१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १o:o९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गल्छी–त्रिशूली–रसुवागढी सडक कालोपत्रे गर्न स्थानीयको अवरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o९:oo

राष्ट्रिय गौरवको योजनामा पर्ने गल्छी–त्रिशूली–रसुवागढी सडक खण्डको वेत्रावतीदेखि नयाँ पुलसम्मको सडक कालोपत्रे रोकिएको छ । मुआब्जा विवादमा स्थानीयले अवरोध गरेपछि कालोपत्रे गर्ने काम रोकिएको हो । त्रिशूली–३ए जलविद्युत् आयोजनाले जग्गाको लगतकट्टा बढी गरेको भन्दै स्थानीयले त्यसको मुआब्जा नदिएसम्म काम अघि बढाउन नदिने बताएका छन् । 

वेत्रावतीदेखि नयाँ पुलसम्मको तत्काल पिच गर्ने सडकको दायाँ–बायाँ ६–६ मिटर गरी १२ मिटर क्षेत्र गल्छी–त्रिशूली–रसुवागढी सडक योजनाले अधिग्रहण गरेको छ । उक्त सडक छेउमा पर्ने ६१ वटा घरटहराको क्षतिपूर्तिबापत तीन करोड ५० लाख रकम दिइएको छ । त्यसमध्ये आवश्यक कागजात नपुग्दा १० प्रतिशतलाई मुआब्जा वितरण गर्न बाँकी रहेको योजनाप्रमुख नारायणदत्त भण्डारीले बताए । 

अब करिब ४० लाख रुपैयाँ वितरण गर्न बाँकी रहेको भन्दै भण्डारीले आवश्यक कागजात ल्याएसँगै रकम वितरण गरिने जानकारी दिए । ‘पहिलो किस्ता ५० प्रतिशत पेस्की दिने गर्छौँ, अनि घर भत्किसकेपछि बाँकी पूरै रकम भुक्तानी गर्ने गरेका छौँ,’ भण्डारीले नयाँ पत्रिकासँग भने, ‘अहिलेसम्म कानुनी प्रावधानअनुसार नै रकम भुक्तानी गरेका हौँ ।’

गत माघ, फागुनमा सो स्थानको घरटहरा हटाई योजनाले सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको थियो । सो खण्डमा घरटहराको पैसा लिएर घर भत्काइसकेपछि जग्गामा काम गर्न नदिने भनी केही स्थानीयले काममा रोकावट गरेको उनले बताए । ‘कालोपत्रे गर्ने कामको तयारी गर्नुपर्ने थियो, स्थानीयको अवरोधले काम सुरु नै हुन पाएको छैन,’ उनले भने ।

मुआब्जा दिइसकेको आयोजनाको दाबी
मुआब्जा नपाएको भन्दै स्थानीयले काममै अवरोध गरे पनि मैलुङ र त्रिशूली–३ए जलविद्युत् आयोजनाले थप पाँचदेखि आठ मिटरसम्म मुआब्जा वितरण गरी लगतकट्टा गरिसकेको जनाइएको छ । स्थानीयले भने आठ मिटरमध्ये पाँच मिटरको मात्र मुआब्जा दिइएको दाबी गरेका छन् । त्रिशूली–३ए ले झुक्काएर बढी लगतकट्टा गरेको आरोप लगाउँदै स्थानीयले छिनोफानो नभएसम्म काम गर्न नदिने जनाएका छन् । त्रिशूली–३ए ले यसअघि नै लिएको जग्गाको लगकट्टाबारे स्थानीय जनप्रतिनिधिसहित त्रिशूली–३ए मा छलफलसमेत भएको छ । छलफलमा पुनः अमिन लगी नापजाँच गर्नुपर्ने अडान स्थानीयको छ । 

असारभित्र २० किमि सडक सक्नुपर्ने, पाँच किमि मात्र सम्पन्न
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने गल्छी–मैलुङ सडक खण्डमा चालू आर्थिक वर्षमा २० किलोमिटर सडक कालोपत्रे गरिने सडक योजनाले जनाएको छ । जसमा हालसम्म पाँच किलोमिटर कालोपत्रेको काम सम्पन्न भएको छ । योजना प्रमुख भण्डारीले नयाँ पत्रिकासँग भने, ‘यो समय कालोपत्रेका लागि उत्तम समय हो, अबको दुई महिनाभित्रमा काम सम्पन्न गर्न सकिएन भने वर्षात्को समय आउँछ, त्यतिवेला काम गर्न सकिँदैन, । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक रूपान्तरणकारी (गेम चेन्जर) राष्ट्रिय गौरवको उच्च प्राथमिकताप्राप्त राष्ट्रिय गौरवको आयोजना हो । गल्छीदेखि रसुवागढीसम्म तीन खण्डमा विभाजन गरेर काम भइरहेको छ । पहिलोखण्ड गल्छीदेखि मैलुङसम्म, दोस्रोखण्ड मैलुङदेखि स्याफ्रुबेँसीसम्म र तेस्रोखण्ड स्याफ्रुबँेसीदेखि रसुवागढीसम्मको हो । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्म चिनियाँ पक्षले काम गर्ने भनिए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।