मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ फाल्गुण ११ मंगलबार १०:५५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसोले बन्द मनाङका विद्यालय खुल्न थाले

Read Time : > 1 मिनेट
२०७७ फाल्गुण ११ मंगलबार १०:५५:००

चिसोले बन्द भएका हिमाली जिल्ला मनाङको तल्लो भेगका विद्यालय खुलेका छन् । सदरमुकाम चामे र नासोँ गाउँपालिकामा रहेका विद्यालयले पढाइ सुरु गरेका हुन् । यस वर्ष कोरोनाका कारण पढाइ रोकिएकाले छिटो विद्यालय सञ्चालन गरिएको हो ।

चार गाउँपालिका रहेको मनाङको माथिल्लो भेगको मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने फागुन १६ पछि खुल्ने भएको छ । जाडो छल्न काठमाडौं र पोखरालगायत जिल्लाबाहिर पुगेका अधिकांश विद्यार्थी अभिभावकसँगै फर्केका छन् । विगतका वर्षमा वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न सहर झर्ने गरे पनि यस वर्ष कोरोनाका कारण परीक्षा सञ्चालन भएको छैन ।

चामेस्थित लोकप्रिय माविमा माघ ११ गतेदेखि पठनपाठन सुरु गरिएको प्रधानाध्यपक सुरेश थापाले बताए । आवासीय विद्यालयको रूपमा सञ्चालन गरिएको उक्त विद्यालयमा हाल दुई सय ९२ जना विद्यार्थी छन् । नासोँ गाउँपालिका– १ तालमा रहेको भानु मावि र नासोँ गाउँपालिका– ५ थोँचेस्थित प्रकाशज्योति माविमा पनि माघ २५ गतेबाट विद्यालय सुचारु भएका छन् ।  

मनाङको तल्लो क्षेत्रको चामे र नासोँ गाउँपालिकाका विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख नारायण रेग्मीले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ वटा विद्यालयमा भने पठनपाठन सुरु भएको छैन ।

विद्यालयमा फागुन १६ गतेबाट पठनपाठन सुरु हुने उनले बताए । शिक्षा विकास तथा समन्वय इकाइ मनाङका प्रमुख रेग्मीका अनुसार शिक्षा नियमावलीले ४५ दिन बिदा पाउने प्रावधान छ । स्थानीय बिदा पाँच दिन पाउँछन् । तर, माथिल्लो क्षेत्रमा तीन महिना र तल्लो क्षेत्रमा साढे दुई महिना विद्यालय बन्द हुने गरेको छ ।

यस वर्ष कोरोनाका कारण भने पठनपाठन नहुँदा मनाङको शैक्षिक सत्र नै प्रभावित भएको छ । मनाङमा २६ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय छन् । मनाङ जिल्लाभर चारवटा मावि, आठवटा आधारभूत र १५ वटा प्रावि छन् ।