१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
एजेन्सी वासिङ्टन
२o८१ जेठ १ मंगलबार o९:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

सीमा बन्द रहँदा गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न आग्रह

Read Time : > 2 मिनेट
एजेन्सी वासिङ्टन
नयाँ पत्रिका वासिङ्टन
२o८१ जेठ १ मंगलबार o९:४१:oo

अमेरिकाले छिमेकी देश मेक्सिकोसँग सिमाना बन्द गरेको छ । अवैधानिक रूपमा हजारौँ मानिस मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गरिरहेका कारण सिमाना बन्द गर्नुपरेको अमेरिकाको दक्षिणी सीमा मामिलासम्बन्धी संयोजक रोबर्टा ज्याकोब्सनले जानकारी दिएका छन् । ज्याकोब्सनले अमेरिका प्रवेश गर्न चाहिरहेका आप्रवासीलाई अमेरिका–मेक्सिकोको सीमामा नआउन आग्रह गरेका छन् । 

फेब्रुअरीमा मात्रै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने लगभग एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गरिएको थियो, ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट वार्षिक हजारौँ संख्यामा विनाभिसा अमेरिका छिर्ने गरेका छन् ।

पछिल्लो समय अमेरिका प्रवेश गर्न चाहे पनि साथमा प्रवेशाज्ञा अनुमति कागजात नभएका व्यक्ति मेक्सिको हुँदै अमेरिका छिरिरहेको उनले बताए । मेक्सिकोमा अवस्थित अमेरिकी दूतावासबाट अडियो–भिडियोबाट ज्याकोब्सनले ‘सीमामा नआउनु र सीमा बन्द’ रहेको जानकारी दिएका हुन् । ज्याकोब्सनले अवैधानिक ढंगबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्ति आपराधिक तत्व र मानव तस्करबाट पीडित हुने जोखिम पनि जनाएका छन् । 

राष्ट्रिय सुरक्षा परिषद्मा दक्षिण अमेरिकी प्रमुख हुवाँ गोन्जालेज र ज्याकोब्सनले मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डसँग मेक्सिको सिटीमा वार्ता गरेपछि अमेरिका–मेक्सिकोबीचको सिमाना बन्द भएको अडियो सार्वजनिक भएको हो । आर्थिक संकट, अपराध र पर्यावरणीय विपद्बाट जीवन कष्टप्रद भएको जनाउँदै ज्याकोब्सनले मध्यअमेरिकी मुलुकबाट ठूलो संख्यामा व्यक्ति अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेको बताएका छन् । 

बालबच्चासहित ठूलो संख्यामा मानिस कैयौँ दिनदेखि हिँडेरै अमेरिकी सीमामा पुग्न लागेको आप्रवासीका क्षेत्रमा क्रियाशील संस्थाले जनाएको छ । ज्याकोब्सनले मेक्सिकोको उत्तरी सीमा क्षेत्रमा यात्रा निकै कठिनाइपूर्ण रहेको स्पष्ट पारेका छन् । ‘मेक्सिकोको उत्तरी सीमा हुँदै अमेरिका प्रवेश गर्ने मानिस मानव तस्करीमा परिरहेका छन्, मानव तस्करले सीमापार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा त्यति नै छ,’ मानव तस्करीबाट सुरक्षित रहन सन्देश दिँदै ज्याकोब्सनले भने । 

कोरोना भाइरसको महामारी फैलिइरहेको अवस्थामा ठूलो समूहमा हिँड्दा वा शिविरमा बस्दा संक्रमण हुने खतरा बढ्ने उनको भनाइ छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा प्रशासनले उपलब्ध गराएको तथ्यांकमा गत फेब्रुअरीको एक महिनामै अमेरिका प्रवेश गर्न खोज्ने लगभग एक लाख व्यक्तिलाई सीमा क्षेत्रमा नियन्त्रण गरिएको थियो । आप्रवासीको संख्या दिनहुँ बढ्दै गएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यस्ता आप्रवासीलाई आफ्नो देश नछाड्न आग्रह गरेका छन् । 

