१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ चैत ३ मंगलबार १८:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शीतलनिवासमा सर्वदलीय बैठक : समसामयिक राजनीति र राष्ट्रपतिको बंगलादेश भ्रमणबारे छलफल

Read Time : < 1 मिनेट
२०७७ चैत ३ मंगलबार १८:३७:००

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा शीतलनिवासमा बसेको सर्वदलीय बैठकमा समसामयिक विषयमा छलफल भएको छ । बैठकमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको विषयमा जानकारी दिएकी छिन् ।

बैठकबाट बाहिरिने क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रपतिले बंगलादेशको मैत्रीपूर्ण भ्रमणका सिलसिलामा भेटघाट र चियापानका लागि बैठक बोलाएको भए पनि समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको जानकारी दिए । ‘लामो बसाइ भएन, फाट्टफुट्ट राजनीतिक कुराकानी पनि भयो, तर सबै दलका नेताहरूले बोल्नु पनि भएन,’ केसीले भने, ‘समग्रमा राजनीतिक दलहरूबीच समन्वय गरेर संसदीय प्रक्रियाबाटै समाधानको बाटोमा जानुपर्छ भन्ने धारणा व्यक्त भयो ।’ 

बैठकमा एमालेका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, रामबहादुर थापा, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइराला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेमकिपाका सांसद प्रेम सुवाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए । तर, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई भने बैठकमा सहभागी भएनन् ।

राष्ट्रपति भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणका लागि आगामी सोमबार त्यसतर्फ प्रस्थान गर्दै छिन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणमा भ्रमणमा जान लागेकी राष्ट्रपति भण्डारी बंगलादेशको स्वतन्त्रताको स्वर्णजयन्ती तथा संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिवलगायत उच्चपदस्थ अधिकारीहरू रहेको मन्त्रालयले जनाएको छ ।