भित्र आएपछि दुर्गन्धले बसिनसक्नु हुन्छ ।