Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
शुरोजंग पाण्डे काठमाडाैं
२०७७ चैत २२ आइतबार ०६:१६:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रधानमन्त्रीका दुई सन्देश : नयाँ गठबन्धन बनाउन खोजे संसद् विघटन, समर्थन फिर्ता लिए राजीनामा

Read Time : > 5 मिनेट
२०७७ चैत २२ आइतबार ०६:१६:००

- कहिलेकाहीँ कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाइदिन्छन् । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन । त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ । 

-‘आज मागेको हो र राजीनामा, मागेको–माग्यै छन् त । मागेपिच्छे म कसरी दिन सक्छु ?’ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै ओलीले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ । राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न !

कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको निर्णय गरेको अर्को दिन प्रधानमन्त्री केपी ओलीले पुनः संसद् विघटन र आफ्नो राजीनामाको सम्भावना देखाएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार बालुवाटारबाट शुभारम्भ गर्दै ओलीले सधैँ संसद्को अंकगणितले सही निर्णय दिन नसक्ने र त्यस्तो कोसिस भए संसद् विघटन हुन सक्ने प्रधानमन्त्री ओलीको संकेत छ । यसबाहेक प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले सर्मथन फिर्ता लिए आफ्नो राजीनामा आउने पनि बताएका छन् । 

संसद्मा अनुपयुक्त ढंगले अंकगणितको खेल हुने र त्यसले अनुपयुक्त आकार लिने सम्भावना आएमा फेरि ताजा जनादेशमा जान बाध्य हुने ओलीको भनाइ छ । ‘कहिलेकाहीँ कृत्रिम ढंगले केही मान्छेले संसदीय अंकगणितलाई यताबाट उता सार्दिन्छन्, मिलाइदिन्छन् । संसदीय गणितले सधैँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्छ भन्न सकिँदैन,’ ओलीले भने, ‘त्यस्तो भयो भने देश, जनता र विकासको आवश्यकताको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ ।’ 

संसद्मा देश, जनता र विकासको आवश्यकताबारे बहस हुनुपर्नेमा त्यसविपरीतका खेल भए ताजा जनादेशमा जानुबाहेकको विकल्प नहुने उनको तर्क छ । ‘देश, जनता, विकासको आवश्यकताअनुसारको अंकगणित जनप्रतिनिधि संस्थाहरू, खासगरी संसद्लाई बनाउनुपर्छ । यदि त्यो भएन र आवश्यकताभन्दा विपरीतको अंकगणित, विभिन्न व्यक्तिको स्वार्थको खेलबाट अगाडि गए ताजा जनादेशमा जानुपर्छ,’ ओलीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए पदबाट राजीनामा दिने पनि बताएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनको पहल थाल्ने निर्णय लिएको अर्को दिन ओलीको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीले समर्थन फिर्ता नलिने, तर निरन्तर राजीनामा माग्ने बेठीक भएको भन्दै राजीनामाका लागि समर्थन फिर्ता सर्तका रूपमा अगाडि सारे ।

‘आज मागेको हो र राजीनामा, मागेको–माग्यै छन् त । मागेपिच्छे म कसरी दिन सक्छु ?’ निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शनिबार शुभारम्भ गर्दै ओलीले भने, ‘एउटाले माग्दैन, दुइटाले माग्दैन, एक दिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ ।’

समर्थन फिर्ता लिइदेऊ भन्दा पनि नलिने, तर राजीनामा भने मागिरहने कुरा बेठीक भएको उनको तर्क थियो । ‘राजीनामा त आइहाल्छ नि, समर्थन फिर्ता गर न !’ ओलीको भनाइ थियो । 

पूर्ववत् पार्टी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि पनि सरकारमाथिको समर्थन कायमै राखेको माओवादी केन्द्रले त्यसबारे ठोस निर्णय लिन आइतबार स्थायी समिति बैठक डाकेको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीले अर्थपूर्ण भनाइ सार्वजनिक गरेका हुन् ।

वडासम्मै कमिटी बनाउने खनाल–नेपाल समूहको घोषणा

डेढ–दुई महिना संगठन निर्माणमा परिचालित हुने गरी अभियान चलाउन लागेका हौँ : रघुजी पन्त

