मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
भुवन न्यौपाने
२०७८ बैशाख १३ सोमबार ०८:४१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लोकतन्त्रमा नागरिकको वितृष्णा, शासकको चरित्र

Read Time : > 2 मिनेट
भुवन न्यौपाने
२०७८ बैशाख १३ सोमबार ०८:४१:००

समकालीन विश्वमा प्रचलित शासन व्यवस्थामध्येको धेरै अभ्यास गरिएको सर्वोकृष्ट शासन व्यवस्था नै लोकतान्त्रिक शासन व्यवस्था हो । लोकतन्त्रको सुन्दर पक्ष भन्नु नै नागरिक सर्वोच्चता हो । लोकतन्त्रमा नागरिकका मौलिक हक र स्वतन्त्रताको सुनिश्चितता हुन्छ भन्ने मानिन्छ ।

१६औँ अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले, ‘लोकतन्त्र जनताको, जनताका लागि र जनताद्वारा गरिने शासन हो’ भनेका छन् । बहुसंख्यक जनता यसमा सहभागी भई शासन व्यवस्थाको प्रतिनिधित्व गर्छन् । भनिन्छ, लोकतन्त्रमा सरकार नागरिकको अभिभावकीय भूमिकामा हुन्छ । लोकतन्त्र आफैँमा एउटा सर्वोत्तम विधिसहितको नागरिकको व्यवस्था भए पनि यसको अभ्यास र उपयोगिता भने शासक र नागरिकको सम्बन्ध सेतुले निर्धारण गर्छ ।

नेपालको वर्तमान संविधानले पनि नागरिकको चाहनाबमोजिम राष्ट्रलाई समुन्नत र अग्रगामी रूपान्तरणको परिकल्पनामा समेटेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको नागरिकका आकांक्षा पूरा गर्न संविधानसभाबाट पारित भई कार्यान्वयनको चरणमा छ । आज लोकतन्त्र परिष्कृत र विकसित हुँदै झन् जनताका हरेक दायित्वलाई वहन गर्न सक्ने आधुनिक लोककल्याणकारी र समावेशी लोकतन्त्रको अभ्यास गरिए पनि नागरिकका अपेक्षाको सम्बोधन गर्न भने सकेको देखिँदैन ।

संविधानमा उल्लेख गरिएको शासन व्यवस्थाको मर्मभन्दा पनि शासकीय चरित्रले नागरिकमा व्यापक गुनासोसहितको वितृष्णा देखाएको छ ।लोकतन्त्रलाई झन् बलियो र प्रभावकारी बनाउने मुख्य उपाय नै नागरिक र शासकको सम्बन्धलाई अन्योन्याश्रित गराउनु हो ।

लोकतन्त्र जति सुन्दर शासन पद्धति भए पनि त्यसको नेतृत्व गर्ने अपरिपक्व साथै सनकी शासकले लोकतान्त्रिक व्यवस्थालाई धरापमा पारेको देखिन्छ । सम्पन्नशाली मुलुक हुन अथवा अल्पविकसित मुलुक हुन कुशल नेतृत्व र सदाचारले मात्र लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य देखाउँछ । लोकतन्त्रको मर्म र बलियो पक्ष नै नागरिक मताधिकार हो, तर नागरिकका मतबाट निर्वाचित शासकको चरित्रले लोकतन्त्र सत्ता, शक्ति र सम्पत्ति प्राप्तिको हतियार मात्र भएको देखाउँछ । 

शासकको नैतिक चरित्र, विचार, दृष्टिकोण र नियतमै परिवर्तन नआउँदासम्म व्यक्ति तथा व्यवस्था परिवर्तन हुँदैमा देशमा शान्ति, सुशासन र  समृद्धिको परिकल्पना पूरा हुन सक्दैन

राजनीति आफैँमा नागरिकको सेवा भावनामा सञ्चालित हुन्छ भने पनि आज यो सत्ता, शक्ति र सम्पत्ति आर्जनको विद्रुप खेल भएको छ । शासक सेवकको रूपमा भन्दा पनि अमूक शक्तिशाली राजकीय भूमिकामा देखिँदा नागरिकले आफ्नै अगाडि भएका परिवर्तनलाई आत्मसात् गर्न सकेका छैनन् । शोषित वर्गबाट उदाएको नेताले पनि नागरिकका गुनासाको बेवास्ता गरी शासकको दम्भपूर्ण चरित्र देखाएका उदाहरण बग्रेल्ती छन् ।

