१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २८ शुक्रबार
  • Friday, 09 May, 2025
वीर अस्पतालमा चौधरी फाउन्डेसनले निर्माण गरिदिएको आइसियूका केही शय्या
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ २८ शुक्रबार १o:१o:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चौधरी फाउन्डेसनले वीर अस्पतालमा बनाएको आइसियू वार्ड हस्तान्तरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ २८ शुक्रबार १o:१o:oo

कोभिड–१९ ले जटिल अवस्थामा पुगेका बिरामीका लागि ‘वरदान’ साबित हुने विश्वास

चौधरी फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउन्डेसनले वीर अस्पतालमा आइसियू वार्ड निर्माण गरेको हो ।

चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा. डा. जागेश्वर गौतमलाई आइसियू वार्ड हस्तान्तरण गरेको जनाइएको छ । अस्पतालको नयाँ भवन पहिलो तलामा ९ शय्या र दोस्रो तलामा ९ शय्याको गरी कुल १८ शय्याको आइसियू वार्ड निर्माण भएको फाउन्डेसनले जनाएको छ । विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेर आइसियू वार्ड निर्माण गरिएको फाउन्डेसनको दाबी छ । 

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले सर्वसाधारण नेपाली नागरिकको उपचारमा सहज पहुँच भएको वीर अस्पतालमा आइसियू वार्ड स्थापना गरी नेपालीको सेवामा समर्पित गरिएको बताए । उनले भने, ‘कोरोनाबाट संक्रमित नेपाली नागरिकको जीवनरक्षा गर्नु अहिले हाम्रो सबैभन्दा महत्वपूर्ण दायित्व हो । यसका लागि सम्पूर्ण नेपाली नागरिकको पहुँच रहेको अस्पताललाई सुविधासम्पन्न बनाउनुपर्ने जिम्मेवारी हामीले बोध गर्‍यौँ ।’ त्यही जिम्मेवारीबोधले आइसियू वार्ड स्थापना गर्न वीर अस्पताललाई छानेको उनको भनाइ थियो । चौधरीले कोरोना महामारीसँग जुधिरहेका वेला प्रत्येक नेपाली नागरिकको जीवन उत्तिकै महत्वपूर्ण भएको तथ्य बिर्सन नहुने बताए । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)का उपकुलपति प्रा. डा. देवनारायण शाहले कोभिड महामारीको संवेदनशील समयमा वीर अस्पतालमा १८ शय्याको आइसियू वार्ड निर्माणमा योगदान गरेर चौधरी फाउन्डेसनले समाजसेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको बताए । कोभिड–१९ का कारण जटिल अवस्थामा पुगेका सर्वसाधारण नेपालीको जीवनरक्षामा यो आइसियू वार्ड ‘वरदान’ साबित हुने उनको भनाइ थियो । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा. डा. जागेश्वर गौतमले कोरोना महामारीसँग जुध्न चौधरी फाउन्डेसनले पुर्‍याएको योगदानका लागि धन्यवाद दिँदै यसले आमनेपालीको उपचारमा ठूलो सहयोग पुग्ने बताए । 

चौधरी फाउन्डेसनले गत वर्ष कोरोनाको पहिलो लहरमा भेन्टिलेटर, पिसिआर रिएजेन्टदेखि पिपिई र स्वास्थ्य सामग्री देशभरका अस्पतालहरूमा उपलब्ध गराएको जनाएको छ । फाउन्डेसनले आइसियू वार्ड स्थापना गर्न केन्द्रीय कोभिड अस्पतालसँग सहमतिपत्रमा हस्ताक्षर गरेको करिब ३ सातामा आइसियू वार्ड निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ ।