१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
२o८१ जेठ १३ आइतबार o६:१o:oo
Read Time : > 2 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

राजनीतिबाट मात्रै सम्भव छ देशको कायापलट : विनोद चौधरी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार o६:१o:oo

‘राजनीतिज्ञहरू धनाढ्य हुन खोजिरहेका छन्, धनाढ्यहरू भने राजनीतिज्ञ बन्ने धुनमा छन् । यस्तो किन ?,’ नयाँ पत्रिकाका सम्पादक उमेश चौहानले उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीलाई यो प्रश्न गर्दा ‘फाइनप्रिन्ट फिभर’का दर्शकले ताली पिटे । दशकौँ लामो व्यावसायिक यात्रापछि राजनीतिक यात्रा थालेका चौधरीले उत्तर दिए, ‘यो देशमा कुनै पनि दीर्घकालीन नीतिगत परिवर्तन ल्याउनु छ भने त्यो राजनीतिबाट मात्रै सम्भव छ । विषयगत संगठनहरूबाट यो सम्भवै छैन । म यो देशका मूलभूत समस्या समाधान गर्न राजनीतिमा आएको हुँ ।’ 

यसो भन्दै गर्दा उनले आफ्नो विगत सम्झिए ,‘सरकारी विद्यालयमा पढेर पनि ठूला सपना देख्न सकेँ । मुलुककै ठूलो सम्मानजनक व्यावसायिक घराना बनाउने सपना देखेँ । कालान्तरमा त्यो सम्भव पनि भयो । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ नेतृत्व पनि गरेँ । तर, त्यत्तिले मात्रै नीतिगत परिवर्तन ल्याउन सकिएन ।’ 

आफैँले बनाएको ‘सिजी उन्नति कल्चरल भिलेज’को प्रांगणमा आयोजित घुम्ती साहित्य महोत्सवको ‘अर्थनीति र राजनीति’ सत्रमा चौधरी सम्पादक चौहानसँग संवादमा थिए । त्यसक्रममा उनले बारम्बार व्यवस्थित स्रोत परिचालनमा जोड दिए । मुलुक स्रोत–साधनमा सम्पन्न भए पनि तिनको व्यवस्थापन नहुँदा अहिलेसम्म गरिब नै रहेको उनको भनाइ थियो । 

‘तपाईं विदेशमा लगानी गर्न जुन विमानमा गइरहनुभएको हुन्छ, त्यही विमानमा अरबमा काम गर्न जाने नेपाली पनि उत्तिकै हुन्छन् । कस्तो विरोधाभास है ?’ चौहानको यो प्रश्नमा चौधरी केहीबेर घोत्लिएर भने, ‘नेस्ले कम्पनीले नेपालमा उत्पादन गर्न हुने अनि मैले विश्वभर वाइवाई पुर्‍याउन नहुने ? नेपालमा ठूलाठूला व्यवसायले शाखा खोल्न हुने अनि मैले दुबईको ताजमा नेपाली झन्डा फहराउन नहुने ?’ 

मुलुककै ठूलो सम्मानजनक व्यावसायिक घराना बनाउने सपना देखेँ । कालान्तरमा त्यो सम्भव पनि भयो । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ नेतृत्व पनि गरेँ । तर, त्यत्तिले मात्रै नीतिगत परिवर्तन ल्याउन सकिएन ।’

पढेलेखेका युवा पनि देशबाहिर उत्तिकै गएको चौधरीले स्मरण गरे । ‘म उनीहरूलाई देश फर्क भन्दिनँ । सबैभन्दा पहिले आफ्नो क्षमता बढाउनुस्, विश्व बजारमा प्रतिस्पर्धी भएर निस्किनुस् भन्छु,’ उनले भने, ‘नेपालबाहिर हुर्किंदै गरेको सीप र पुँजीले अब देश बनाउने हो ।’

सम्पादक चौहानले ‘वाइवाई’लाई सेयर बजारमा सूचीकृत गर्ने योजनाबारे सोध्दा चौधरीले त्यो दिन टाढा नरहेको बताए । ‘चौधरी ग्रुपअन्तर्गतका थुप्रै कम्पनी जनतामा गएका छन् र तिनले कहिल्यै घाटा पुर्‍याएका छैनन् । कुनै नेपालीको लगानी डुबेको छैन । वाइवाई पनि कुनै दिन जनतामा जान्छ ।’ 

आर्थिक विकास र राजनीतिको सम्बन्धबारे सोधिएको प्रश्नमा चौधरीले नेतृत्वमा दूरदृष्टि अभाव रहेको औँल्याए । ‘मैले आत्मविश्वासी उद्यमी, उपभोक्ता, कर्पोरेट हाउस तथा क्षेत्रगत संगठनका दृष्टिले धेरैथोक देखेँ । देश बनाउन गाह्रो छैन । नेपालको मूल समस्या भनेको स्रोत खर्चिन नसक्नु हो,’ उनले भने, ‘विकास बजेट १५ प्रतिशत पनि खर्च गर्न नसक्ने नेतृत्वबाट ठूलो समृद्धिको सपना देख्न सकिँदैन । केही सजिला नीतिगत परिवर्तन गर्ने हो भने मात्रै पनि मुलुकको कायापलट हुन सक्छ ।’ 

‘तपाईंको नजरमा पैसा के हो ?’ सम्पादक चौहानको यो प्रश्नमा चौधरीले पैसालाई आफूले कहिल्यै बढी महत्व नदिएको बताए । ‘मेरा लागि पैसा साध्य होइन, साधन हो । उद्देश्य भयो भने स्रोतहरू जुट्दै जान्छन् । पैसा संख्या मात्रै हो । यसैलाई मूल गन्तव्य बनाउने हो भने प्रगति गर्न सकिँदैन ।’ 

पुस्तक प्रकाशन संस्था फाइनप्रिन्टद्वारा आयोजित साहित्य महोत्सव शनिबारसम्म चल्नेछ । पुस्तक पढ्ने संस्कृति र पुस्तक बजारलाई विस्तार गर्ने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१२, हर्कपुरमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको पहिलो दिन नायक राजेश हमालले ‘किताब मनको साथी’ शीर्षक सत्रमा पुस्तकबारेमा आफ्ना अनुभव, पुस्तकप्रतिको आफ्नो आकर्षण एवं लगावबारे चर्चा गरेका थिए ।

लेखक अमर न्यौपानेले सेतो धरती प्रकाशन भएको एक दशक पुगेको अवसरमा उक्त पुस्तक लेख्दाका भोगाइ र अनुभव सुनाएका थिए । ‘क’ कवितासंग्रहका लेखक असीम सागर कवितासंग्रहको जानकारीसहित कविताका बारेमा भनेका थिए । कलाकार अनिल शाही र उनको ब्यान्डले सांस्कृतिक प्रस्तुति दिएको थियो । महोत्सवमा शनिबार कांग्रेस नेता गगन थापा र व्यवसायी÷लेखक जीवा लामिछानेबीच ‘देश जगत्’को कुरा हुनेछ । अभिनेत्री मनीषा कोइरालासँग स्वरूप आचार्यले ‘बाँच्ने अभिलाषा’बारे संवाद गर्नेछन् । 

ad
ad