नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको लामो विरासत भत्काउँदै वामघटक पत्रकारले नयाँ इतिहास रचेका छन् । नेकपा (एमाले)निकट प्रेस चौतारी र माओवादी केन्द्रनिकट प्रेस संगठनको संयुक्त प्यानल विजयी भएको हो ।
स्थापना कालदेखि २५ वर्षसम्म सिन्धुशाखा नेपाली कांग्रेसनिकट प्रेस युनियनको कब्जामा थियो । नेपाल पत्रकार महासंघको २६औँ अधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनोटको चुनावी प्रक्रियामा केन्द्रदेखि सबै प्रदेश र ७६ जिल्लामा प्रेस युनियन, प्रेस संगठन, एमालेको माधव नेपाल समूहलगायत पत्रकार संगठनबीच गठबन्धन भएको थियो । तर, सिन्धुपाल्चोकमा एमालेको दुवै समूह प्रेस चौतारी र माओवादी केन्द्रको प्रेस संगठनबीच एकता गरेर चुनावी मैदानमा भाग लिएका थिए ।
चुनावी प्रतिस्पर्धाबाट प्रेस चौतारी र प्रेस संगठनको प्यानलै विजयी भएको छ । अध्यक्ष प्रेस संगठनका जीवन श्रेष्ठ, उपाध्यक्ष र सचिवमा प्रेस चौतारीका दिनेश थापा र विदुर आचार्य विजयी भए । महिला उपाध्यक्षमा संगठनकी चन्द्रकला खत्री, समावेशी सहसचिवमा संगठनका केदार माझी, खुला सहसचिवमा चौतारीका नानीराम नेपाल र कोषाध्यक्षमा चौतारीका नेत्रप्रसाद पौडेल विजयी भएका छन् ।
कार्यसमिति सदस्यमा दिनेश दुलाल, अशोक पराजुली, लालकाजी तामाङ, प्रभात श्रेष्ठ, गोमा खत्री, केशव अधिकारी, सिर्जना बराल, दीपक खत्री र देवराज सुवेदी विजयी भए । राष्ट्रिय परिषद् सदस्यमा प्रमोद न्यौपाने, ज्ञानेन्द्र तिमिल्सिना, शर्मिला ठकुरी, प्रदेश परिषद् सदस्यमा निर्मल बस्नेत, मणिसुन्दर कोइराला, टीका सुवेदी, सीताराम कोइराला, सुनिता रखाल र सन्तोष चौलागाईं विजयी भएका छन् ।