१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
दिपेश शाही काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार ०३:३४:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

शान्तिमार्गमा विप्लव

हस्ताक्षर समारोहमै प्रधानमन्त्रीकै अगाडि विप्लवले भने, ‘हामी शान्तिप्रक्रियामा प्रतिबद्ध छौँ, तर जनता के चाहन्छन् ? एकपटक नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ ।’ यसअघि १ फागुनमा विज्ञप्ति जारी गर्दै विप्लवले जनमतसंग्रहको माग गरेका थिए ।

Read Time : > 4 मिनेट
दिपेश शाही, काठमाडौं
२०७७ फाल्गुण २२ शनिबार ०३:३४:००

प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँगको वार्तापछि मुलुक अन्तिम किस्तामा शान्तिपूर्ण युगमा प्रवेश गरेको दाबी गरेका छन् । सरकार र नेकपाबीच भएको सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा हिंसात्मक द्वन्द्व सकिएको दाबी गरे ।

‘अन्तिम किस्तामा नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल शान्तिपूर्ण देश हो र यहाँ शान्ति छ ।’

तस्बिर : संजित परियार/नयाँ पत्रिका

ओलीले अब शान्तिपूर्ण बाटोबाट विप्लवले आफ्ना विचारहरू कार्यान्वयन गर्ने अपेक्षा राख्दै नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई थुनामुक्त गर्न सुरु गरिसकेको बताए । ‘उहाँहरूको आफ्नै पार्टी नेपाल कम्युनिस्ट पार्टी छ । त्यसले शान्तिपूर्ण ढंगले गतिविधि गर्छ, संगठन गर्छ । शान्तिपूर्ण ढंगले गतिविधि गर्ने भइसकेपछि उहाँका नेता–कार्यकर्ताहरू प्रक्रिया पूरा गरेर हामी मिलाएर छाड्ने क्रम अगाडि बढाउँछौँ र छाड्छौँ,’ उनले भने, ‘मुद्दा–मामिला छन् भने तिनलाई अन्त्य गरिन्छ । धर्मेन्द्र त छुटिसक्नुभयो । छुट्ने क्रम सुरु भइसक्यो ।’

तस्बिर : संजित परियार/नयाँ पत्रिका

विप्लवको अवतरणलाई ओलीले ‘फोर्स ल्यान्डिङ’, ‘क्र्यास ल्यान्डिङ’ नभएर ‘सेफ ल्यान्डिङ’ भएको टिप्पणी गरे । उनले विप्लवले वार्तामा आएर साहसिक कदम चालेको भन्दै स्वागत, धन्यवाद तथा शुभकामना व्यक्त गरे । ‘विप्लवजीलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नुभएको छ त्यसबाट एउटा ठूलो ऐतिहासिक योगदान गर्नुभएको छ,’ उनले भने, ‘यसका निम्ति उहाँलाई राज्यका तर्फबाट र पार्टीका तर्फबाट पनि हार्दिक धन्यवाद भन्न चाहन्छु ।’ 

नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमा प्रधानमन्त्री केपी ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री ओलीले नेपालले शान्ति खोजेको भन्दै नेपाली जनताले चाहेका विषयका फेहरिस्त नै प्रस्तुत गरे । ‘नेपाली जनतालाई चाहिएका कुराहरूमध्ये राष्ट्रियताको रक्षा, स्वाधीनताको रक्षा र सही प्रयोग राष्ट्रिय अखण्डताको रक्षा, राष्ट्रिय हितहरूको रक्षा, लोकतन्त्रको प्राप्ति, रक्षा र त्यसको सुदृढीकरण एवं प्रयोग हो । सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरहरूका प्राप्ति हुन्,’ उनले भने, ‘नेपाली जनताले चाहेको त्यत्तिकै महत्वपूर्ण कुरा शान्ति अर्थात् निर्भय वातावरणमा शान्तिपूर्ण ढंगले बाँच्न पाउने सबैको अधिकार हो । त्यो कुरा प्राप्त गर्ने चाहना या शान्तिपूर्ण समाजको चाहना नेपाली जनताको चाहना हो ।’ ओलीले नेपाली जनता सुशासन, भ्रष्टाचारको अन्त्य र विकासका प्रयासहरू गतिशील ढंगले अघि बढून् भन्ने चाहिरहेको बताए । उनले जनताले देखेका साझा सपना, राष्ट्रिय आकांक्षा र समृद्ध नेपाल सुखी नेपाली बनाउन शान्तिपूर्ण वातावरण र लोकतान्त्रिक प्रणाली चाहिने बताए । साथै उनले यिनै चिजहरू प्राप्त गर्ने सन्दर्भमा एउटा ऐतिहासिक काम भएको बताए ।

ओलीले शान्तिको क्षेत्रका हिसाबले संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल धेरै अगाडि आएकोसमेत ठोकुवा गरे । ‘केही समयअघिको राष्ट्रसंघको मूल्यांकनमा अमेरिका, चीन, पाकिस्तान, भारतभन्दा शान्तिको मापदण्डमा नेपाल धेरै अगाडि बढेको थियो,’ उनले भने, ‘भरे बेलुका राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला ? पहिले नै माथि पुगेको प्यारामिटर अब कहाँ पुग्ला ? यस योगदानका लागि विप्लवजीलाई धन्यवाद ।’

प्रधानमन्त्री ओलीले रातारात वार्ता भएको भन्ने हल्ला सुनेको भन्दै विप्लव र आफूबीच १० वर्ष पहिलेदेखि वार्ता भइरहेको बताए । ‘रातारात भनेको पढ्या थिएँ । वर्षौँदेखि वार्ता चलेको थियो । नगरा बजाएर वार्ता गरेनौँ । वार्ता नै गर्‍यौँ,’ उनले भने, ‘यस विश्वासको थालनी ८–१० वर्ष भयो होला । हामीले घन्टौँ नै छलफल गरेका थियौँ । मप्रति उहाँको विश्वास त्यसै समयदेखि जागेको थियो, सायद । यसका लागि सहमतिका तीवटा बुँदा नै काफी छन् ।’ ओलीले विप्लवको फरक पृष्ठभूमि भएकाले मूलधारमा अभिव्यक्तिको तरिका एकीकृत हुन केही समय लाग्ने बताए ।

हस्ताक्षर समारोहमा विप्लवको मुख्य सात सन्देश

जहाँजहाँ हाम्रा असहमति रहे दृढतापूर्वक राख्यौँ । संविधानमा व्याख्या गरिएको संसदीय व्यवस्था, पुँजीवादी व्यवस्था र बहुदलीय व्यवस्थाको व्याख्या भयो । त्यसमा हामी सहमत भएनौँ । अहिलेको सरकारसँगको मात्रै कुरा होइन । नेपालको राजनीतिक रूपान्तरणको प्रक्रियामाथि पनि छलफल र बहस भए । त्यसमा सहमत हुन सकेनौँ र आफ्नोतर्फबाट विद्रोह गर्‍यौँ । हामी अगाडि बढेकै हो ।

वार्ता र सहमतिका लागि भएको तीनबुँदेमा हामी प्रतिबद्ध छौँ । यसलाई हामी पालना गर्छौँ । कसैले पनि यसमाथि आशंका र उत्तेजनात्मक कुतर्क गर्न आवश्यक छैन । यो सहमति राज्य र नेकपाबीच मात्र होइन, यस सहमतिका पछाडि महान् आकांक्षा छन् । देशलाई सुन्दर बनाउने सपना छ । नेपाली जनताको अहिलेसम्म पूरा नभएका सबै आकांक्षा र नेपाली जनताभित्र हुर्किएको समृद्ध जीवनको चाहना लुकेको छ ।

हामी स्वतन्त्र मुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ । अब हाम्रा सहकर्मी योद्धाहरूलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौँ । तर, नेपालका जनताको चाहना पूरा भएको छैन । सहिद परिवारको विश्वासलाई, सपनालाई मर्न दिइनेछैन ।

आजै बिहान मात्रै गाउँ (नवलपरासी)मा सहिद परिवारको आमाले टीका लगाइदिनुभयो र भन्नुभयो– आजसम्म धेरैका इच्छा पूरा भए, तर सहिदको चाहना पूरा भइसकेको छैन । नेपालका जनताको चाहना पूरा भएको छैन । हामी दुःख गरिखाने नेपालीको चाहना पूरा भएको छैन । त्यसैले, तपाईंहरू त्यहाँ हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला । म विश्वास दिलाउन चाहन्छु, सहिदको सपना पूरा हुन्छ ।

हामी कुराकानी गर्ने गथ्र्यौँ, कर्णालीतिर एउटा गीत गाउने गरिन्छ– ‘यो कस्तो प्रेम भयो, जुन र घामजस्तो’ कहिल्यै भेट नहुनेजस्तो । जुन र घामको भेट हुँदैन भन्ने देउडामा गाइने गर्छ । त्यस्तै हुन थालेको मान्छेहरू अनुमान गर्थे । तर, जुन र घामको पनि भेट हुन्छ । अगाडि पनि हाम्रो नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीज्यूसँग कुरा भएको थियो । मैले राखेको थिएँ– तपाईंहरूले नेतृत्व गर्नुहोस् भनेर । 

