१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार ११:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चरिकोट–मुढे सडक पाँच वर्षदेखि अलपत्र 

ठेक्का तोड्ने तयारीमा सडक विभाग 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:o८:oo

निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण पाँच वर्षदेखि अलपत्र परेको दोलखाको ‘लाइफलाइन’ मानिने चरिकोट–मुढे सडक फेरि लथालिंग बनेको छ ।  अनेकौँ बहाना बनाएर वर्षाैँदेखि सडक अलपत्र पार्ने ठेकेदार कम्पनीका प्रतिनिधि महिनौँदेखि बेपत्ता भएपछि सडक विभागले उक्त ठेक्का तोड्ने तयारी गरेको छ ।  

सडक विस्तार आयोजनाका प्रमुख दीप बाराहीले पटकपटक म्याद थप गरेर काम गर्न अनुरोध गरे पनि निर्माण कम्पनीले काम सुरु नगरेपछि ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन् । उनका अनुसार गत आइतबार निर्माण कम्पनीका प्रतिनिधि सम्पर्कविहीन भएपछि ठेक्का किन नतोड्ने भन्ने आशयको सूचना प्रकाशन भइसकेको जनाउँदै आगामी एक हप्ताभित्र पनि काम सुरुवात नभए ठेक्का तोडिने जनाएका छन् । 

बजेट व्यवस्थापनका लागि प्रारम्भिक चरणको छलफल
यसअघि एक्जिम बैंक अफ इन्डियाको सहयोगमा निर्माण भइरहेको लामोसाँघु–जिरी सडक खण्डको दोस्रो प्याकेज ठेकेदारले काम अलपत्र छोडेपछि तोड्न लागिएको ठेक्का कुन बजेटले सम्पन्न गर्ने भनेर विभागले प्रारम्भिक चरणको छलफलसमेत गरिसकेको छ ।

आयोजना प्रमुख बाराहीका अनुसार उक्त खण्डको बाँकी काम पूरा गर्न झन्डै ३५ करोड बजेट आवश्यक हुने र उक्त रकम एक्जिम बैंकको भर नपरी सरकारले आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्ने गरी पहल भइरहेको छ । एक सातासम्म सो विषयमा टुंगो लाग्ने आयोजनाले जनाएको छ । 

दुई वर्षमा सक्नुपर्ने काम पाँच वर्षसम्म अलपत्र 

दुई वर्षमा सम्पन्न गर्ने गरी २०१५ जुन १४ मा सम्झौता भएको उक्त सडक पाँच वर्ष बितिसक्दा पनि निर्माण पूरा नभएपछि सडक विभागले ठेक्का तोड्नुको विकल्प नरहेको आयोजना प्रमुख बाराहीको भनाइ छ ।आयोजनाले सडक निर्माणको जिम्मा पाएको नेपाली कम्पनी शंकरमाली/सुनौला खिम्ती र भारतीय कम्पनी शकिल हैदरलाई तीनपटकसम्म म्याद थप गरेको थियो, तर थपिएको म्यादमा पनि कम्पनीले काम अघि बढाउन नसकेको जनाइएको छ । 

करसहित ९० करोड ४० लाख लागतमा सम्पन्न हुन लागेको उक्त आयोजनामा ठेकेदार कम्पनीले अहिलेसम्म ७२ प्रतिशत रकम भुक्तानी लगिसकेको छ । सडक चौडासहित स्तरोन्नती, नाली, स्टक्चर र कालोपत्रे गरिनुपर्ने सो सडकमा अहिलेसम्म डेढ किलोमिटर मात्रै कालोपत्रे गरिएको छ । कल्भर्ट र नालीको काम भने अझै सुरु नभएको आयोजनाले जनाएको छ । हालसम्म सडकको प्रगती ७४ प्रतिशत मात्रै भएको आयोजनाले जनाएको छ । 

शंकरमाली निर्माण सेवाका मुख्य प्रतिनिधि दीपक सापकोटा एक महिनादेखि आयोजनाको सम्पर्कमा छैनन् । स्रोतका अनुसार उनलाई ठेक्का साझेदारहरूले नै करोडौँको चेक बाउन्सको मुद्दा लगाएपछि उनी फरार रहेको बताइएको छ । उनले साझेदारहरूलाई खाली चेक दिएर सताउने गरेको भन्दै उनीहरूले सापकोटाविरुद्ध चेक बाउन्सको मुद्दा लगाउनुपरेको बताएका छन् ।
   

ad
ad