केपी ओलीले निर्वाचित कमिटीहरूलाई अस्वीकार गर्दै मनलाग्दी आफ्ना कमिटीहरू बनाएर कार्यकर्ताबाट निर्वाचित साथीहरूमाथि एक प्रकारको कारबाही नै गर्नुभो । त्यसैले हामीले निर्वाचित कमिटीलाई नै वैधता दिने र निष्क्रिय कमिटीहरूलाई वडा तहसम्म पुनव्र्यवस्थित गर्न कमसेकम डेढ–दुई महिना संगठन निर्माणमा परिचालित हुने गरी अभियान चलाउन लागेका हौँ । 

एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहले देशभरका सबै वडातहसम्म कमिटी बनाउने अभियान घोषणा गरेको छ । स्थायी कमिटीको शनिबार बसेको अनौपचारिक बैठकले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र हुँदै वडा र टोलसम्म पार्टी र जनसंगठन दुवैमा कमिटी बनाउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

आइतबार बस्ने औपचारिक बैठकबाट त्यससम्बन्धी ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ सार्वजनिक गर्ने खनाल–नेपाल समूहको तयारी छ । सर्वोच्च अदालतले पार्टी एकताअघिकै अवस्थामा पार्टीलाई फर्काए पनि प्रधानमन्त्री केपी ओली समूहले पार्टी र जनसंगठनका पूर्ववत् कमिटी ब्युँताएर क्रियाशील बनाउन अस्वीकार गरेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले तीनमहिने पार्टी कमिटी निर्माण अभियान चलाउन लागेको हो । 

ओलीले वरिष्ठ नेता नेपालसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि पार्टी सदस्यताबाट ६ महिना निलम्बन गर्ने कारबाही गरेपछि खनाल–नेपाल समूह आक्रामक रूपमा समानान्तर गतिविधिमा सक्रिय बन्दै गएको छ । त्यही सिलसिलामा खनाल–नेपाल समूहले अभियान सार्वजनिक गर्ने तयारी गरेको हो । 

‘केपी ओलीले निर्वाचित कमिटीहरूलाई अस्वीकार गर्दै मनलाग्दी आफ्नो कमिटीहरू बनाएर कार्यकर्ताबाट निर्वाचित साथीहरूमाथि एक प्रकारको कारबाही नै गर्नुभो,’ खनाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले नयाँ पत्रिकासँग भने, ‘त्यसैले हामीले निर्वाचित कमिटीलाई नै वैधता दिने र निष्क्रिय कमिटीहरूलाई वडा तहसम्म पुनव्र्यवस्थित गर्न कमसेकम डेढ–दुई महिना संगठन निर्माणमा परिचालित हुने गरी अभियान चलाउन लागेका हौँ ।’

खनाल–नेपाल समूहले प्रदेश र जिल्लाहरूमा बेग्लै कमिटीहरू बनाउने क्रम सुरु गरेलगत्तै त्यसलाई औपचारिक रूपमै अघि बढाउने निर्णय गरेको हो । ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ १५ चैतदेखि १५ असारसम्म सञ्चालन गर्न प्रस्ताव छ । अभियानमा पार्टी एकताको महत्व, संविधानको रक्षा, राजनीतिक स्थिरताको महत्वमाथि प्रकाश पार्ने, छिन्नभिन्न पार्टी र जनसंगठनका कमिटी व्यवस्थित गर्नेलगायतका विषय प्रस्ताव गरिएको छ ।

त्यस्तै, सरकारका कामकारबाहीबारे जनतालाई प्रस्ट्याउने, पार्टी विधि, विधान, स्थापित मान्यतामाथि प्रहार गर्दै विभाजनको प्रयास असफल पार्न सजग पार्ने, बालुवाटारमा ओली समूहले २८ फागुनमा गरेको निर्णय विभाजनकारी भएकोबारे प्रस्ट्याउने, ओलीको एकताविरोधी, एकलौटी कामको प्रतिवाद गर्नेलगायत विषय पनि अभियानमा समेटिएको छ । त्यस्तै, अभियानलाई व्यवस्थित गर्न यथाशीघ्र केन्द्रीय कार्यालय सञ्चालन गर्ने, त्यसका लागि कार्यालय टिम बनाउने, नियमित रूपमा पार्टीको मुखपत्र र बुलेटिन सञ्चालनमा ल्याएर प्रचार कामलाई व्यवस्थित गर्नेलगायत विषय पनि खनाल–नेपाल समूहले अभियानमा समेटेको छ । 

