१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार ०६:५८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नागरिक आन्दोलन : माइतीघर मण्डलामा धर्ना र वसन्तपुरमा प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ फाल्गुण १८ मंगलबार ०६:५८:००

बृहत् नागरिक आन्दोलन र बालाजु बाइपास सडक विस्तार संघर्ष समितिका अभियन्ताले सोमबार माइतीघर मण्डलामा धर्ना र वसन्तपुरको जुद्धसडकअघि विरोध प्रदर्शन गरेका छन् । गत बुधबार आठजना अभियन्तालाई प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारको मुद्दा चलाइएपछि आन्दोलित बनेका उनीहरूले रिहाइको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका हुन् । प्रहरीले अभियन्ताहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

प्रहरीले ‘माथिको आदेश’ भन्दै अभियन्तालाई मुद्दा चलाएपछि आक्रोशित उनीहरूले ‘माथिको आदेश मान्दैनौँ’ ‘मातृभाषालाई सम्मान गर’, ‘अदालतको आदेश पालना गर’लगायत नारा लगाएका थिए । गत बुधबार सुमन सायमी र विरोचन श्रेष्ठलाई नेवारी भाषा बोलेकै आधारमा प्रहरीले पक्राउ गरेको थियो । ०७३ सालमै सर्वोच्च अदालतको अन्तरकालीन आदेशलाई अवज्ञा गर्दै फेरि डोजर चलाइएपछि उनीहरू सडकमा आएका हुन् । सडक विस्तारको नाममा आदिवासीलाई उठिवास गराइएकाले आफूहरू सडकमा आएको अभियन्ताहरूको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले बनाउन लागेको सूचना केन्द्रस्थल पुगेर जस्ताको बार भत्काएपछि उनीहरूलाई प्रहरीले पक्रउ गरेर मुद्दा चलाएको थियो । आफूहरूलाई आफ्नै भूमिबाट विस्थापन गरेर महानगरले सार्वजनिक शौचालय बनाउन लागेको भन्दै विरोध गर्दा उनीहरूलाई पक्राउ गरिएको थियो । अभियन्ता रवीन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘राज्यले हामी आदिवासीलाई गैरन्यायिक हिसाबमा पक्राउ गरेर मुद्दा चलाउनु कत्तिको जायज छ ? के हामी लोकतन्त्रका खातिर सडकमा यही देख्न गएका थियौँ ? शासकले यहाँका आदिवासीमाथि जुन खालको निन्दनीय कदम चालिरहेको छ, यसको मूल्य जरुर चुकाउनुपर्नेछ ।’ 

बालाजु बाइपास सडक विस्तार संघर्ष समितिका अभियन्ताहरू वर्षौंदेखि सडकमा छन् । आधा दशकभन्दा लामो समयदेखि बस्दै आएका उनीहरूका घरमा राज्यले विनासूचना सुरक्षाकर्मीको सहायतामा घर भत्काइएपछि उनीहरू आन्दोलित बनेका थिए ।  स्थानीय पीडित रोशन श्रेष्ठ भन्छन्, ‘राज्यले हाम्रो घर मात्रै भत्काएन । हाम्रो भाषा, पहिचान, सभ्यतामाथि पनि डोजर चलाइदियो । यसको हिसाब जरुर गर्नेछौँ ।’ आफूहरू अन्तिम साससम्म पनि लडिरहने र न्याय पाइछाड्ने उनको भनाइ छ ।