१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विश्वकै लामो दाबी गरिएको झोलुङे पुल । यो पुल पुग्ने सबैले अब शुल्क तिर्नुपर्ने भएको छ । तस्बिर : नयाँ पत्रिका
२०७८ बैशाख ९ बिहीबार ०९:१९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पुल तर्नेसँग पनि बाग्लुङ नगरपालिकाले पैसा असुल्न थाल्यो

लामो पुल हेर्न अब पैसा तिर्नुपर्ने

Read Time : > 2 मिनेट
२०७८ बैशाख ९ बिहीबार ०९:१९:००

बाग्लुङ नगरपालिकाले वडा नम्बर १ रामरेखाबाट पर्वत कुस्मा नगरपालिका– १ पाङ अदुवाबारी जोड्ने लामो पुलमा आउनेसँग शुल्क उठाउन थालेको छ । नगरपालिकाले चैतेदसैँको सन्दर्भ पारेर मंगलबार दिउँसोबाट पुल घुम्न आउने पर्यटकबाट शुल्क उठाउन सुरु गरेको हो । 

बाग्लुङ नगर कार्यपालिकाको निर्णयअनुसार शुल्क लिन सुरु गरिएको बाग्लुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले दाबी गरे । ‘संघीय सरकारले निर्माण गरे पनि यसको सबै मर्मतसम्भार गर्ने गरी बाग्लुङ नगरपालिकालाई हस्तान्तरण भएको छ,’ उनले भने, ‘यसको मर्मत सुधारका लागि कोष बनाउन पाहुनाबाट सामान्य शुल्क लिन थालेका हौँ ।’ गत २७ चैतमा बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको उनले जानकारी दिए । 

‘हामीले यसको मर्मत सुधारको जिम्मासँगै यसलाई थप आकर्षक बनाउने भनेका छौँ । पार्कको सुधारको कुरा पनि छ,’ उनले भने । नगरपालिकाले पुल हेर्ने र तर्नेसँग पनि शुल्क लिन थालेपछि चौतर्फी आलोचना भएको छ । अहिले हरेक क्षेत्रमा नकरात्मकता हाबी भएकाले यस्तो विरोध भएको सुवेदीले दाबी गरे । ‘विरोध गर्नेले सधैँ विरोध मात्रै गरिरहन्छन्,’ उनले भने, ‘कार्यपालिका बैठकले गरेको यो निर्णय नगर सभामा लगेर पारित गरिनेछ ।’ 

नगरपालिकाले पूर्वाधार उपयोग कर नाम दिएर रकम असुल्न थालेको हो । कुस्मा र बाग्लुङ नगरपालिकाबाहिरका व्यक्तिलाई प्रतिव्यक्ति २० रुपैयाँ तथा अन्य देशका नागरिकका लागि ५० रुपैयाँ शुल्क तय गरिएको छ । ज्येष्ठ नागरिक, अपांग विद्यार्थीका लागि १० रुपैयाँ शुल्क तोकिएको छ । बाग्लुङ नगरपालिका र कुस्मा नगरपालिकाका स्थानीयलाई भने शुल्क नलिने भनिएको छ । त्यसका लागि आफ्नो पहिचान खुल्ने कागजात बुझाउनुपर्नेछ । नगरपालिका क्षेत्रबाहिर पर्ने, तर पर्वत तथा बाग्लुङ जिल्लाकै बासिन्दाले भने शुल्क तिर्नुपर्नेछ । 

पर्यटन व्यवसायी असन्तुष्ट
शुल्क लिन थालेपछि यसको विरोध सुरु भएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले यसको चर्को विरोध गरेका छन् । बाग्लुङका पर्यटन व्यवसायीले समेत असन्तुष्टि जनाएका छन् । पछिल्लो समय लामो पुलका कारण बाग्लुङमा आउने पर्यटकको संख्या बढ्दै गएकोमा नगरपालिकाको यो निर्णयले पर्यटक भड्किन सक्ने भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । ‘नगरपालिकाले पर्यटकलाई आकर्षण गर्नुपर्ने, पर्यटन क्षेत्रमा लगानी बढाउनुपर्नेमा उल्टो पर्यटकसँग शुल्क लिने भन्ने कुराले गलत सन्देश जान्छ,’ पर्यटन व्यवसायी निलेश राजभण्डारीले भने, ‘यो निर्णय गलत भएको छ । यसलाई तत्कालै सच्याइयोस् भन्ने हाम्रो माग छ ।’