गैरकानुनी रूपमा मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने मानिसलाई मानव तस्करले सीमा पार गराइदिने प्रलोभनमा लुटपाट र शोषण गर्न सक्ने खतरा रहेको अमेरिकाको भनाइ

राष्ट्रपति बाइडेनको आग्रहलाई बेवास्ता गर्दै ठूलो संख्यामा आप्रवासी अमेरिकी सीमा क्षेत्रमा ओइरिन थालेपछि अमेरिका र मेक्सिकोबीच वार्ता हुन थालेको छ । मेक्सिकोले अमेरिकातर्फ हिँडेका मध्यअमेरिकी आप्रवासीलाई आफ्नो सीमामै रोक्न दक्षिणी सीमा क्षेत्रमा सुरक्षा गस्ती बढाएको छ । जनवरीयता मात्र मध्यअमेरिकाबाट मेक्सिकोतर्फ हिँडेका कागजातविहीन चार हजार १८० बालबालिकालाई नियन्त्रणमा लिइएको थियो ।

ज्याकोब्सन र गोन्जालेज दुवै मेक्सिकोमा छन् । ज्याकोब्सन र गोन्जालेज आप्रवासीको समस्या व्यवस्थापन गर्ने सम्बन्धमा योजना निर्माणका लागि मेक्सिकोका अधिकारीसँग छलफलमा व्यस्त रहेको एजेन्सीहरूले जनाएका छन् । यसैबीच, बाइडेन प्रशासनले ट्रम्पले अघि सारेका आप्रवासन नीतिमा फेरबदल गर्न चाहेको छ । ट्रम्पले आफ्नो चारवर्षे कार्यकालमा आप्रवासीविरोधी भएको जनाउँदै अमेरिका प्रवेश गर्नेमाथि कडा सर्त राखेका थिए । मेक्सिकोका विदेशमन्त्री एब्रार्डले आप्रवासनको समस्या सुल्झाउन क्षेत्रीय विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । 

‘हामीले सहकार्य गरेको खण्डमा मेक्सिकोका दक्षिणी छिमेकी मुलुकको भविष्य भिन्न हुनेछ, कोही पनि व्यक्तिले गरिबी, असुरक्षा र निराशाका कारण आफ्नो देश छाड्नुपर्ने छैन,’ राष्ट्रपति बाइडेनले भने । अमेरिकामा खासगरी ग्वाटेमाला, होन्डुरस र एल साल्भाडोरबाट हरेक वर्ष हजारौँ संख्यामा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरिरहेका छन् । यी मुलुकमा व्याप्त भ्रष्टाचार, हिंसा र समुद्री आँधीले यहाँको जनजीवन अति दयनीय बनेको छ । 

आप्रवासनले मानवीय संकटको स्वरूप लिएसँगै ट्रम्प प्रशासनले सन् २०१९ मा मेक्सिकोमाथि दबाब सिर्जना गरेपछि राष्ट्रिय सेनालाई नै सीमामा सेना परिचालन गरेको थियो । आप्रवासनमाथि नियन्त्रण गर्न प्रभावकारी कदम नचाले मेक्सिकोबाट अमेरिकातर्फ हुने आयातमा करवृद्धि गर्ने चेतावनी ट्रम्पले दिएका थिए । ट्रम्पको नीति उल्ट्याउँदै बाइडेन प्रशासनले हाल कूटनीतिक विधिलाई बढी प्रयोगमा ल्याउन चाहेको छ । यसमा पनि मेक्सिकोको सहयोग अपरिहार्य हुनेछ । आप्रवासीको मुद्दालाई सम्बोधन गर्दै बाइडेन प्रशासनले चार अर्ब डलर विकास सहायता यस क्षेत्रका मुलुकलाई उपलब्ध गराउने भएको छ । 

ad
ad