मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ बैशाख १ बुधबार १०:४३:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कैलालीको ६ हजार हेक्टर वन क्षेत्रमा आगलागी

Read Time : > 1 मिनेट
२०७८ बैशाख १ बुधबार १०:४३:००

कैलालीमा ठूलो वन क्षेत्र आगलागीको चपेटामा परेको छ । डिभिजन वन कार्यालय धनगढीका अनुसार जिल्लाभर चैतमा मात्रै हालसम्म ६ हजार हेक्टरभन्दा बढी वन क्षेत्रमा आगलागी भएको छ । 

चुरे र तराईका वनमा दर्जनौँ ठाउँमा अहिले पनि आगलागी भइरहेको छ । वनमा डढेलो फैलँदै गए पनि सम्बन्धित निकायहरूबाट आगलागी नियन्त्रणका प्रयासहरू भएका छैनन् । डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले केही सातायता कैलालीमा करिब ६ हजार हेक्टर वनमा आगलागी भएको बताए । सबैभन्दा बढी चुरेको वनमा आगलागी भइरहेको उनले बताए । चुरेको आगलागी अहिले पनि नियन्त्र भएको छैन । चुरेसँग जोडिएका तराईका वनमा पनि आगलागीका घटना बढेका छन् ।

चुरेसँगै जैविक विविधताले महत्वपूर्ण मानिने वसन्ता जैविकमार्ग र घोडाघोडी सीमसार क्षेत्रको वनका दर्जनौँ ठाउँमा आगलागी भएको छ । संरक्षणकर्मी हिरूलाल डँगौराले घोडाघोडी सीमसार क्षेत्रमा पर्ने वनमा आगलागी बढेको बताए । चुरे वन र भारतको दुधुवा नेसनलपार्कसँग जोडिएको वसन्ता जैविकमार्गका कैयौँ ठाउँमा आगलागी भएको उनले बताए । वसन्तमा एकपटक आगलागी भएर त्यही ठाउँमा पुनः अर्कोपटक आगलागी भइरहेको स्थानीयले बताएका छन् । आगलागीले ससाना विरुवा र बुट्यानहरू नष्ट हुनुका साथै वन्यजन्तु र चराचुरुंगीका वासस्थान नासिएका छन् । वन्यजन्तु र चराचुरुंगी लोप हुने अवस्थामा पुग्ने भन्दै संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

‘बर्सेनि बढ्दो आगलागीका कारण चराचुरुंगी लोप हुने अवस्थामा पुगेका छन्, वन क्षेत्र सखाप हुँदै गएको छ,’ संरक्षणकर्मी डँगौराले भने, ‘सीमसार, जैविकमार्गजस्तो संवेदनशील वन क्षेत्र आगलागीको चपेटामा परेको छ ।’ आगलागी नियन्त्रणका लागि प्रभावकारी प्रयास नभएको संरक्षणकर्मीले बताएका छन् । कतिपय ठाउँमा सामुदायिक वनमा लागेको आगो स्थानीय उपभोक्ताले निभाउने प्रयास गरे पनि राष्ट्रिय वनमा लागेको आगो निभाउने प्रयास कतैबाट भएको छैन । साधनस्रोत र जनशक्तिको अभावले वनमा लागेको आगो निभाउन समस्या भएको वन कर्मचारीले बताएका छन् ।

अग्नि नियन्त्रण गर्ने तालिमप्राप्त जनशक्ति नभएको डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत डबल बोहराले बताए । आवश्यक स्रोतसाधनहरू पनि पर्याप्त नरहेको उनले बताए । ‘हामीसँग ट्रेन्ड जनशक्ति छैन ।’ उनले भने, ‘स्थानीय उपभोक्ता, सुरक्षाकर्मीको सहयोगमा आगो निभाउने प्रयास गरिरहेका छौँ ।’ डिभिजन वनसँग दमकल र पानी बोक्ने ट्र्याक्टर नरहेको उनले बताए । सोमबार मात्र जिल्लाभर विभिन्न वन क्षेत्रमा एक दर्जनभन्दा बढी ठाउँमा आगलागी भइरहेको डिभिजन वनले जनाएको छ । वन कार्यालयका अनुसार दुई दिनअघि तीन दर्जनभन्दा बढी ठाउँमा आगलागी भइरहेको थियो ।

मानवीय त्रुटि र गलत बुझाइले आगलागी
डिभिजन वन प्रमुख कँडेलले मानवीय त्रुटि र गलत बुझाइका कारण आगलागी हुने गरेको बताए । ‘नजानेर, नबुझेर वनमा आगो लगाउने चलन छ । आगलागीपछि घाँस पलाउँछ र गाईभैँसी चराउन सजिलो हुन्छ भन्ने गलत बुझाइ छ,’ उनले भने, ‘सिकारीले चोरी–सिकारी गर्न सहज होस् भनेर पनि आगो लगाउँछन् ।’ 
आगलागीले वन र वन्यजन्तु विनाशमा ठूलो असर गर्ने कँडेलले बताए । पानी नपर्दा भएको खडेरीले यस वर्ष आगलागी बढेको हो । पानी नपरे वैशाख–जेठमा वनमा आगलागी अझै बढ्ने देखिन्छ । एक लाखभन्दा बढी वन क्षेत्र रहेको कैलाली गर्मीयाममा देशभरमै वनक्षेत्रमा सबैभन्दा बढी आगलागी हुने जिल्लामा पर्छ ।