एक व्यक्तिबाट २० रुपैयाँ शुल्क लिने कुरा ठूलो नभए पनि यसले सन्देश गलत जाने उनको भनाइ छ । ‘कति शुल्क लिने, दिन सक्छन्–सक्दैनन् भन्ने भन्दा पनि यसले सन्देश के लिएर जान्छ भन्ने कुरा महत्वपूर्ण हो,’ उनले थपे, ‘यसले सही सन्देश दिँदैन । हामी व्यवसायी साथीहरूबीच सामान्य छलफल पनि भयो, यो गलत भएको छ, सच्याउनुपर्छ । मर्मतसम्भार गर्ने जिम्मा नगरपालिकाको भए पनि अन्य विकल्पबाट त्यो काम गर्नुपर्छ ।’ 

नगर उपप्रमुख भन्छन्–यो अवैधानिक छ 
बाग्लुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्काले नगर प्रमुखको एकलौटी निर्णयका आधारमा शुल्क उठाउन सुरु भएको भन्दै आपत्ति जनाए । ‘कार्यपालिका बैठकमा राजस्व परामर्श समितिले निर्णय गर्ने र त्यसको व्यवस्थापन गर्न समिति गठन गर्ने सहमति भएको थियो,’ खड्काले भने, ‘अहिले कुनै पनि प्रक्रिया सुरु नहुँदै शुल्क उठाउन थालिएको छ । यो अवैधानिक छ, यसमा मेरो विरोध छ ।’ मंगलबारबाटै शुल्क उठाउन थालिएको आफूले सामाजिक सञ्जालबाट थाहा पाएको उनले बताए । कार्यपालिकाबाट निर्णय भएको भनिए पनि अधिकांश कार्यपालिका सदस्यलाई यो जानकारी नभएको उनले दाबी गरे । 

कार्यपालिकाले निर्णय नगरेको दाबी
कार्यपालिका बैठकमा उठेको विषय र मंगलबार कार्यान्वयनमा ल्याइएको निर्णय फरक भएको एक कार्यपालिका सदस्यले बताए । बाग्लुङ नगरपालिका– ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले कार्यपालिका बैठकमा बाहिरबाट प्याकेज भ्रमणमा आउने पर्यटकसँग सामान्य शुल्क उठाउने विषयमा छलफल चलेको भए पनि अहिले फरक ढंगबाट शुल्क उठाउन थालिएको बताए । ‘हामीले विभिन्न भ्रमण प्याकेजमा केवल पुलमा रमाउनका लागि आउने, सुटिङ गर्न आउनेको हकमा कार्यविधि बनाएर शुल्क उठाउन सकिन्छ भनेका थियौँ,’ उनले भने, ‘मंगलबारबाटै शुल्क उठाउन सुरु भएको रहेछ, यसबारेमा मलाई थाहा भएन ।’ बाग्लुङ र पर्वत जिल्लावासीसँग शुल्क लिने कुरा पनि उचित नभएको उनले बताए । 

विश्वकै लामो दाबी गरिएको पाँच सय ६७ मिटर लामो सिंगल स्पानको झोलुङे पुल एक सय ३८ मिटर अग्लो छ । कालीगण्डकी नदीमाथि बनेको उक्त पुल पर्यटकीय ठाउँका रूपमा विकास हुँदै गएको छ । यो पुललाई विश्वकै लामो दाबी गर्दै बाग्लुङ नगरपालिकाले गिनिज बुक वर्ल्ड रेकर्डमा दर्ता गराउनका लागि सरकारलाई सिफारिस गरेको छ ।