विगतमा जेलजीवन, जनआन्दोलन, सशस्त्र संघर्षबाट नागरिकको आमूल परिर्वतन गर्न उद्यत् नेताहरू नै नागरिकको वितृष्णाप्रति सरोकारविहीन बनेका छन् । शासकमा देखिएका यस्ता अनपेक्षित चरित्रले जनमानसमा राजनीतिकर्मी भनेका भ्रष्टाचारी, दलाल, माफिया, तस्कर र अपराधीजस्ता हुन् भन्ने भावनालाई बल पुर्‍याइरहेको छ ।

मुलुक संघीय व्यवस्थाको अभ्यासअनुरूप संघ, प्रदेश र स्थानीय सरकारको संरचनामा रहँदा स्रोत साधनको न्यायोचित वितरण र शासनमा विकेन्द्रीकरण भए तापनि शासकीय भूमिका भने सुधार हुन सकेको छैन । नागरिकका घरदैलोमा सेवाहरू पुगे तापनि नागरिकले आफ्नो त्यसमा अपनत्व लिन सकेका छैनन् । शासकले नागरिकसँग नजिकको सुमधुर सम्बन्ध कायम गराउनुभन्दा पनि नागरिकसँग दूरी बढाइरहेको देखिन्छ ।

शासकको बदलिँदो जीवनशैली, आर्थिक अनुशासन र पारदर्शितामा अभाव, दलीय गुटगत भागबन्डाका साथै क्षणिक अप्राकृतिक सम्बन्धले झन् बढी विकृति सिर्जना गरेको छ । शासक वर्गको एकाधिकारवादी चिन्तन र चरित्रले उनीहरूलाई जनतादेखि धेरै पर पुर्‍याएका उदाहरण प्रशस्त छन् । नागरिकको चाहनाविपरीत सानालाई ऐन र ठूलालाई चैन हुनु देशको समृद्धि र भविष्यका लागि पक्कै उपयोगी हुन सक्दैन ।

लोककल्याणकारी राज्यको परिकल्पना, समानता र सामाजिक न्यायसहितको अग्रगामी संविधान, समाजवादउन्मुख राजनीतिक व्यवस्थासहितको उदारवादी नीति र कानुन निर्माण भई कार्यान्वयनमा छन् । यस्ता नीति र कानुनको मर्मविपरीत शासकीय भूमिकामा भने अहिलेको अवस्थामा ज्यादै भिन्नता देखिन्छ । शासकको भाषण र व्यवहारमा ठूलो भिन्नता देखिन्छ ।

विश्वका अधिकांश विकसित गणतन्त्रात्मक मुलुकका कुशल शासक आमजनतासरह उदार र सेवाभावका रूपमा प्रस्तुत भएको उदाहरण पाइन्छ । नेपालमा भने नागरिकका प्रतिनिधिहरू उदारभन्दा पनि अमूक शासकीय चरित्रमा देखिन्छन् । सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको प्रभावकारी कार्यान्वयन नहुनु साथै पछिल्लो समय फेरि बढ्दो कोरोनाको त्रासदीले नागरिकमा अर्को भय सिर्जना गरेको छ ।

महामारीले सिर्जना गरेको आर्थिक र स्वास्थ्य संकट, अस्वाभाविक मूल्यवृद्धि, अनिश्चित बेरोजगारी र गहिरिँदो गरिबी साथै दिगो आय आर्जनको अभावले नागरिकमा झन्–झन् निराशा बढ्दो छ । गरिबी र बेरोजगारीले दैनकजसो वैदेशिक रोजगारीमा युवा पलायन हुनुपर्ने बाध्यता छ । सरकारले यस्ता समस्याको समयमै सम्बोधन गर्नुपर्नेमा उसले यतातर्फ ध्यान नै दिन नसकेको देखिन्छ । 

यसर्थ, शासकको नैतिक चरित्र, विचार, दृष्टिकोण र नियतमै परिवर्तन नआउँदासम्म व्यक्ति तथा व्यवस्था परिवर्तन हुँदैमा देशमा शान्ति, सुशासन र विकासका साथै समृद्धिको परिकल्पना पूरा हुन सक्दैन । लोकतन्त्र विधिप्रधान हुन्छ, व्यक्ति होइन । त्यसैले विधि र लोकतन्त्रलाई बलियो बनाउन शासकका गलत प्रवृत्तिविरुद्ध खबरदारी निरन्तर जरुरी पर्छ । नागरिकको मौनताले गलत काम गर्नेलाई प्रश्रय दिएको पनि हुन सक्छ । त्यस्ता गलत गतिविधिलाई रोक्नका लागि प्रतिवाद गर्नैपर्छ ।