घुमिफिरी रुम्जाटार पुर्‍याउने र रुम्जाटार पुर्याएर घोडामा चढ्नेखाले परिस्थिति नेपाली राजनीतिमा देखिन खोज्यो । यसलाई बदल्न हामी खुला हुनुपर्छ ।

शान्तिप्रति हाम्रो प्रतिबद्धता छ । त्यो लिएर म यहाँ आएको छु । बेपत्ता, घाइतेहरूको र सबै योद्धाहरूको चाहनालाई पूरा गर्नुपर्छ भन्ने सोच छ । देशमाथि अतिक्रमण भएको देखेमा विद्रोह गर्छौँ । कम्युनिस्टहरू विद्रोहका प्रतीक मात्रै होइनन्, शान्तिका दूत पनि हुन् । 

के विप्लव जनमत संग्रह चाहन्छन् ?

१. २९ माघमा विप्लव, मोहन वैद्य, आहुति, ऋषिराम कट्टेलसँगको संयुक्त रणनीतिक मोर्चाको विज्ञप्ति : ‘संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न राजनीतिक समीक्षा सभा, वैकल्पिक संयुक्त सरकार र जनगणतन्त्र÷वैज्ञानिक समाजवाद स्थापनाको राजनीतिक शृंखला हुँदै अघि बढ्नु आवश्यक छ ।’ 

२. १ फागुनमा जनयुद्ध दिवसका अवसरमा विप्लवले जारी गरेको विज्ञप्ति : ‘हाम्रो दृष्टिकोणमा असफल संसदीय व्यवस्थाबाट असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित निकास हुन सक्दैन, त्यसको अग्रगामी निकास रणनीतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ जसले सार्वभौम शक्तिसम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पुँजीवादको पैmसला गर्नेमा नेतृत्व दिन सक्नेछ ।’

३. २१ फागुनमा सरकार र नेकपाबीचको सहमतिमा हस्ताक्षर समारोहमा विप्लव : ‘नेपालमा आज पनि कसैले सुरक्षित अनुभूति गर्ने स्थिति छैन । सबै नेता, पार्टी, जनतालाई आफ्नो जीवनमाथि आफैँ हाबी भइराखेको जस्तो अनुभूति भइरहेको छैन । हरेक घटनाक्रममा तरंग छ । हामी त झुपडीभित्र बसेर आयौँ । झुपडीमा पनि त्यो छ, महलमा पनि छ । सहरमा पनि छ, गाउँमा पनि छ । हामीले जसरी प्रयोग गर्दै आएका छौँ, यो ठिकै होला । तर, एकपटक फेरि जनतालाई नयाँ फैसला गर्ने वातावरण बनाउन जरुरी छ । के चाहन्छन् जनताले ? गम्भीरतापूर्वक छलफल गर्नैपर्छ । हामी सहकार्य गर्न तयार छौँ ।’

कांग्रेसको प्रश्न, ‘हतियार बुझाउने बुँदा खोइ ?’

कांग्रेसले दुई वर्षसम्म भूमिगत रहेको विप्लव नेतृत्वको नेकपासँग सरकारले हतियार बुझाउने विषयमा सहमति नभएको प्रति प्रश्न उठाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत सरकार र विप्लव नेतृत्वको नेकपाबीच समझदारी भएको विषयलाई स्वागत गर्दै हतियार बुझाउने बुँदा नभएकोमा प्रश्न गरेका हुन् ।

शर्माले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘प्रचण्ड आउँदा खोलाले बगायो थोरै हतियार, विप्लव आउँदा पूरै ? राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोइ ? सिंगो देश चाहन्छ यो गम्भीर प्रश्नको जवाफ ।’ शर्माले नेपालमा कम्युनिस्टहरूको आन्दोलनका लागि नेपाली जनताले पटकपटक ज्यान गुमाउनुपरेको सम्झाउँदै कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली मारिने छैनन् भन्ने साझा उद्घोष गर्ने वेला भए–नभएकोबारे प्रश्न गरेका छन् ।

‘नेपालको पूरै कम्युनिस्ट आन्दोलनलाई आजको मितिमा केवल एक प्रश्न, ‘०२८ मा केपी–सिपी, ०५२ मा प्रचण्ड–बाबुराम, अहिले विप्लव–प्रकाण्ड, सबैको नाम र काम उस्तै, परिणाम उस्तै । कम्युनिस्ट दर्शनका नाममा कोही नेपाली अब मारिने छैनन् भनेर साझा उद्घोष गर्ने वेला भएन कमरेडहरू ?’ शर्माले ट्विट गरेका छन् ।