१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मुना कुँवर काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०७:५१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा कोषमा आबद्ध कोरोना संक्रमितलाई  १ लाखसम्म उपचार खर्च

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०७:५१:००

मृत्यु भएमा पारिश्रमिकको ६० प्रतिशत पति वा पत्नीलाई निवृत्तिभरण, छोराछोरीलाई ४० प्रतिशत शैक्षिक वृत्ति सुविधा


सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक कोरोना संक्रमित भएमा उपचार खर्चबापत १ लाख रुपैयाँसम्म पाउनेछन् । संक्रमितको मृत्यु भएमा कोषमा जम्मा भएको रकम र त्यसको प्रतिफल एकमुष्ट रूपमा मृतकका परिवारले पाउनेछन् । त्यसका साथै पति वा पत्नीले निवृत्तिभरण सुविधा र आश्रित परिवारले शैक्षिक वृत्ति सुविधासमेत पाउने कोषले जनाएको छ । 

योगदानमा आधारित कोषले श्रमिकका लागि चारवटा विभिन्न खालका सुविधा सञ्चालनमा ल्याएको छ । जसमध्ये कोरोना संक्रमित वा संक्रमणपछि मृत्यु भएका श्रमिकले औषधि उपचार, स्वास्थ्य सुरक्षा तथा आश्रित परिवार सुरक्षा योजना सुविधा प्राप्त गर्ने कोषका प्रवक्ता विवेक पन्थीले बताए । उनका अनुसार हालसम्म कोषले कोरोना संक्रमित श्रमिकको स्वास्थ्य उपचार खर्च भुक्तानी गरे पनि मृत्यु दाबी भुक्तानी भने गरेको छैन । यद्यपि, कोषमा कोरोना संक्रमित दुईजना श्रमिकको मौखिक मृत्यु दाबीको निवेदन परेको उनले बताए । 

एक लाख रुपैयाँसम्म उपचार खर्च पाउने
कोषमा आबद्ध श्रमिक कोरोनाबाट संक्रमित भएमा उपचारबापत १ लाख रुपैयाँसम्म दाबी भुक्तानी पाउने कोषका प्रवक्ता विवेक पन्थीले बताए । संक्रमणपछि श्रमिकले घरमा नै बसी उपचार गरेमा २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी पाउनेछन् । अस्पतालमा भर्ना भई उपचार गरेमा पनि अधिकतम १ लाख रुपैयाँसम्म औषधि उपचार खर्च पाउनेछन् । यसका लागि संक्रमित बिरामीले उपचार गरेको अस्पताल वा परीक्षण गरिएको ल्याबको बिल कोषमा बुझाउनुपर्नेछ । जुनसुकै अस्पताल वा ल्याबमा परीक्षण गरे पनि कोषले दाबी भुक्तानी दिने कोषका प्रवक्ता पन्थीले बताए । तर, श्रमिकले कोषमा योगदान रकम जम्मा गर्न सुरु गरेको तीन महिना पूरा हुनुपर्ने उनको भनाइ छ । त्यस्तै, कोषमा योगदान रकम जम्मा गर्न छाडेको तीन महिनासम्म पनि यो सुविधा उपभोग गर्न पाउनेछन् । 

कोषले सञ्चालन गरेको अर्को योजना औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना हो । यो योजनाअनुसार श्रमिकले कुनै पनि रोग लागेर घरमै बसेर उपचार गरेमा वार्षिक २५ हजार रुपैयाँसम्म दाबी भुक्तानी रकम पाउनेछन् । अस्पताल भर्ना भई उपचार गर्नुपर्ने अवस्थामा वार्षिक १ लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् ।

२ लाख श्रमिक जोडिए कोषमा
सामाजिक सुरक्षा कोषको तथ्यांकअनुसार हालसम्म कोषमा २ लाख ९ सय ९६ श्रमिक आबद्ध भइसकेका छन् । जसमध्ये प्रदेश नम्बर १ का २० हजार ५ सय ८२, प्रदेश नम्बर २ का १४ हजार ३ सय ८२, बागमती प्रदेशका १ लाख ५० हजार ३ सय १६, गण्डकी प्रदेशका ७ हजार २ सय ९, लुम्बिनी प्रदेशका ७ हजार १ सय ५८, कर्णाली प्रदेशका ५ सय २३ र सुदूरपश्चिम प्रदेशका ८ सय २६ श्रमिक कोषमा आबद्ध भएका छन् । त्यस्तै, हालसम्म १३ हजार ७ सय ९७ रोजगारदाता कोषमा आबद्ध भएका छन् । कोषले हालसम्म ५ अर्ब ४५ करोड योगदान रकम संकलन गरेको छ भने ७ करोड ७९ लाख दाबी भुक्तानी गरेको छ । कोषले औषधि उपचार सुविधाअन्तर्गत २ हजार ५ सय २४ वटा दाबीको भुक्तानी गरेको छ । दुर्घटना तथा अशक्तताबापत १ सय ९, आश्रित परिवार सुरक्षाबापत ३ सय ५१ र वृद्ध अवस्था सुरक्षा योजना सुविधा दाबीबापत ५ सय ४९ वटाको भुक्तानी गरेको छ । 

मृत्यु भएमा परिवारले एकमुष्ट रकम पाउने

कोरोना संक्रमणका कारण कुनै श्रमिकको मृत्यु भएमा सामाजिक सुरक्षा कोषले एकमुष्ट रकम भुक्तानी गर्नेछ । श्रमिकले हालसम्म जम्मा गरेको रकम र त्यसमा आउने प्रतिफल मृतक श्रमिकको पति वा पत्नीलाई एकमुष्ट भुक्तानी गर्ने कोषका प्रवक्ता पन्थीले बताए । 

पन्थीका अनुसार कोषले सञ्चालन गरेको अवकाश सुविधा योजनाअनुसार कोषमा आबद्ध श्रमिकको मृत्यु भएमा पति वा पत्नीले एकमुष्ट रकम पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कोरानाकै कारण श्रमिकको मृत्यु भएमा पनि कोषले एकमुष्ट रकम भुक्तानी गर्नेछ । यसका साथै मृतक श्रमिकको पति वा पत्नीले आजीवन निवृत्तिभरण सुविधासमेत पाउनेछन् । श्रमिकले खाइपाई आएको अन्तिम आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम मासिक रूपमा पाउनेछन् । 

त्यस्तै, मृतक श्रमिकको छोराछोरीले २१ वर्ष उमेर पूरा नभएसम्म योगदानकर्ताको आधारभूत पारिश्रमिकको ४० प्रतिशत रकम मासिक रूपमा शैक्षिक वृत्तिबापत पाउनेछन् । एकभन्दा बढी सन्तति भएमा ६० प्रतिशत रकम दामासाहीले पाउनेछन् । तर, शारीरिक वा मानसिक रूपमा अशक्त भएका बच्चाको हकमा उमेरको हद लाग्नेछैन । यस्तो अवस्थाका जुनसुकै उमेरका छोरीछोरीले पनि अध्ययन खर्च पाउनेछन् । 

त्यस्तै, मृतक श्रमिक अविवाहित भएमा एकाघरका बुबाआमाले आधारभूत पारिश्रमिकको ६० प्रतिशत जीवनकालभरिमा मासिक रूपमा निवृत्तिभरण सुविधा पाउनेछन् । मृतकका हकवालालाई २५ हजार रुपैयाँ अन्तिम संस्कार खर्चबापत प्रदान गरिन्छ ।