मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २४ शुक्रबार २०:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभ्याक्स सुविधाअन्तर्गत खोप उपलब्ध गराउन राष्ट्रसंघलाई आग्रह

चीन र बंगलादेशबाट स्वास्थ्य सामग्री आउँदै, सहयोगका लागि अन्तराष्ट्रिय समुदालाई पत्राचार

Read Time : > 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार २०:२०:००

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड– १९ विरुद्धको खोप यथाशक्य छिटो उपलब्ध गराइदिन संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेका छन् ।  नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीलाई शुक्रबार टेलिफोन गरेर पोखरेलले यस्तो आग्रह गरेका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले विश्व स्वास्थ्य संगठनबाट पाउने कोभ्याक्सअन्तर्गतको खोप तथा  भेन्टिलेटर, पिपिई, अक्सिजन सिलिन्डर,  अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि उपलब्ध गराइदिन सहजीकरणका लागि आग्रह गरेका छन् ।

उनका प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार पोखरेलले खोपसँग सम्बन्धित सामग्री, अस्थायी अस्पताल स्थापनाका लागि पूर्वाधार र विज्ञ जनशक्तिका लागि आग्रह गरेका हुन् । आवासीय प्रतिनिधि साराले आफ्नोतर्फबाट सहजीकरण गर्ने आश्वासन दिएकी छिन् । 

चीनबाट प्राप्त हुने अक्सिजन सिलिन्डरको पहिलो लट लिन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो उडान आरए ४२५१ आगामी साता काठमाडौंबाट हुनेछ । पाण्डेका अनुसार १० मेमा जहाज चीन गएर ११ मेमा फर्किनेछ । चीनमा अवतरण अनुमति तथा बंगलादेश र भारतसँग ओभरफ्लाईका लागि पनि प्रक्रिया अघि बढेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार छिमेकी मित्रराष्ट्र चीनबाट सहयोगस्वरूप प्राप्त हुने स्वास्थ्य सामग्रीहरू (भेन्टिलेटर–४०, अटोमेटेड एनालाइजर– २०, डिआर मेसिन– १०, पोर्टेबल अल्ट्रासाउन्ड–२०, एनेस्थेसिया मेसिन– ३०) एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने भएको छ । चीन सरकारबाट सहायतास्वरूप प्राप्त हुने स्वास्थ्य सामग्रीमध्ये ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर नेपाल पठाउनका लागि ९ मे, २०२१ सम्म बेइजिङ क्यापिटल एयरपोर्टमा तयारी अवस्थामा रहने पनि मन्त्रालयले जनाएको छ । 

अमेरिकी सरकारबाट केही परिमाणमा पिपिई, एन्टिजेन टेस्ट किट र अक्सिजन कन्सन्ट्रेटर यथाशीघ्र पठाइने जानकारी प्राप्त भएको छ । एस्ट्राजेनेका भ्याक्सिन सहयोगको सम्बन्धमा काठमाडाैंस्थित अमेरिकी दूतावास र वासिंटनस्थित नेपाली राजदूतावासमार्फत आवश्यक पहल भइरहेको परराष्ट्रले जनाएको छ । 

प्रधानमन्त्री कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालयको सूचीबमोजिमका सहायता सामग्री बेलायत, जर्मनी, फ्रान्स, क्यानाडालगायतका मुलुकबाट सहयोगस्वरूप प्राप्त गर्न पत्राचार भएको छ । एक डोज मात्र लगाउँदा पुग्ने र करिब ९० प्रतिशत प्रभावकारिता रहेको स्पुतनिक लाइट भ्याक्सिनको विस्तृत जानकारी मस्कोस्थित नेपाली राजदूतावासमार्फत रसियाको सम्बन्धित निकायसँग माग गरिएको छ । 

दक्षिण कोरियाबाट सहायतास्वरूप स्वास्थ्य सामग्रीहरू जिटुजी पद्वतिबाट प्राप्त गर्नका लागि स्थानीय कोरियाली दूतावास र स्वास्थ्य मन्त्रालयबीच समन्वय भएको छ । बंगलादेश सरकारबाट सहायतास्वरूप आवश्यक औषधीजन्य स्वास्थ्य सामग्रीहरू प्राप्त हुने भएको छ। यसैगरी बंगलादेशको ढाकास्थित वेक्सिम्को फार्मामार्फत रेम्डेसिभिर १० मेमा  र बंगलादेश सरकारबाट थप पाँच हजार भाएल्स  रेम्डेसिभिर ११ मेमा नेपाललाई उपलब्ध हुने भएको छ । यसको ढुवानी नेपालले नै गर्नेछ ।