
विश्वमा कोभिड महामारीको दोस्रो लहर सुरु भएसँगै यस भाइरसका नयाँ–नयाँ लक्षण र विभिन्न नयाँ चुनौतीहरू सतहमा आउन थालेका छन् । यही क्रममा पछिल्लो समय सार्वजनिक भएको एक अध्ययन रिपोर्टअनुसार कोभिड–१९ संक्रमण भई अस्पतालमा भर्ना भएका वा संक्रमणमुक्त भएका बिरामीहरूलाई म्युकोर्मिकोसिसको समस्या देखिन थालेको छ ।
म्युकोर्मिकोसिसलाई जाइगोमाइकोसिस पनि भनिन्छ जुन एक किसिमको गम्भीर फंगल संक्रमण हो । म्युकोर्मिसाइट्स भनिने मोल्डहरूको समूहको संक्रमणबाट यो फैलिने गरेको रिपोर्टमा उल्लेख छ । सामान्यतया प्रतिरोधी क्षमतामा असर गर्ने औषधि प्रयोग गरिरहेका व्यक्तिलाई म्युकोर्मिकोसिसले बढी सताइरहेको छ । यो संक्रमणले साइनस, मस्तिष्क वा फोक्सोलाई असर गर्छ । अर्थात् कोभिड संक्रमण निको भएका व्यक्तिमा म्युकोर्मिकोसिस सामान्य बन्न थालेको छ ।
कोभिड भाइरसले शरीरको प्रतिरक्षा प्रणालीलाई असर गर्छ । योसँगै म्युकोर्मिकोसिस पनि देखिनु भनेको कोभिडका बिरामीका लागि घातक भएको विज्ञहरूको भनाइ छ । कोभिडका गम्भीर बिरामीहरूमा एन्टिभाइरलदेखि स्टेरोइडसम्म कडा औषधिहरू प्रयोगमा आइरहेको छ ।
भाइरसको संक्रमण बढ्न नदिनका लागि प्रयोगमा ल्याइएका यी औषधिहरूले समेत प्रतिरक्षा प्रणाली कमजोर बनाउँछन् । साथै अन्य स्वास्थ्य समस्या पनि भोगिरहेकाहरूमा यसले झनै असर गरिरहेको अध्ययनले देखाउँछ । जस्तै स्टेरोइडहरूले रगतमा ग्लुकोजको स्तरमा असर गर्न सक्छ, विशेषगरी पहिले नै मधुमेह भएका व्यक्तिहरू यसबाट बढी प्रभावित हुन्छन् । फलस्वरूप यी औषधिहरूले अन्य फंगल संक्रमणलाई बढावा दिन्छन् ।
रगतमा चिनीको मात्रा उच्च हुने वा कम प्रतिरोधक क्षमता हुने बिरामीहहरूका लागि म्युकोर्मिकोसिस अति नै संवेदनशील हुन्छ । त्यसबाहेक कोभिडका बिरामीहरू जो संक्रमणमुक्त हुन स्टेरोइड र अन्य औषधि लिइरहेका छन् उनीहरूमा पनि अन्यको तुलनामा जोखिम बढी हुन्छ । यस्तै इन्फ्लामेसनको उपचार गर्न वा घटाउनका लागि औषधि प्रयोगमा ल्याएका व्यक्तिमा समेत म्युकोर्मिकोसिसको अवस्था जोखिमपूर्ण हुने गर्छ ।
म्युकोर्मिकोसिस कसरी चिन्ने ?
एजेन्सीको सहयोगमा