एमाले विवादमा राष्ट्रपति भण्डारीको चासो : खनालको घरमै पुगेर पार्टी एकताबद्ध बनाउने भूमिका खेल्न आग्रह

अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेको वेलामा राष्ट्रपति आउनुभएको हो । मैले पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन, त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने सोचिरहेको छु भनेँ । राष्ट्रपतिज्यूले पनि लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ, सबै पार्टीहरू बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र एमाले पनि बलियो होस् भन्ने नै मेरो चाहना छ भन्नुभयो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले विवादमा चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाललाई आग्रह गरेकी छिन् । खनालनिवास डल्लुमा पुगेर राष्ट्रपति भण्डारीले शनिबार उनीसँग भेटर्वार्ता गर्दै एमाले विवादमा चासो व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीको यो ‘मुभ’ले एमाले विवाद निकै गम्भीर मोडमा पुगेको संकेत गरेको छ । 

सत्तारुढ दल एमालेभित्र खनाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर समानान्तर गतिविधि चलाइरहेका वेला राष्ट्रपति भण्डारीको भेटर्वार्तालाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । स्रोतका अनुसार भेटमा राष्ट्रपति भण्डारीले पार्टीभित्र बढ्दै गएको गुटबन्दीप्रति चासो राख्दै पार्टीलाई एकताबद्ध बनाउने काममा भूमिका खेल्न वरिष्ठ नेता खनाललाई आग्रह गरेकी थिइन् । खनालले पनि राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भएको जानकारी दिए ।

‘हामीले केहीबेर कुराकानी ग¥यौँ । अहिलेको वर्तमान स्थितिबारे पनि अलिकति कुराकानी भयो । उहाँले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस्, लोकतन्त्र राम्रो भएर जाओस्, सुदृढ भएर जाओस्, राष्ट्रपतिको हैसियतले मेरो यही चाहना छ भन्ने विचार व्यक्त गर्नुभयो,’ भेटपछि खनालले सञ्चारकर्मीहरूसँग भने । जवाफमा खनालले आफू पनि पार्टी र लोकतन्त्रलाई बलियो बनाउने काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘अहिले पार्टीमा कतिपय समस्या उत्पन्न भइरहेका वेला यहाँ आउनुभएको छ । सबै पार्टी बलिया भए, सुदृढ भए, एकताबद्ध भए भने मात्रै लोकतन्त्र बलियो हुन्छ । लोकतन्त्र बलियो हुनु भनेको हाम्रो बहुदलीय व्यवस्था अथवा लोकतान्त्रिक गणतन्त्र बलियो हुनु हो, पार्टीहरू बलियो हुने कुरा हो । पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन । त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु,’ राष्ट्रपतिसँगको कुराकानीबारे खनालले भने, ‘राष्ट्रपतिज्यूले पनि तपाईंले भनेजस्तो लोकतन्त्र बलियो बनाउन पार्टीहरू नै बलियो हुनुपर्छ । सबै पार्टी बलिया हुन्, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस् र नेकपा पनि बलियो होस् भन्ने नै मेरो चाहना रहेको हो । तपाईंहरू अहिले पनि सकेसम्म मिलेर जानुहोस् भन्ने सुझाब दिनुभयो ।’

राष्ट्रपति कार्यालय स्रोतले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति भण्डारी उनको निवास डल्लु पुगेको जानकारी दिएको छ । केही समययता खनाल मिर्गौला रोगबाट पीडित छन् ।

राजनीतिले कोल्टे फेरेको छ, सम्भवतः छिटै नयाँ सरकार बन्छ

कपिलवस्तु/माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिले कोल्टे फेरेको र सम्भवतः छिटै नयाँ सरकार बन्ने दाबी गरेका छन् । ‘हिजो र आजसम्मको काठमाडौंको  राजनीतिक घटनाक्रम अलिकति फेरियो, खासगरी कांग्रेसले प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल गर्ने हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ,’ शनिबार कपिलवस्तुमा भएको कार्यक्रममा प्रचण्डले भने, ‘सम्भवतः छिटै नयाँ सरकार बन्नेछ । नयाँ परिस्थिति बन्नेछ ।’ शुक्रबार कांग्रेसले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वको सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरेको थियो ।