मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ चैत ५ बिहीबार ०६:२७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

काउलेपानीमा बाह्रै महिना पर्यटकीय प्याकेज, काफल र ऐँसेलु प्याकेज सुरु

Read Time : > 1 मिनेट
२०७७ चैत ५ बिहीबार ०६:२७:००

कोभिड–१९ का कारण बन्द रहेको लमजुङको उत्कृष्ट काउलेपानी होमस्टेमा १२ महिने प्याकेज सञ्चालन गरिएको छ । कोभिड–१९ का कारण गत चैतदेखि एघार महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन १ फागुनदेखि पर्यटकलाई प्रवेश खुला गरिएको काउलेपानी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर गुरुङले बताए । 

पर्यटकहरूलाई आकर्षित गर्न काउलेपानीमा चैत र वैशाखमा काफल र ऐँसेलु प्याकेज, जेठ महिनामा जडीबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज सञ्चालन गरिएका छन् । त्यसैगरी, भदौ महिनामा नेवार समुदायको जात्रा प्याकेज, असोजमा रोटेपिङ प्याकेज, कात्तिकमा कटुस प्याकेज, मसिरमा दाइँ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज, माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ । काउलेपानी होमस्टे सञ्चालन भएसँगै विगतको वर्षजस्तै यस वर्ष पनि फागुन महिनामा लालीगुराँस प्याकेज सुरु भएको छ । 

वनमा लालीगुराँस लटरम्म फुलेको र पर्यटकहरूको आकर्षण लालीगुराँस भएकाले उक्त प्याकेजलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङको भनाइ छ । काउलेपानीमा नेपालभरका आन्तरिक पर्यटक आउने गरेका छन्, होमस्टे अध्ययनकर्तासमेत आउँछन् । विशेष गरी स्कुल–कलेजका विद्यार्थी धेरै आउने गरेको उनले बताए ।

सन् २०११ मा काउलेपानीमा घरवास कार्यक्रम सुरु गरिएको हो । २५ घरधुरी रहेको काउलेपानीमा १५ घरमा होमस्टे सञ्चालन भएको छ । जसमा ८४ बेड रहेको छ । समुद्री सतहबाट १६ सय मिटर उचाइमा रहेको काउलेपानीबाट बुद्ध, मनास्लु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमशृंखला देख्न सकिन्छ । शाहवंशीय राज्यको उदय भएको ऐतिहासिक लमजुङ दरबार, काउलेपानी देवीको मन्दिर, कोट, किल्ला, गढी प्रत्यक्ष रूपमा अवलोकन गर्न पनि काउलेपानी जानुपर्ने हुन्छ । काउलेपानीमा विशेष गरी गाउँमै उत्पादित अर्गानिक खानालाई जोड दिइएको छ । 

लमजुङ सदरमुकाम बेँसीसहरबाट नजिकै रहेको काउलेपानी जाने पर्यटकका लागि प्याकेजको व्यवस्था गरिएको छ । लमजुङको सदरमुकाम बँेसीसहरबाट करिब ८ किलोमिटर कच्ची बाटो पार गर्दै पुगिने काउलेपानी पैदल यात्राबाट भने डेढ घन्टामा पुग्न सकिन्छ ।