१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १३ सोमबार २१:०९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिकित्सकको नक्कली प्रमाणपत्र प्रकरण : बागबजारका थप एक कन्सल्टेन्सी सञ्चालक पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १३ सोमबार २१:०९:००

बंगलादेशमा एमबिबिएस अध्ययनका लागि एसएलसीको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बागबजारस्थित ग्लोबल एजुकेसन काउन्सिलिङ कन्सल्टेन्सीका सञ्चालक सागिर अहमद खानलाई सोमबार पक्राउ गरेको हो ।

हालसम्मको अनुसन्धानमा बंगलादेशमा एमबिबिएस पढेका एक विद्यार्थीको एलएलसीको प्रमाणपत्र उनले किर्ते गरेको पुष्टि भएको सिआइबीकी एसपी गंगा पन्तले बताइन् । उनले धेरै विद्यार्थीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर बंगलादेश अध्ययनका लागि पठाएको सिआइबी स्रोत बताउँछ । नक्कली प्रमाणपत्र बनाइदिने बागबजारकै ज्योति दीप कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई यसअघि नै सिआइबीले पक्राउ गरेको थियो । 

बंगलादेशमा अध्ययन गर्नका लागि प्लस टुसँगै एसएलसीमा पनि उत्कृष्ट नम्बर ल्याएको हुनुपर्ने प्रावधानका कारण उनीहरूले नम्बर थपेर नक्कली प्रमाणपत्र बनाएका हुन् । त्यही प्रमाणपत्रका आधारमा बंगलादेशमा अध्ययनका लागि मेडिकल काउन्सिलबाट अनुमति लिएका थिए । 

त्यसरी एमबिबिएस अध्ययन गरी विभिन्न अस्पतालमा कार्यरत सातजना चिकित्सक सिआइबी हिरासतमा छन् । मोरङ विराटनगर महानगरपालिका– ५ सम्झनाचोक बस्ने सप्तरी विष्णुपुर गाउँपालिका– २ घर भएका २८ वर्षीय मोहमद सिद्दिकी, महोत्तरी सरपल्लो– ६ घर भएका धनुषा जनकपुर उपमहानगरपालिका– ७ जिरोमाइल बस्ने २९ वर्षीय सुभाषप्रसाद साह, ललितपुर, ललितपुर महानरगपालिका– २ महालक्ष्मीथान बस्ने धनुषा सबैला नगरपालिका– ५ घर भएका २८ वर्षीय मोहम्मद शाहिद राजा हाल सिआइबी हिरासतमा छन् । 

मनाङ साबिक चामे गाविस– ५ का ३१ वर्षीय दीपेन्द्र गौतम, मोरङ विराटनगर महानगरपालिका– ३ बरगाछी बस्ने सप्तरी सकरपुरा– १ घर भएका ३१ वर्षीय अखिलेशकुमार देव, भक्तपुर मध्यपुर ठिमी– २ आदर्श बस्ती बस्ने महोत्तरी मनरा– ५ घर भएकी २७ वर्षीया पल्लवी सिंह र ललितपुर महानगरपालिका– २ सानेपा बस्ने २९ वर्षीय फराज हुसेन खाँलाई हिरासतमा राखेर सिआइबीले लिखतसम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएको छ । यसमा थप चिकित्सकमाथि अनुसन्धान भइरहेको सिआइबीका निर्देशक डिआइजी सहकुल थापाले बताए ।